स्वास्थ्य बीमा बोर्डले अब उपचारमा लाग्ने १० प्रतिशत रकम बिमीत बिरामीलाई नै तिराउने, माघदेखि लागू

१५ पुष २०८०, आईतवार २०:३३

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले अब उपचारमा लाग्ने १० प्रतिशत रकम बिमीत बिरामीलाई नै तिराउने भएको छ । बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा सहभुक्तानी प्रणाली लागु गर्ने कार्यविधि, २०८० ल्याएसँगै बीमाबाट अब स्वास्थ्य सेवा उपभोग गर्दा लाग्ने खर्चको १० प्रतिशत रकम बिमित बिरामीले नै तिर्नुपर्ने बोर्डका सूचना अधिकारी ओमकुमारी कँडेलले जानकारी दिइन् ।

यसअघि स्वास्थ्य बीमामा आबद्ध भएकाले कुनै रकम तिर्नु पर्दैनथ्यो । बिमितलाई एक लाख रुपैयाँ बराबरको उपचार खर्च बोर्डले बेहोर्ने गर्दथ्यो । सूचना अधिकारी कँडेलले अनावश्यक स्वास्थ्य परीक्षणलाई कम गराउन सहभुक्तानी प्रणाली लागु गरिएको बताइन् ।

‘बिमितले अनावश्यक रुपमा स्वास्थ्य परीक्षण गराउन थाले’, उनले भनिन्, ‘त्यसलाई कम गरेर आवश्यक मात्र स्वास्थ्य परीक्षण गराऊँन् भनेर बिरामीलाई १० प्रतिशत तिराउने निर्णय गरेका हौँ ।’

कँडेलका अनुसार सहभुक्तानी प्रणाली आगामी माघ १ गतेदेखि लागु हुनेछ । प्राथमिक स्वास्थ्य केन्द्र र २५ शय्यासम्मका अस्पतालमा गरिएको स्वास्थ्य उपचारमा भने बिमितले १० प्रतिशत रकम तिर्न पर्ने छैन ।

सहभुक्तानी प्रणाली सङ्घीय अस्पताल, २५ शय्याभन्दा माथिका प्रदेश र प्रादेशिक अस्पताल तथा सबै निजी एवं सामुदायिक अस्पतालमा लागु हुने बोर्डले जनाएको छ । गरिब, ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, अशक्त, एचआइभी सङ्क्रमित, जटिल क्षयरोगी, कुष्ठरोगी र महिला स्वास्थ्य स्वयंसेविकाको हकमा भने १० प्रतिशत रकम पनि तिर्नु नपर्ने कार्यविधिमा उल्लेख छ ।

बोर्डमा हालसम्म ७४ लाख बिमित भइसके पनि करिब ४७ लाख मात्र सक्रिय रहेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*