तयारी सुर्ती आयातमा १० करोड ३२ लाख कर छली

४ जेष्ठ २०८३, सोमबार १७:०१

काठमाडौं । नेपालमा पैठारी हुने तयारी सुर्तीजन्य पदार्थमा लगाउनुपर्ने स्वास्थ्य जोखिम कर नउठाई भन्सार जाँचपास गरिएको पाइएको छ । महालेखापरीक्षकको ६३औं वार्षिक प्रतिवेदनले भैरहवा र वीरगन्ज भन्सार कार्यालयबाट मात्रै १० करोड ३२ लाख ६२ हजार रुपैयाँ बराबरको स्वास्थ्य जोखिम कर तथा त्यससँग सम्बन्धित मूल्य अभिवृद्धि कर (भ्याट) असुल नगरी राजस्व छलि गरिएको उल्लेख गरेको छ ।

प्रतिवेदनअनुसार आर्थिक ऐन, २०८१ को दफा ४ ले नेपालमा पैठारी हुने तयारी सुर्तीमा प्रति किलोग्राम ६० रुपैयाँका दरले स्वास्थ्य जोखिम कर भन्सार विन्दुमै लगाई असुल गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ । भन्सार महसुल ऐन, २०८१ को अनुसूची–३ को भाग २४ अन्तर्गत उपशीर्षक २४०३ मा पर्ने निर्मित, तयारी वा कट टोबाको (तम्बाकु) लाई उक्त व्यवस्थाभित्र समेटिएको छ ।

तर कानुनी व्यवस्था हुँदाहुँदै पनि भन्सार उपशीर्षक २४०३.९९.२० र २४०३.९९.३० अन्तर्गत पर्ने खुद्रा बिक्रीका लागि तयार भएको वा नभएको निर्मित तयारी सुर्तीको आयातमा ‘कोड रुल ८०४’ प्रयोग गरी जाँचपास गर्दा स्वास्थ्य जोखिम कर असुल नगरेको महालेखाको निष्कर्ष छ । प्रतिवेदनमा उल्लेख भएअनुसार उक्त कोड रुल आर्थिक ऐन, २०८१ को दफा ४ सँग सम्बन्धित भए पनि सो दफामा कुनै प्रकारको छुटसम्बन्धी व्यवस्था छैन ।

महालेखाले अझ गम्भीर प्रश्न उठाउँदै उपशीर्षक २४०३.९९.९९ अन्तर्गत पर्ने सुर्ती इसेन्स तथा कम्पाउण्डमा समेत भैरहवालगायतका भन्सार कार्यालयले स्वास्थ्य जोखिम कर नलगाएको उल्लेख गरेको छ । राजस्व तथा करका दर र छुटसम्बन्धी व्यवस्था आर्थिक ऐन तथा प्रचलित कानुनबाट मात्रै निर्धारण हुने भए पनि सम्बन्धित कानुनमा छुटको कुनै स्पष्ट प्रावधान नरहेको अवस्थामा कर नउठाइनु कानुनविपरीत भएको प्रतिवेदनको ठहर छ ।

प्रतिवेदनअनुसार भैरहवा भन्सार कार्यालयबाट मात्रै ८ करोड ८२ लाख १२ हजार रुपैयाँ बराबरको स्वास्थ्य जोखिम कर तथा भ्याट नउठेको पाइएको छ भने वीरगन्ज भन्सार कार्यालयबाट १ करोड ५० लाख ४० हजार रुपैयाँ असुल हुन बाँकी देखिएको छ । दुवै कार्यालयबाट कुल १० करोड ३२ लाख ६२ हजार रुपैयाँ राजस्व असुल हुनुपर्ने महालेखाले औंल्याएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*