तीन ‘द्र’ले मागे भद्रकालीबाट रविको राजीनामा

२७ चैत्र २०८०, मंगलवार १६:५४

काठमाडौं । ४० बुँदे माग राखेर प्रदर्शनमा उत्रिएको राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले आफ्नो ४१औं मागमा उपप्रधान तथा गृहमन्त्री रविलामिछानेको राजीनामा थप गरेको छ । भद्रकाली परिसरमा प्रदर्शनकैबीच अध्यक्ष राजेन्द्र लिङदेनले आफुहरुको ४० बुँदे मागमा अर्को एउटा माग गृहमन्त्रीको राजीनामा थप भएको घोषणा गरे ।

शान्तिपूर्ण आन्दोलनमा गृह प्रशासनले दमन गरेको र आफ्नो पार्टीका कार्यकर्ता एवं समर्थकहरु घाइते भएको भन्दै उनले प्रदर्शनकै बीचबाट गृहमन्त्रीको राजीनामाको माग थप भएको बताए । जुन मागमा पार्टीका नेता प्रकाशचन्द्र लोहनी, विक्रम पाण्डे, रविन्द्र मिश्र, सांसदद्वय दिपक सिंह र ज्ञानेन्द्र शाही समेतले समर्थन जनाए ।

गृहमन्त्रीको राजीनामाको माग कार्यकर्ता तथा समर्थकहरुले समेत प्रदर्शनबाटै अनुमोदन गरेर आन्दोलनलाई निरन्तरता दिने बताएका छन् । प्रदर्शनमा प्रहरीसँगको झडपमा परी राप्रपाका १४ जना घाइते भएका छन् भने केहीलाई प्रहरीले पक्राउ गरेको छ ।

निषेधित क्षेत्र तोड्दै प्रदर्शनकारीहरु माइतीघरतर्फ अघि बढ्न खोजेपछि प्रहरीले दुई बल प्रयोग गरेर दुई पल्टको प्रयास निस्तेज पारेको थियो । त्यस क्रममा आक्रोशित प्रदर्शनकारीको भीडले प्रहरीलाई ढुंगा, पानीका बोतल तथा इटा प्रहार गरेको थियो ।

राप्रपाले गणतन्त्रको खारेजी, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने लगायतका माग राख्दै आएको छ । प्रदर्शनको नेतृत्व पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन आफैंले गरिरहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*