निर्जीवन बीमा कम्पनीहरूको मुनाफा ४७ प्रतिशतले घट्यो, तीन बाहेक सबैको नाफामा गिरावट (तथ्यांक सहित)

३० बैशाख २०८३, बुधबार १०:१२

काठमाडौं । चालू आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्म आइपुग्दा निर्जीवन बीमा कम्पनीहरूको नाफामा व्यापक दबाब देखिएको छ। अधिकांश कम्पनीहरूको नाफा उल्लेख्य रूपमा घट्दा समग्र उद्योगको नाफा नै करिब आधाले खुम्चिएको हो।

निर्जीवन बीमा कम्पनीहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समग्र निर्जीवन बीमा उद्योगको कुल नाफा १ अर्ब २७ करोड १९ लाख रुपैयाँमा सीमित भएको छ। गत वर्ष यही अवधिमा यस्तो नाफा २ अर्ब ४१ करोड ३ लाख रुपैयाँ रहेको थियो। यस आधारमा निर्जीवन बीमा क्षेत्रको कुल नाफा ४७.२३ प्रतिशतले घटेको देखिन्छ।

गत वर्ष देशभर परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोले व्यापक मात्रामा क्षति पुर्याएको थियो भने भदौ २३ र २४ गते भएको जेनजी आन्दोलमा देशैभर व्यापक मात्रामा जनधनको क्षति पुगेको थियो। उक्त क्षतिको कारण निर्जीवन बीमा कम्पनीहरूमा ठूलो मात्रामा सम्पत्तिको दाबी निवेदन परेपछि निर्जीवन बीमा कम्पनीहरूको नाफामा दबाब परेको हो।

समीक्षा अवधिमा ओरियन्टल इन्स्योरेन्स सबैभन्दा बढी नाफा कमाउने कम्पनी बनेको छ। कम्पनीले चैत मसान्तसम्म ३० करोड ६६ लाख रुपैयाँ नाफा कमाएको छ। गत वर्ष सोही अवधिमा कम्पनी १३ करोड ८३ लाख रुपैयाँ घाटामा रहेको थियो।

सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले २८ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको छ। यद्यपि कम्पनीको नाफा गत वर्षको तुलनामा २६.९७ प्रतिशतले घटेको छ। प्रभु इन्स्योरेन्सले २१ करोड १५ लाख रुपैयाँ नाफा कमाउँदा नेको इन्स्योरेन्सले १६ करोड ३९ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले १३ करोड ३२ लाख रुपैयाँ तथा हिमालयन एभरेष्ट इन्स्योरेन्सले ११ करोड ५ लाख रुपैयाँ नाफा कमाएका छन्।

त्यस्तै नेपाल इन्स्योरेन्सले १० करोड ६० लाख रुपैयाँ, शिखर इन्स्योरेन्सले ७ करोड ५ लाख रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सले ५ करोड १३ लाख रुपैयाँ तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४ करोड १ लाख रुपैयाँ नाफा कमाएका छन्। एनएलजी इन्स्योरेन्सले ३ करोड ४८ लाख रुपैयाँ नाफा कमाउँदा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफा दोब्बरले खुम्चिएर खुम्चिएर ४३ लाख रुपैयाँमा सीमित भएको छ। कम्पनीको नाफा ९९.८३ प्रतिशतले घटेको देखिन्छ।

यता युनाइटेड अजोड इन्स्योरेन्स भने ६ करोड ९७ लाख रुपैयाँ घाटामा गएको छ। गत वर्ष कम्पनी ११ करोड ६१ लाख रुपैयाँ नाफामा रहेको थियो। नेशनल इन्स्योरेन्सले पनि १७ करोड ६४ लाख रुपैयाँ घाटा व्यहोरेको छ। यद्यपि गत वर्षको ७२ करोड ८१ लाख रुपैयाँ घाटाको तुलनामा कम्पनीको घाटा भने घटेको देखिन्छ।

समीक्षा अवधिमा शिखर इन्स्योरेन्सको नाफा ८०.२३ प्रतिशतले घटेको छ भने सानिमा जीआईसीको ७८.०१ प्रतिशत, सिद्धार्थ प्रिमियरको ९१.१५ प्रतिशत, एनएलजीको ७१.७८ प्रतिशत तथा हिमालयन एभरेष्ट इन्स्योरेन्सको ६६.७३ प्रतिशतले नाफा घटेको वित्तीय विवरणले देखाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*