खराब मौसमका कारण धनगढीबाट काठमाडौं उडेको जहाज अढाई घण्टापछि भैरहवामा आपतकालीन अवतरण

१५ चैत्र २०८०, बिहीबार १४:१०

काठमाडौं । धनगढीबाट काठमाण्डौंका लागि उडेको श्री एयर लाईन्सको जहाज २ घण्टा २२ मिनेट आकाशमा उडेपछि भैरहवामा आपतकालीन अवतरण गरिएको छ । ८० सिट क्षमताको जहाजमा दुई बच्चा सहित ७७ जना यात्रु सवार थिए ।

बिहान ७ः १२बजे धनगढीबाट उडेको श्री एयरको जहाज मौसम खराव भएका कारण काठमाण्डौंमा अवतरण गर्न सकेन । आकाशमा अढाई घण्टासम्म उडेको श्री एयरको जहाज काठमाण्डौंमा अवतरण गर्न नसकेपछि फर्केर ९ः३४ भैरहवामा आपतकालीन अवतरण गरेको हो ।

श्री एयरका धनगढी ईञ्चार्ज गजेन्द्र शाहीले काठमाण्डौंको आकाश खुलेपछि धनगढीबाट जहाज उडेको बताए । तर काठमाण्डौंमा जहाज अवतरण गर्ने क्रममा मौसम बिग्रिएपछि जहाज काठमाण्डौंको आकाशमा होल्ड गरेको र अन्तिममा भैरहवामा अवतरण गरिएको शाहीले बताए ।

अढाई घण्टासम्म जहाज सम्पर्क बिहीन भएपछि जहाजमा रहेका यात्रुका आफन्तहरु आत्तिकएका थिए । ५० मिनेटमा काठमाण्डौंमा अवतरण हुनुपर्ने जहाज एक घण्टापछि पनि सम्पर्क बिहीन भएपछि त्यसपछि यात्रुका आफन्तहरुले तारन्तार श्री एयरलाईन्समा कल गरेका थिए ।

धनगढीबाट उडेको जहाजले काठमाण्डौंको आकाशमा डेढ घण्टाभन्दा फन्को लगाएको थियो । यात्रुहरुका अनुसार बिमानस्थलमा अवतरण गर्न जहाजका पांग्रा पनि खुलिसकेका थिए । कोटेश्वर नजिकबाट बिमानस्थल देखिईसकेको थियो । तर जहाज धावनमार्गमा अवतरण नगरी अचानक माथि उड्यो ।

त्यसपछि भने बिमानमा रहेका यात्रुहरुको रुवावासी चल्यो । यात्रुहरु निकै आत्तिएका थिए । यात्रुहरुले बिमान परिचारिकासंग जहाजमा खरावी आएको वा मौसम खरावका कारण अवतरण गर्न नसकिएको हो भन्ने विषयमा जानकारी लिन खोज्दा सही जवाफ नपाएको गुनासो गरेका छन् ।

जहाजमा रहेकाहरुमा बाँच्ने आशा समेत क्षीण भईसकेको थियो । तिनै मध्ये एक जना यात्रुले घरमा श्रीमतीलाई कल गरेर यो आफ्नो अन्तिम कल भएको र राम्रोसंग बस्नु भनेर भनेपछि उनको घरमा रुवावासी भएको थियो ।

उनले निरन्तर रुपमा आफ्ना साथीभाई र परिवारका सदस्यहरुलाई कल गर्ने कोसिस गरिरहेका थिए । चितवनको आकाशमा अचानक नेटवर्कले लाग्यो । र, पत्नीलाई गरेको कल रिसिभ भयो । तर उनले ३० सेकेण्ड कुरा गर्न नपाउदै नेटवर्क गयो ।

त्योबीचमा उनका परिवारका सदस्यहरुले घरबाट समेत तारन्तार उनलाई कल गरिरहेका थिए । उनीसंग सम्पर्क भने हुन सकेको थिएन ।
पुरा कुरा हुन नहुदै कल काटिएपछि फेरि कल लागेन । उनका परिवारले पनि उनलाई कल गरिरहे । उनले पनि आफ्ना परिवारका सदस्यलाई सम्पर्क गर्न कोसिस गरिरहे ।

भैरहवामा सकुशल जहाज अवतरण भएपछि मात्र उनको परिवारका सदस्यसंग कुरा हुन पायो । त्यतिबेला उनी रोईरहेका थिए ।

काठमाण्डौंबाट फिर्ता भएको जहाज धनगढीबाट उडेको झण्डै अढाई घण्टापछि भैरहवामा अवतरण भएपछि पनि जहाजमा रहेका यात्रुहरु रोईरहेका थिए । उनीहरु निकै डराएका थिए ।

मौसम सफा भएपछि आधा घण्टा भैरहवामा बिमानस्थलमा रहेको श्री एयरको जहाज सम्पूर्ण यात्रुहरु बोकेर काठमाण्डौं पुगिसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*