मोबाइल अफ गरेर बेपत्ता भएका इन्भेष्टमेन्ट बैंकका सिईओ पाण्डे पक्राउ

काठमाडौं । सरकारी सम्पत्ति हिनामिना गरेको आरोपमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले गएराति हेटौडा–सिन्धुली राजमार्गबाट भारततर्फ भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो । उनी गत शनिबारदेखि मोबाइल स्वीच अफ गरेर भाग्दै हिडेका थिए ।
सरकारीकरण गरिसकिएको स्मार्टसेल घोटाला प्रकरणमा मुछिएका उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले बुधबार पक्राउ गरेको हो । सिआईबीका अनुसार नेपाल सरकारको सम्पत्ति बेईमानीपूर्वक नेपाल सरकारको हक टुटाउने उद्देश्यका साथ कार्य गरी गराई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ठगी तथा आपराधिक विश्वासघातको कसुरमा सिईओ पाण्डेलाई पक्राउ गरिएको हो ।
सिईओले नेपाल इन्भेष्टमेन्ट बैंकको ऋण असुली विभागको अध्यक्षको हैसियतमा स्मार्ट सेल कम्पनीको लिलामी प्रक्रियामा सहभागी भएका ललितपुर उपमहानगरपालिका वडा नं १८ स्थायी बसोबास गर्ने ६३ बर्षिय पाण्डेलाई पक्राउ गरिएको सिआईबीले जनाएको छ । पाण्डे पक्राउ परेसँगै बैंकभित्रको कर्जा दुरुपयोगमा समेत छानविनको माग उठेको छ ।













