तीन अर्ब लागतमा रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह बन्दै

५ बैशाख २०८१, बुधबार १५:०४

काठमाडौँ । करिब तीन अर्ब लागतमा नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि बढाएको छ । रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा तटबन्ध निर्माण र जमीन पुर्ने कार्यको थालनी सुरु गरेको हो ।

ओमसतिया गाउँपालिकाका अध्यक्ष मञ्जितकुमार यादव र रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले संयुक्तरूपमा पेट्रोलियम भण्डारण गृह निर्माणको शुभारम्भ गरेका हुन् । रुपन्देहीको भलबारी डिपोको भण्डारण क्षमता कम भएको तथा बस्ती नजिक रहेकाले निगमले खरिद गरेको १३ दशमलव पाँच बिघा जग्गामा नयाँ भण्डारण गृह निर्माण गर्न लागिएको निगमले जनाएको छ ।

सो स्थानमा डिजेल भण्डारणका लागि दुई हजार एक सय किलोलिटर क्षमताका तीन, पेट्रोल भण्डारणका लागि एक हजार छ सय किलोलिटर क्षमताका दुई र मट्टितेल भण्डारणका लागि ७० किलोलिटर क्षमताका तीन वटा ट्याङ्क निर्माण गरिनेछ । परियोजनाको डिजाइन काठमाडौँ विश्वविद्यालयले गर्नेछ । आगामी मङ्सिरमा भण्डारण परियोजना निर्माणको शिलान्यास गर्ने र विसं २०८३ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*