बाढीले हेवा खोलाको डाइभर्सन बगायो

३ जेष्ठ २०८१, बिहीबार १६:०२

काठमाडौं । बुधबार राति परेको पानीसँगै आएको बाढीले पाँचथरको फालेलुङ ३ र ५ लाई जोड्ने लुमाङदिनको डाइभर्सनमा क्षति पुर्‍याएको छ ।

गत वर्ष असार २ गते आएको बाढीले पुल बगाएपछि स्थानीय सरकारले निर्माण गरेको डाइभर्सनमा बाढीले पुनः क्षति पुर्‍याएपछि २ वटा वडामा यातायात सम्पर्क टुटेको फालेलुङका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेले जानकारी दिए ।राति १० बजे आएको बाढीले डाइभर्सन बगाएको उनको भनाइ छ । लुमाङदिन स्थित हेवा खोलाको डाइभर्सन साविक प्राङबुङ र मेमेङ गाविस जोड्ने मोटरेबल पुल बगेपछि विकल्पमा निर्माण गरिएको थियो ।

गाउँपालिकाले स्थानीयको श्रम सहयोग लिएर त्यहाँ अस्थायी डाइभर्सन निर्माण गरेर काम चलाउँदै आएकोमा पुनःजेठ २ गते राति आएको बाढीसँगै क्षति पुगेको हो ।गत साउनदेखि सञ्चालनमा आएको उक्त डाइभर्सनको दायाँबायाँबाट बाढी पसेर खोलाको धार परिवर्तन भएको छ ।

क्षतिग्रस्त डाइभर्सन मर्मत गरेर यातायात सञ्चालन गर्ने विषयमा छलफल भइरहेको गाउँपालिकाले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*