‘बाटोमा बदाम बेच्दै छन् त्रिविका थेसिस्’

१५ पुष २०८०, आईतवार १२:३४

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम अन्तर्गत विभिन्न संकायमा अध्ययन गर्ने स्नातकोत्तर तहका विद्यार्थीले गरेका शोध एवं अनुसन्धान राज्यका नीति तथा निधि प्रवद्र्धक निकायमा हुनुपर्नेमा सडक पेटीमा बदाम बेच्न प्रयोग भइरहेका छन् । कबाडीखानामा किलोका भाउले विक्री भइरहेका छन् ।

अध्येयता एवं अनुसन्धानकर्ताहरुले त्रिवि, त्यसका व्यवस्थापकको गतिलाई लिएर चिन्ता गरेका छन् । यस्तो वेथितिले इन्स्टिच्युसन मात्र नभई व्यवस्थामाथि नै प्रश्न उठाएको उनीहरुको भनाइ छ । त्रिविको व्यवस्थापकीय शिरोभागमा स्वयं मुलुकको कार्यकारी एवं प्रधानमन्त्री रहने व्यवस्था छ । प्रधानमन्त्री नै कुलपति रहने त्रिविको अवस्था भने उदेक लाग्दो छ ।

स्नातकोत्तर अर्थात् मास्टर्सका विद्यार्थीले गरेका शोधहरु कवाडी हुँदै बदाम बेच्ने पेटीमा पुगेकोबारे त्रिवि बेखबर छ भने शिक्षा क्षेत्रका सरोकारवालाहरु कसैले मतलव गरेका छैनन् । कुनै समय भ्रष्टाचार एवं नैतिक पतन हुने कार्यमा पार्टीका नेतालाई कारबाही हुँदा टायर बालेर सडक तताउन पछि नपर्ने विद्यार्थी संगठनहरु बेपत्ता छन् ।

विद्यार्थीले महिनौँ लगाएर बनाएका शोध, थेसिस कवाडीले १५ रुपैयाँ किलोमा किनेर बदाम, चना, चटपटे बेच्नेहरुलाई किलोको ५० रुपैयाँ दरले बेच्छन् । वौद्धिक सम्पत्ति यसरी कवाडीको भाउमा विक्री भइरहँदा यसबारे कोही बोल्न आवश्यक ठान्दैनन् ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बजारमा देखिएका शोेध, थेसिस अर्थात् अनुसन्धानपत्र वित्रिमा बुझाइएको भन्दाबाहेकका भएको बताए । उनले भने, ‘हामीकहाँ विद्यार्थीले बुझाएका शोध एवं अनुसन्धानपत्रको एक कपि सुरक्षित राख्ने गरिन्छ । एक कपि विद्यार्थीसँग हुन्छ ।’ जोशीले बजारमा देखिएका अनुसन्धानपत्रहरु किनबेच गर्ने गिरोहले बनाएकाहरु हुनसक्ने बताए ।

उनका अनुसार पहिले पहिले त्रिविले स्वीकृत गरेका अनुसन्धानपत्र राष्ट्रिय योजना आयोगले लिने गर्दथ्यो । बीचमा विषयगत आयोगहरुले पनि मागेका थिए । जोशीले भने, ‘कति शोधपत्रहरु भाषा आयोगले पनि लिएको छ । राष्ट्रिय योजना आयोगले पहिले पहिले अध्ययनका लागि शोधपत्रहरु लिने गरेको थियो । अहिले लिन छोडेको छ ।’

अहिले महालेखासहित १३ संवैधानिक नियकाहरु छन् । त्यसमध्ये कति जातीय र विषयगत आयोगहरु छन् । उनीहरुले यी शोधहरु लिएर अध्ययन गर्नसक्ने जोशीले बताए । ती आयोगका सातै प्रदेशमा संरचना बन्ने क्रममा छन्, उनले अगाडि भने, ‘चाह राख्ने हो भने भौतिक, सामाजिक, आर्थिक र सांस्कृतिक विकासका लागि मुलुकका हरेक निकायलाई ती शोधपत्रहरु निकै सहयोगी हुनसक्छन् ।’

परीक्षा नियन्त्रक जोशीले यसो भनिरहँदा कवाडीखाना हुँदै बदाम बेच्न आइपुगेका थेसिसहरु भने बरोजगारहरुको ‘बालकुमारी अधैर्यता’लाई प्रदर्शित गरिरहेका छन् । -फोटो : सञ्चारकर्मी कृति भट्टराईको फेसबुकबाट 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*