काठमाडौं हेटौडा आउँदै गरेको कार ठिंगनस्थित सडकबाट खोँचमा खस्यो, दुई जनाको मृत्यु

५ जेष्ठ २०८१, शनिबार १०:०२

काठमाडौं । राजधानी काठमाडौंबाट कान्तिलोकपथ हुँदै हेटौडातर्फ जादै गरेको एउटा कार ठिंगन नजिकै सडकबाट खसेर दुर्घटनाग्रस्त हुँदा सो कारमा सवार दुई जनाको निधन भएको छ भने एक जनाको अवस्था गम्भिर छ । अन्तर्राष्ट्रिय विमानस्थलमा आफन्तलाई पुर्याएर रौतहट फर्कदै गरेको एउटा कार कान्तिराजमार्ग अन्तर्गतको बकैया १२ ठिंगनबाट खोँचमा खसेको हो ।

आज विहान अन्दाजी ८ बजेतिर कान्तिराजमार्ग अन्तर्गतको ठिंगन नजिकैको पहिरोबाट ग ३ च ९४७५ नम्बरको कार सडकबाट ५०० मिटर तल खसेर दुर्घटनाग्रस्त हुन पुगेको स्थानीयबासीले जनाएका छन् ।

दुर्घटनामा भिमफेदी गाउँपालिका गंगटेका प्रेम बहादुर भुलुन र अर्का एक बालकको निधन भएको छ । घटनामा कार चालक गम्भिर घाइते छन् । उनको ठिंगनस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

स्थानीयबासीले कार निकै तल पुगेको र माथिबाट राम्रोसँग देख्न समेत नसकिने अवस्थामा रहेको जनाएका छन् । घटनामा निधन भएका प्रेम भुलुन स्थानीयबासी हुन् । उनी केहीबेर अघि मात्रै खुवा बिक्री गर्न हेटौडातर्फ जाँदै गरेको सो कारमा लिफ्ट मागेर ठिंगनतर्फ जाँदै थिए ।

घाइते अवस्थामा रहेका चालकले आफू काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा भान्जीलाई पुर्याएर फर्कदै गरेको अवस्थामा दुर्घटनामा परेको बयान दिएका छन् । उनले रौतहट फर्कन लागेको बताएको स्थानीय भरत घिमिरेले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*