इन्टरनेटको भुक्तानीका लागि विदेशी मुद्रा सिफारिस दिन सरकारसँग आईएसपानको आग्रह

२३ बैशाख २०८१, आईतवार १६:३६

काठमाडौँ । इन्टरनेट सेवा प्रदायकहरुले विदेशी सेवाप्रदायकलाई रकम भुक्तानीको बाटो खोलिदिन आग्रह गरेका छन् । १३ महिनादेखि विभिन्न भारतीय कम्पनीलाई नेपाली सेवाप्रदायकले सेवा वापतको शुल्क भुक्तानी गर्न नपाएका कारण बैशाख २० गते भारतीय नेटवर्क सेवा प्रदायक एयरटेलले बिनाजानकारी सेवा काट्दा नेपालका अधिकांश स्थानमा इन्टरनेट अवरुद्ध भएको इन्टरनेट सेवा प्रदायक संघ, नेपाल (आईएसपान) ले जनाएको छ ।

एउटै राज्यमा सरकारी सेवाप्रदायकले अर्बौं रुपैयाँ बक्यौता हुँदा पनि सजिलै विदेशी मुद्रा सिफारिस तथा सहजीकरण पाइरहेको तर निजी क्षेत्रका इन्टरनेट सेवाप्रदायकले नपाउनु सरकारको विभेदकारी नीति भएको उसको भनाइ छ ।

विगत १३ महीनादेखि दूरसञ्चार प्राधिकरण र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विदेशी मुद्रा सिफारिस नदिएको हुँदा एअरटेल लगायतका अपस्ट्रिम सेवा प्रदायकले आफ्नो भुक्तानी पाएका छैनन् ।

सोही कारण अन्तरराष्ट्रिय इन्टरनेट ब्याण्डविथ सेवा प्रदायकले भुक्तानी नभएमा इन्टरनेट सेवा अवरुद्ध गर्ने भनी पत्र पठाएको आईएसपानले बताएको छ । उक्त पत्रसमेत इन्टरनेट सेवा प्रदायक संघमार्फत नेपाल दूरसञ्चार प्राधिकरण र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई जानकारी गराएको थियो । लगत्तै आईएसपानले २०८१ वैशाख १३ गतेको पत्रकार सम्मेलनमार्फत सर्वसाधारणमा उक्त विषयको जानकारी समेत गराएको थियो ।

आईएसपानका अनुसार मन्त्रालय र प्राधिकरणलाई पटकपटक जानकारी गराउँदा समेत यस विषयलाई गम्भीरतापूर्वक नलिएकै कारण वैशाख २० गते अप्रत्याशित रूपमा एअरटेलले सेवाप्रदायकलाई प्रदान गर्दै आइरहेको सेवा अवरुद्ध गरेको थियो । जसका कारण नेपालको इन्टरनेट बजारको लगभग ७० प्रतिशत इन्टरनेट सेवा अवरुद्ध हुन पुगेको थियो ।

ग्राहक तथा इन्टरनेट सेवाप्रदायकलाई अकल्पनीय, अपूरणीय क्षति भएको भन्दै संघ तथा सेवा अवरुद्ध भएका इन्टरनेट सेवा प्रदायकको अथक पहलपश्चात् एअरटेलबाट कुनै लिखित प्रतिक्रिया प्राप्त नभए पनि लगभग ६ घण्टा बन्द भएको इन्टरनेट सेवा भने नियमित गरिदिएको आईएसपानले जनाएको छ ।

(Doc ver) प्रेस बिज्ञप्ति – PRelease of ISPAN मिति २०८१-०१-२२, १३३,०८०-८१

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*