नीतिगत र कार्यशैलीमा देखिएका समस्या समाधान हुन्छ, ढुक्क भएर ऊर्जा आयोजनामा लगानी गर्नुस्ः प्रधानमन्त्री प्रचण्ड

४ जेष्ठ २०८१, शुक्रबार १०:५२

काठमाडौँ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले ऊर्जा आयोजनामा ढुक्क भएर लगानी गर्ने ब्यवसायीहरुलाई आग्रह गरेका छन् । इप्पानको वार्षिक साधारण सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले ब्यवसायीहरूका लागि संरक्षण, समन्वय, सहजीकरण र सहायताका लागि सरकारले सम्भव सहयोग गर्ने बताउँदै ढुक्क भएर लगानी गर्ने भनेका हुन् ।

सरकार निजी क्षेत्रको प्रवद्र्धनकै लागि विभिन्न काम गर्दै आएको उनको भनाइ थियो । उनले भने, ‘नीतिगत, कानुनी, संस्थागत, संरचनागत र कार्यशैलीमा देखिएका समस्या समाधान गर्ने काममा सरकार लागेको छ, यसमा थप दृढताका साथ लाग्नेछ । भर्खरै मात्र प्रस्तुत भएको नेपाल सरकारको नीति तथा कार्यक्रममा समेत निजी क्षेत्रलाई पर्याप्त सम्बोधन गरिएको छ । अब हाम्रो ध्यान नीति तथा कार्यक्रमअनुरूपको बजेट निर्माणमा छ । यसपटकको बजेटले नीति तथा कार्यक्रमको लक्ष्य र प्राथमिकतालाई केन्द्र राख्ने कुरा पनि म जानकारी गराउन चाहन्छु ।’

नेपालको निजी क्षेत्रले जलविद्युत् उत्पादनमा व्यापारिक र व्यवसायिक रूपमा काम गर्न थालेको साढे दुई दशक पूरा भएको छ । यसबीचमा नै संगठित रूपमा इप्पान स्थापना भएर आज २२ औँ वार्षिकोत्सव मनाउन लागेकोमा खुशी लागेको प्रधानमन्त्रीको भनाइ रहेको थियो ।

‘नेपालमा ऊर्जा उत्पादन सुरू भएको ११३ वर्ष पुगेको छ । १९६८ साल जेठ ९ गते पहिलोपटक फर्पिङ जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन भएको थियो । यस अवधिमा ३२ सय मेगावाट ऊर्जा उत्पादन भएको छ, यसमध्ये निजी क्षेत्रबाट २४ सय मेगावाट ऊर्जा उत्पादन भएको छ । देशको विकास र समृद्धिको यात्रामा यो निकै ठूलो उपलब्धी हो । यसका निम्ति तपाईहरू धन्यवादका पात्र हुनुहुन्छ’ प्रधानमन्त्री प्रचण्डले भने ।

कुनै बेला दैनिक १६ घण्टाको चरम लोडसेडिङको अवस्थामा रहेको मुलुकमा अहिले वर्षायाममा विद्युत् निर्यात गर्ने अवस्थामा पुगेको छ, यसमा पनि निजी क्षेत्रको भूमिका प्रशंसनीय छ । अहिले निजी क्षेत्रले ३ हजार मेगावाट क्षमताका आयोजना निर्माण गरिरहेको र करिब २० हजार मेगावाट बराबरका आयोजना निर्माणको विभिन्न चरणमा रहेका छन्, यसले समेत निजी क्षेत्रको ऊर्जा विकासको भूमिका र महत्वलाई दर्शाएको छ’ उनले भने,- ‘हामीले छिमेकी राष्ट्र भारतसँग १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातका लागि दीर्घकालीन सम्झौता गरेका छौँ । त्यसैगरि भारतको ग्रीडलाइन हुँदै बंगलादेशसँग विद्युत् व्यापार गर्ने सम्झौतामा समेत हस्ताक्षर भएको छ । मेरो कार्यकालमा यति महत्वपूणर् सम्झौता गर्ने अवसर मिलेको छ । यो नेपालको जलविद्युत् क्षेत्रको इतिहासमा मात्र नभएर समृद्धिको यात्रा सङ्कल्प र अभियानका दृष्टिले समेत ऐतिहासिक सफलता हो, ऐतिहासिक उपलब्धी पनि हो । यसकै कारण तपाईहरूबाट आज अभिनन्दित हुने अवसर पनि पाएको छु । यसका लागि तपाईहरूप्रति धन्यवाद व्यक्त गर्दछु ।’

यो बिजुली निर्यातको दीर्घकालीन सम्झौता ऊर्जा विकासका लागि कोशेढुंगा सावित हुनेछ उनको बताए । ऊर्जा विकासका लागि ढोका खुलेको उनको भनाइ थियो । ‘छिमेकी मुलुक भारत मात्र होइन, अर्को छिमेकी मुलुक बंगलादेशले समेत नेपालको बिजुली आयात गर्ने गरी प्रक्रिया बढाइसकेको छ । नेपाल विद्युत् आयात गर्ने मुलुकबाट विद्युत् निर्यात गर्ने मुलुकमा रूपान्तरित भएको छ । यो इतिहासकै महत्वपूणर् फड्को हो’ प्रधानमन्त्रीले भने ।

छिमेकी मुलुकहरूमा बिजुली निर्यातका लागि मात्र होइन, स्वदेशभित्रै विद्युत् खपतका लागि समेत धेरै योजना र कार्यक्रम अघि बढाइरहेका छौँ । पेट्रोलियम पदार्थको आयात घटाउँदै जाने र विद्युतीय उपकरण र सवारीसाधनलाई प्रोत्साहन गरी विद्युत्को खपत बढाउँदै जाने सरकारको योजना छ । तसर्थ, देशको विकास र समृद्धिका निम्ति सबैभन्दा महत्वपूणर् र सम्भावनायुक्त क्षेत्र विद्युत् नै हो भन्ने वैचारिक स्पष्टताका साथ सरकारले काम गरिरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*