प्रचण्ड नेतृत्वको सरकारद्धारा भ्रष्टाचारविरुद्ध ऐतिहासिक निर्णय, जुनसुकै कालखण्डका भ्रष्टाचार छानविन गर्ने गठबन्धनको प्रतिबद्धता

६ चैत्र २०८०, मंगलवार १८:५१

काठमाडौँ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले कुनै पनि कालखण्डका भ्रष्टाचार काण्डको छानबिन गर्ने जनाएको छ । सरकारले न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प सार्वजनिक गर्दै प्रधानमन्त्री प्रचण्डले जुनसुकै कालखण्डका भ्रष्टाचारबारे पनि छानबिन गर्ने जनाएका हुन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता नियामक निकायलाई कानुन, जनशक्ति, स्रोत र साधनसहित अधिकारसम्पन्न बनाई भ्रष्टाचार नियन्त्रण र सदाचारको प्रत्याभूति गर्ने कुरा साझा कार्यक्रममा उल्लेख गरीएको छ । भ्रष्टाचार र अख्तियारको दुरुपयोगसँग जोडिएका विषयको छानबिन र अनुसन्धान गरी कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कानुनी कारबाही अगाडि बढाउने र भ्रष्टाचारी एक दिन कानुनको कठघरामा पुग्नेछ भन्ने विश्वास नेपाली समाजमा स्थापित गर्ने जनाएको छ ।

सरकारले सार्वजनिक पदमा रहेका सबै भ्रष्ट सबै निकम्माको रूपमा व्याप्त भावनालाई बदल्ने र बेइमानी गर्नेले कानुनी रूपमा सजायँ पाउने बताए । प्रधानमन्त्री प्रचण्डले जनताको निराशा चिर्दै, भरोसा जगाउँदै लैजाने प्रतिबद्धता ब्यक्त गरे । छरितो सेवा प्रवाहसँगै सुशासनको बुँदामा नियामक निकायहरूमा जवाफदेहिता सुनिश्चित गर्ने, लाइनमा रहेका सबैको पालो आउँछ भन्ने मान्यतालाई बल पु¥याउने र दिगो प्रणाली विकास गरी जनतामा राज्यप्रतिको भरोसा जगाउने न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्पमा उल्लेख गरीएको छ ।

साझा कार्यक्रममा राष्ट्रिय परिचयपत्रलाई प्रचलनमा ल्याउने, फरक/फरक कार्यालयमा नागरिकता लगायत कागजात पटक–पटक बुझाउनुपर्ने झन्झटलाई हटाउन नागरिक एपलाई सुदृढ गरी त्यसैमार्फत सबै प्रकारको सेवा उपलब्ध गराउने र सरकारी सेवाहरू तोकिएको समयमा उपलब्ध गराउन टाइम कार्ड’ प्रणाली लागु गर्ने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*