मोटर बीमाले धानेको निर्जीवन बीमा व्यवसाय, एकतिहाइ बढी हिस्सा, अन्य कुन क्षेत्रको हिस्सा कति ?

१५ चैत्र २०८०, बिहीबार १५:४५

काठमाडौं ।निर्जीवन बीमा कम्पनीहरूको व्यवसायको सबैभन्दा धेरै हिस्सा मोटर बीमाले ओगटेको छ । निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय आधादर्जन बढी क्षेत्रमा रहे पनि मोटर बीमाको हिस्सा सबैभन्दा बढी अर्थात् एकतिहाइ हिस्सा ओगटेको छ । सवारी साधनको बढ्दो प्रयोग तथा अनिर्वाय बीमा गर्नुपर्ने सरकारको नीतिले कम्पनीहरूले बीमा व्यवसायलाई मोटर क्षेत्र केन्द्रीत बनाएका हुन् ।

चालु आर्थिक वर्षको २०८०।०८१ को फागुन महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय २६ अर्ब २६ करोड रुपैयाँ रहेको छ । कम्पनीहरुले विभिन्न प्रदेशमा गरी कुल १९ लाख ६२ हजार २४ वटा बीमालेख बिक्री गरी उक्त बीमा शूल्क आर्जन गर्न सफल भएका हुन् ।

कम्पनीहरुको बीमा व्यवसाय गत आर्थिक वर्षको सोही अवधिको तुलनामा झिनो अंकले बढेको छ । चर्को आर्थिक मन्दीका बीच पनि निर्जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आम्दानी बृद्धि हुन सफल भएको सार्वजनिक तथ्यांकले देखाएको छ ।

फागुन महिनासम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले मोटर बीमालेखबाट सबैभन्दा बढी बीमा शुल्क आम्दानी गरेका छन् । कम्पनीहरुले समग्र रुपमा कुल ११ लाख ३६ हजार ४७३ वटा मोटर बीमालेख बिक्री गरी कुल आठ अर्ब १७ करोड ८७ लाख रुपैयाँ बीमा शुल्क आम्दानी गर्न सफल भएका छन् ।

साथै, सम्पत्ति बीमालेख दोस्रो स्थानमा रहेको छ । कम्पनीहरुले तीन लाख ३५ हजार ३११ वटा सम्पत्ति बीमालेख बिक्री गरेका छन् । उक्त बीमालेख बिक्री गरी छ अर्ब ४३ करोड ६४ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् ।

तथ्यांकअनुसार इन्जिनियर तथा ठेक्का जोखा बीमालेखबाट निर्जीवन बीमा कम्पनीहरुले चार अर्ब दुई करोड १० लाख रुपैयाँ बराबरको आम्दानी गरेका छन् । यस अवधिमा कम्पनीहरुले १७ हजार १६ वटा बीमा पोलिसी बिक्री गरी उक्त रकम बराबरको आम्दानी गर्न सफल भएका छन् ।

कम्पनीहरुले विविधबाट दुई अर्ब ९८ करोड रुपैयाँको बीमा शुल्क आर्जन गरेको छ । निर्जीवन बीमा कम्पनीहरुले यस अन्तर्गत एक लाख पाँच हजार ८७९ वटा बीमालेख बिक्री गरेको छ । फागुन महिनासम्ममा हवाई बीमालेखबाट ८८ वटा बीमालेख बिक्री गरी एक अर्ब ७३ करोड पाँच लाख रुपैयाँ बीमाशुल्क आम्दानी गरेको छ ।

कृषि तथा बाली बीमालेख मार्फत एक लाख आठ हजार २३ वटा बीमालेख बिक्री गरी कुल एक अर्ब ४७ करोड ३३ लाख रुपैयाँको बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले सामुन्द्रिक बीमालेखबाट एक अर्ब ३२ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीहरुले यस बीमालेख अन्तर्गत २ लाख वटा बीमालेख बिक्री गरेको छ ।

कम्पनीहरुले सबैभन्दा कम लघुबीमा मार्फत बीमाशुल्क आर्जन गरेको छ । निर्जीवन बीमा कम्पनीहरुले लघू बीमालेख मार्फत ११ करोड ६६ लाख रुपैयाँ आम्दानी गरेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*