भिषण बर्षापछि दुबईमा अर्बौको क्षति, विश्वभरका पुनर्बीमा कम्पनीहरु दवावमा

५ बैशाख २०८१, बुधबार १५:००

एजेन्सीहरु । संसारकै चमत्कारिक विकास गरेको दुबई यतिबेला भिषण बाढीको चपेटामा परेको छ । सरकारले दुबईमा खतराको सूचक रातो एलर्ट जारी गरेको छ । कैयौं पसलहरु पानीले डुबेका छन् भने सडक पार्किङमा राखिएका सवारी साधन समेत पानीमा डुबेर क्षति हुन पुगेको छ ।

संयुक्त अरब इमिरेट्स (दुबई) र आसपासका देशमा मंगलबार मुसलधारे वर्षा भएको छ । हिजोदेखि प्राकृतिक रुपमा परेको भिषण बर्षासँगैका हुरीका कारण दुबईमा अर्बौ रुपैयाँको क्षति पुगेको छ । भिषण बाढीका कारण दुबईस्थित अन्तर्राष्ट्रिय विमानस्थल नै बन्द गरेर केही बेर अघि मात्रै खुलेको छ भने करोडौं मूल्य पर्ने महंगा गाडीहरु बीच सडकमा पानीमा डुबेका छन् । दुबईको छिमेकी देश ओमानमा मुसलधारे वर्षासँगै आएको बाढीका कारण १८ जना बढीकोे मृत्यु भएको छ ।

अत्याधिक बाढीका कारण सडक यातायात लगभग पूर्ण रुपमा बन्द हुन पुगेको छ । दुबई अन्तर्राष्ट्रिय विमानस्थल नै पानीमा डुबेका कारण कयौँ उडान रद्द भएका छन् । कैयौं जहाज डाईभर्ट भएर अन्य विमानस्थलमा अवतरण गरेका छन् । यसअघि सोमबार ने दुबई प्रहरीले खराब मौसमप्रति सर्तक रहन सर्वसाधारणहरूका लागि सुरक्षा एड्भाइजरी जारी गरेको थियो । युएईको मौसम विभागले दुबई, आबुधाबी सहित कयौँ ठुला सहरमा आगामी २४ घन्टनाभित्र भारी वर्ष हुने चेतावनी दिएको थियो ।

दुबईका सडकमा पाँच फिटसम्म पानी जमेका कारण कतिपय साना गाडीहरु सडकमा नदेखिने गरी नै डुब्न पुगेका छन् । उता, दुबई विमानस्थलमा समेत पानी जमेका कारण हवाई जहाजहरुमा समेत क्षति पुगेको अनुमान गरिएको छ । यद्यपि परिक्षण बाँकी नै छ । त्यस्तै, विमानस्थलको टर्मिनलमा रहेको पसल तथा कवलहरुमा समेत बाढीले बितण्डा मच्चाउन पुगेको छ ।

अर्बौ रुपैयाँ क्षति भएपनि बीमा कम्पनीहरुको टाउको दुखाईको विषय बनेको छ । दुबईका स्थानीय बीमा कम्पनी र पुनर्बीमा कम्पनीहरुका लागि यस पटकको दुबईको भिषण बर्षा निकै महंगो सावित हुने भएको छ । बाढीले क्षति पुर्याएका सवारी साधन, विमानस्थल, भवनहरु तथा अन्य पसलमा मालसमानमा पुगेको क्षतिको भार बीमा कम्पनीहरुमाथि पर्ने देखिएको छ ।

भिषण बर्षापछि दुबईका कतिपय शहरहरुमा इन्टरनेट तथा विद्युत प्रशारण समेत अबरुद्ध हुन पुगेको छ । हाल उद्धार कार्य भइरहेकोले क्षतिको पूर्ण विवरण प्राप्त भइसकेको छैन । अहिले केही बेरदेखि वर्षा कम हुँदै गएको र आज साँझसम्ममा थप सहज हुने विश्वास गरिएको छ । भिषण वर्षापछि पूर्वाधार क्षेत्रमा पुगेको क्षतिको भार पनि बीमा कम्पनीहरुमाथि पर्ने सम्भावना रहेको छ ।

केही समय पहिले कृत्रिम बर्षा गराएर विश्वलाई चकित पारेको दुबईमा यस पटक भने प्राकृतिक रुपमा नै भिषण बर्षा भएको छ । बर्षासँगै आएको बाढी र डुबान अर्को आश्चर्यको विषय बनेको छ । तातो र मरुभूमि देशको मौसममा अचानक आएको परिवर्तनले विश्वभरका वैज्ञानिकहरु छक्क परेका छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*