कृष्णबहादुर महरामाथि कारबाही प्रक्रिया अघि बढाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले भेपभित्रको सुन प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरामाथि कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्।
मन्त्री लामिछानेले आइतबार गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) प्रमुख श्याम ज्ञवालीलाई आफ्नो कार्यकक्षमा बोलाएर महरा लगायतमाथि कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन्।
सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले चैत १ गते भेपभित्रको ९ किलो सुन प्रकरणमा महरामाथि मुद्दा चलाउन सिफारिस गरेको थियो ।
मन्त्री लामिछानेले समितिले मुद्दा चलाउन सिफारिस गरेका महरा, अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारी लगायतलाई कारबाही प्रक्रिया थाल्न भनेका छन्।
लामिछानेले आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न भनेको उनको सचिवालयले जनाएको छ।
मन्त्रिपरिषद्को चैत २ गते बसेको बैठकले प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । त्यही दिनको बैठकले सीआइबी प्रमुखमा एआइजी ज्ञवालीलाई सुरुवा गरेको थियो।