सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने

४ जेष्ठ २०८१, शुक्रबार १८:२५

काठमाडौँ । सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका लागि फिनल्यान्ड सरकारबाट प्राप्त हुने १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । त्यसैगरी, सरकारले फौजदारी कसुर (कैद कट्टा) (तेस्रो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने, सङ्घीय संसद्को प्रतिनिधिसभामा विचाराधीन राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिन स्वीकृति दिनेसमेत निर्णय गरेको छ ।

मन्त्री शर्माले सिङ्गापुरमा कार्यक्षेत्र रहने गरी हेलेन क्याम्पोस, इजरायलको रेहबोट सहरमा कार्यक्षेत्र रहने गरी नडभ बेन यहुदा, संयुक्त राज्य अमेरिकाको मासाचुसेट्स राज्यमा कार्यक्षेत्र रहने गरी प्रह्लादबहादुर केसी र रुसी महासङ्घको सेन्ट पिटर्सवर्ग सहरमा कार्यक्षेत्र रहने गरी वाईभी गोसेभलाई अवैतनिक वाणिज्यदूत पदमा नियुक्त गर्ने निर्णय गरिएको जानकारी दिइन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*