गाउँमै काठमाडौंको जस्तो गुणस्तरीय शिक्षा लिँदै ठोरीका बालबालिका

३० चैत्र २०८०, शुक्रबार ०८:३७

काठमाडौं । पर्सा जिल्लामै पिछडिएको गाउँपालिकाको रुपमा परिचित ठोरीका स्थानीय बालबालिका काठमाडौंकै स्तरको गुणस्तरीय शिक्षा गाउँमै लिन थालेका छन् ।

ठोरी गाउँपालिका-२ गौतम नगरमा रहेको एमईआई स्कुलले न्यून शुल्कमा काठमाडौंकै स्तरको पठनपाठन गराइरहेको हो । मुलुकको संघीय राजधानी काठमाडौंमा रहेका निजी तथा व्यवसायिक स्कुलहरुको शुल्कबारे बेलाबखत चर्चा हुने गरेको छ । तर, पिछडिएको ठोरीका बालबालिका अन्यत्रभन्दा कम शुल्कमा गाउँमै गुणस्तरीय शिक्षा पाइरहेका छन् ।

पारिवारिक वातावरणमा पठनपाठन गराइरहेको एमईआई स्कुलले इ–लर्निङ, एसीए पेपर वर्कलगायतका शिक्षण सिकाइमा जोड दिइएको र विशेषगरी अतिरिक्त क्रियाकलापहरुमा बालबालिकालाई बढी प्रेरित गरिरहेको भाइस प्रिन्सिपल हिमला राईले बताईन् ।

क्रियटिभ लेखन, पब्लिक स्पिकिङ, म्युजिक, क्राफ्ट, आट्स तथा गेम्स र स्पोट्स थपिएपछि बालबालिकाहरु थप उत्सुक भएको उनले जानकारी दिईन् । टाढाबाट स्कुल आउने बालबालिकाका लागि एमईआईले दुई वटा बस सञ्चालन गरेको छ भने अझै गाडीको सुविधा थप गर्ने तयारी गरेको छ ।

प्ले ग्रुपदेखि कक्षा ५ सम्म पठनपाठन गराइरहेको एमईआईले यो पल्टदेखि कक्षा ६ सम्मको भर्ना खोलेको भाइस प्रिन्सिपल राईले बताईन् । उनले भनिन्, ‘पारिवारिक वातावरणका कारण विद्यार्थी तथा अभिभावक दुबै रमाएका छन्, सन्तुष्ट छन् । हामीले अरिक्ति सिकाइ तथा पठनपाठनमा जोड दिएका छौँ । र, हाम्रो शिक्षण पद्दतीलाई अरुले पनि पछ्याउन थालेका छन् ।’

स्कुलका प्रिन्सिपल दार्जिलिङका हुन् भने भाइस प्रिन्सिपल काठमाडौं र कम्प्युटर टिचर पोखराका । एमईआईले स्थानीय शिक्षकलाई विशेष प्राथमिकता दिएको छ भने स्थानीय पालिका तथा वडा कार्यालयसँग समेत समन्वय गर्दै आएको छ ।
पर्साको ठोरी गाउँपालिका आर्थिक, सामाजिक, सांस्कृतिक रुपमा पिछडिएको गाउँपालिका मानिन्छ । यो गाउँपालिकालाई कतिपयले पर्साको कर्णाली भनेर पनि भन्ने गर्दछन् ।

१२८.६७ वर्ग किलोमिटरमा फैलिएको ठोरी गाउँपालिकामा २० हजार भन्दामाथि जनसंख्या छ । जहाँ ४ हजार २ सय ४७ घरधुरी छ । पुरुषको तुलनामा महिलाको संख्या बढी छ भने कुल जनसंख्याको झण्डै आधा हिस्सा बालबालिकाको छ । ती मध्ये केही बालबालिका अझै शिक्षाको पहुँच बाहिर छन् । एमईआई स्कुल सञ्चालनमा आएपछि विद्यालय बाहिर रहेका २ हजार बढी बालबालिकामध्ये झण्डै २ सय जना बालबालिका गाउँमै गुणस्तरी शिक्षा लिइरहेका छन् ।

एमईआई स्कुलले माया शैशिक्षक अभियान गैरसरकारी संस्थाका अनाथ तथा असहाय बालबालिकालाई समेत छात्रवृत्तिमा पढाइरहेको छ । सन् २०२० मा स्थापना भएको स्कुलले अनाथ, असहाय, एकल आमा वा बाबु भएका, भूकम्प प्रभावित बालबालिकालाई छात्रवृत्ति समेत प्रदान गरेको भाइस प्रिन्सिपल राईले जानकारी दिईन् ।

आफुहरुले शिक्षक तालिम र बालबालिकाको नियमित मनोरन्जन तथा शैक्षिक भ्रमणमा समेत उत्तिकै ध्यान दिइरहेको उनले बताईन् । नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला भइसकेकाले अभिभावकहरुलाई स्कुलमा सम्पर्क राख्न समेत उनले आग्रह गरिन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*