नक्कली लाइसेन्स प्रकरणको अनुसन्धान अन्तिम चरणमा, कति जना छन् प्रहरीको हिरासतमा ?

४ जेष्ठ २०८१, शुक्रबार १८:०१

काठमाडौं । नक्कली लाइसेन्स प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुर्‍याएर प्रतिवेदन बुझाउने तयारीमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लागेको छ ।१५ वैशाखबाट पक्राउ सुरु गरेको सीआईबीले अहिलेसम्म ११ जनालाई हिरासतमा राखेर अनुसन्धान सुरु गरेको छ । बिहीबार मात्रै काठमाडौंको यातायात व्यवस्था विभागमा कार्यरत कम्युटर अपरेटर दीपा न्यौपाने पक्राउ परेकी थिइन् ।

यसअघि २५ वैशाखमा सीआईबीले सूर्यकुमार चौधरी र वसन्त पाण्डेलाई पक्राउ गरेको थियो । चौधरी पूर्वकर्मचारी हुन् भने पाण्डे बिचौलिया हुन् ।प्रहरीले १५ वैशाखमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत आईटी इन्जिनियर सुरजप्रकाश अर्याल र यातायात कार्यालय बुटवलमा करार इन्जिनियरको रूपमा कार्यरत हरिश भट्टलाई पक्राउ गरेको थियो ।

अर्याल र भट्टलाई पक्राउ सुरु गरेर अनुसन्धान गरिएको थियो । पछि यातायात कार्यालय बुटवलमा कार्यरत शाखा अधिकृत नारायण पाण्डेलाई सीआईबीले नियन्त्रणमा लिएको थियो ।

अर्याल, भट्ट र पाण्डे तीन कर्मचारी पक्राउ परेपछि नक्कली लाइसेन्स लिनेहरू लाजरस सुनुवार, प्रदीप सुनार, अजित मिश्र, मिलन बाँस्तोलालाई पनि सीआईबीले पक्राउ गरेको थियो ।

अहिलेसम्म शाखा अधिकृतसहित ५ बहालवाला कर्मचारी, १ पूर्वकर्मचारी, १ बिचौलिया र ४ नक्कली लाइसेन्स लिने गरी ११ जनालाई पक्राउ गरेर अनुसन्धान गरिएको प्रवक्ता बोगटीले बताए ।

उनीहरूविरुद्ध लिखतसम्बन्धी कसुरमा सीआईबीले अनुसन्धान गरिरहेको छ । अनुसन्धान अन्तिम चरणमा पुगेकाले सम्भवतः आइतबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाउने तयारी सीआईबीको छ।

अहिले सीआईबीले गरेको नक्कली लाइसेन्स प्रकरणको अनुसन्धान एउटा केसबाट सुरु भएको हो । २०८० असारमा शशांक बस्यालले चलाएको कारले ठक्कर दिंदा स्याङ्जामा पैदलयात्री कृष्णप्रसाद भट्टराईको घटनास्थलमै मृत्यु भएको थियो । बस्याललाई पक्राउ गरेर प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

‘ए’ र ‘बी’ वर्गको ९मोटरसाइकल र कार० लाइसेन्स पेस गरेपछि बस्याल छुटेका थिए । बस्यालसँग मोटरसाइकलको मात्रै लाइसेन्स रहेको र दुर्घटना भएपछि बिचौलियामार्फत लाइसेन्स खरिद गरिएको सूचना पाएपछि सीआईबीले अनुसन्धान गरेको थियो ।

‘बी’ वर्गको लाइसेन्स भएका शिवपूजन मलाहलाई केही रकम दिएर उक्त लाइसेन्स बस्यालको नाम र ठेगानामा जारी भएको अनुसन्धानबाट खुलेको प्रवक्ता बोगटीले बताए ।

शिवपूजनको नम्बरको लाइसेन्समा वैयक्तिक विवरण भने बस्यालको राखेर यातायात कार्यालय बुटवलबाट १३ असार २०८० ‘ए’ र ‘बी’ वर्गको लाइसेन्स जारी भएको खुलेको छ ।

बस्यालका लागि ‘बी’ वर्गको लाइसेन्स बनाउने मुख्य योजनाकार आईटी इन्जिनियर हरिश भट्ट रहेको सीआईबीको दाबी छ ।

यो समूहले अन्य व्यक्तिको पनि नक्कली लाइसेन्स बनाएको सीआईबीको दाबी छ । अहिले हिरासतमा रहेकामध्ये प्रदीप सुनारको नाममा एकान्तकुनामा विगत १० वर्षदेखि वेलकम ड्राइभिङ सेन्टरसमेत सञ्चालनमा रहेको पाइएको छ । सुनारले हाल हिरासतमा रहेका यातायातका आईटी इन्जिनियर भट्टसँँग मिलेर ड्राइभिङ सेन्टर खोलेको अनुसन्धानबाट खुलेको छ ।

करार आईटी इन्जिनियरकोे रूपमा १२ वर्षदेखि यातायात कार्यालयमा कार्यरत रहेका भट्टमार्फत नै विना ट्रायल नै लाइसेन्स उपलब्ध हुने गरेको सीआईबीको दाबी छ ।

त्यसैगरी यातायात व्यवस्था विभागका उपसचिव तथा आईटी विभागका प्रमुख मुकेश रेग्मी नेतृत्वको छानबिन समितिको प्रतिवेदनमाथि भने अर्को चरणमा अनुसन्धान गरिने सीआईबीले जनाएको छ ।

अहिले पक्राउ परेकाहरूको मुद्दा बुझाउने समय आइसकेकाले समय अपुग हुने हुँदा रेग्मी नेतृत्वको प्रतिवेदनमा छुट्टै अनुसन्धान हुने प्रवक्ता बोगटीको भनाइ छ ।

प्रदेशहरूमा ट्रायल परीक्षा सञ्चालन नगर्ने, ट्रायलको मिति अगाडि–पछाडि गरिदिने र ट्रायल नै नदिइ लाइसेन्स दिनेसम्मको काममा विभागको कमजोरी रेग्मी प्रतिवेदनले औंल्याएको थियो ।

गत वर्षको साउनमा उद्धवप्रसाद रिजाल महानिर्देशक बनेपछि यातायात व्यवस्था विभागले नक्कली लाइसेन्स प्रकरणबारे छानबिन समिति नै बनाएर काम गरेको थियो । विभागका उपसचिव रेग्मी नेतृत्वको समितिले १ लाखभन्दा बढी लाइसेन्स प्रक्रिया नै पूरा नगरी जारी भएको तथ्य पत्ता लगाएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*