न्याय माग्दै सहकारी पीडितहरू हप्तौंदेखि सडकमा (भिडियोसहित)

राजन कठायत
८ चैत्र २०८०, बिहीबार १४:२५

काठमाडौं । सहकारी पीडितहरु न्याय माग्दै हप्ता दिनदेखि काठमाडौंको तिनकुनेमा आन्दोलित रहेका छन् । सरकारले सहकारी पीडितसँग गरेको ७ बुदे सम्झौता कार्यन्वयन नगरेको र आफुहरुलाई सरकारबाट धोका भएको भन्दै सहकारी पीडितहरु आन्दोलनमा उत्रेका हुन् ।

सरकारले आम नागरिकको हैसियतमा न्याय दिनुपर्ने भन्दै सहकारी पीडितको समस्या सामाधानका लागि कुनै पनि राजनीतिक दलका नेताहरुले समेत चाँसो नदेखाएको सहकारी पीडितहरु बताउँछन् । आफ्ना ठाँउमा चुनाव जितेर सरकारका मन्त्री बनेका प्रतिनिधीहरुले समेत उनीहरूका पीडालाई चाँसो नदेखाएको गुनासो गरेका छन् ।

काठमाडौंमा वर्षाका कारण यत्तिबेला वातावरण अत्यन्तै चिसो छ । पीडितहरु चिसोको प्रवाह नराख्दै आफूहरुलाई सरकारले न्याय गर्छ भन्ने आशका साथ रात–दिन, घामपानी नभनीकन आन्दोलनमा सहभागी भएका छन् । उनीहरुले राम्रोसँग खान र बस्न नपाएको त सातादिन बितिसक्दा पनि सरकारी पक्षबाट न्यायका लागि कुनै पनि पहल भएको छैन् ।

संघर्षको नेतृत्व गरिरहेका सहकारी वचतकर्ता अभियान (महासंघ)का अध्यक्ष कुश लभ केसीको स्वास्थ्य अवस्था निकै कमजोर रहेको बताइएको छ । उनलाई अहिले सिनामंगलस्थित होप इन्टरनेशनल कलेज एण्ड हस्पिटलमा लगेर उपचार भैरहेको छ । पीडामा रहेका सहकारी पीडितहरुले अध्यक्ष केसीको ज्यान कुनै पनि कारण तल–माथि नहोस भन्ने चाहन्छ । केही भएमा स्वंयम सरकारले त्यसको जिम्मेवारी लिनुपर्ने बताएका छन् ।

सहकारी पीडितहरुमध्ये अधिकांशको उमेर ४० देखि ५० माथि रहेको उकुसमुकुस छ । घरमा आरामसँग सरकारबाट प्रदान गरिएका सेवा लिदै बस्ने उमेरमा उनीहरु सडकको वास बस्ने विवर भएका छन् । सरकारले सहकारी पीडितहरुलाई सक्दो चाँडो न्याय दिलाउन आवश्यक रहेको छ ।

शहर र गाँउमा खुलेका केही सहकारीमा गरिब जनताले राखेको थोरैथोरै पैसा अपचलन गरी सञ्चालकहरूले आफ्नो भकारी भरेपछि न्यायको खोजीमा पीडित बचतकर्ताहरू अहिले वर्षामा भिजेर तिनकुनेमा अनसन बसेका छन् ।

आफूले पसिना बगाएर कमाएको थोरै पैसा सहकारीका सञ्चालकहरूले अपचलन गरी फिर्ता नगरेपछि बचतकर्ताहरू ८ दिनदेखि घाम, पानी, दिन, रात नभनी तिनकुनेमा २४ सै घण्टा अनसनमा बसिरहेका छन् ।

उनीहरूले ओत लाग्न टाँगेको त्रिपालले पानी थेग्दैन । सडकमा ठूलो भल बग्छ । उनीहरूले बस्न भनेर ओछ्याएको पाल र कालो पोलिथिन फोमको चकटी बगाउँछ । तरपनि आफूले पसिना बगाएर कमाएको पैसा फिर्ता पाउने उनीहरूको विश्वास डग्मगाएको छैन ।

आफ्नो आन्दोलनको उद्देश्य मिसन ८४ नभएको र मिसन ८१ मा नै न्याय दिनुपर्ने भन्दै गृहमन्त्री रवि लामिछानेलाई व्यङ्ग्य समेत गरेका छन् ।

‘हामीले न्याय पाउन नसके २०६२÷०६३ सालको जन आन्दोलन जस्तो आन्दोलन समेत गर्ने बताएका छन् लघुवित्त पीडितहरुले सिहंदरबार घेराउ गर्ने चेतावनी दिएका थिए । सहकारी बचतकर्ता अभियानमा सहभागी पीडित वृन्दाराज राईले भने नेताहरुले संसद्मा २ शब्द बोलेर मात्र केही नहुने र आफ्नो माझमा आएर आन्दोलनलाई साथ दिएको अवस्थामा मात्र आफ्नो नेता भएको आभास हुने समेत उनले बताए ।

आन्दोलनमा बोल्दै महासंघका महासचिव तथा अधिवक्ता राजेश कुमार विष्टले सहकारीका सञ्चालकहरु पक्राउ पुर्जी जारी हुँदा पनि राजनीतिक नेतृत्वको आडमा खुल्ला रुपमा डुलिरहेको समेत बताए । साथै उनले नेपालका भ्रष्ट नेताहरुले चुनावी माहोलमा सहकारीका सञ्चालकबाट ठूलो मात्रामा मोटो रकम समेत लिने गरेका कारण पक्राउ पुर्जी जारी हुँदा पनि उनीहरुलाई पक्राउ नगरेको बताए ।

‘हजारौ सहकारी पीडितहरुको पसिनाको कमाई दलाल, पूँजीवादी र भ्रष्ट सोच भएका मानिसहरुले अपचलन गरेको छ । कुनै समय अरु नेताहरुलाई गाली गर्ने र तपाई हाम्रो आवाज बोल्ने रवि लामिछाने गृहमन्त्री हुँदा पनि पीडितहरु माथि प्रहरीले दमन गरेको छ ।’ महासचिव विष्टले बताए ।

पहाडी जिल्ला दार्चुला घर भएकी सहकारी पीडित धनमायाँ भुषालले घरमा भएका बाख्रा बिक्री गरी र विभिन्न मानिससँग ऋण लिएर आन्दोलनमा आएकी बताइन् । साझ पर्ने वित्तिकै साना नानी बाबुहरु फोनमा रुन्छन् । यस्तो अवस्थामा अब हामीले के गर्ने भन्दै दुःख व्यक्त गरिन् ।

 

 

One thought on “न्याय माग्दै सहकारी पीडितहरू हप्तौंदेखि सडकमा (भिडियोसहित)

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*