ट्राफिक प्रहरीले होली पर्वमा चेकजाँचमा कडाई गर्ने, बिहान ७ बजेदेखि परिचालन

१० चैत्र २०८०, शनिबार १३:१५

काठमाडौं। फागु पुर्णिमा (होली) पर्वलाई लक्ष्य गर्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडकमा चेकजाँच बढाएको छ। आगामी आइतबार परेको यसपटकको होलीका लागि ट्राफिकले उपत्यकाका तीनै जिल्लाको सडकमा अधिक प्रहरी खटाउने भएको छ ।

होली पर्व मनाउने क्रममा हुन सक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यका प्रवेश नाकाहरु र अन्य ९० स्थानमा बिहान ७ बजेदेखि नै चेकजाँचको व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।
ट्राफिकका ३० वटा मोबाइल भ्यान परिचालन हुनेछन्। आवश्यकताबमोजिम मोबाइल गस्ती तथा चेक प्वाइन्ट समेत राखिने छ। सुरक्षा योजना बमोजिम मुख्य सडक, चोक गल्लीमा समेत प्रहरीको बाक्लो परिचालन गर्ने योजना छ। यसका लागि ९ सयभन्दा बढी ट्राफिक प्रहरी खटिने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी जीवनकुमार श्रेष्ठले बताए ।

अनावश्यक हर्न बजाउने, होहल्ला गरि सवारी चलाउने, मोडिफाइ गरि ठूलो आवाज निकाल्ने, तीन जना चढ्ने, हेल्मेट नलगाउने, तीव्र गति र जिकज्याक गरि मोटरसाइकल कुदाउने उपर विशेष निगरानी गरिने जनाइएको छ ।

ट्राफिक नियम उल्लंघन गर्नेलाई समेत कडाइका साथ कारबाही गर्ने योजना छ।
विशेषगरि मादक पदार्थ र लागूपदार्थ सेवन गरी सवारी चलाउनेहरुलाई कडाइका साथ चेकजाँच गरिने भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*