स्मार्टफोनको आयात आँकडा बढ्दा उठ्यो साढे चार अर्ब राजस्व, ८२ करोडको ल्यापटप आउँदा स्मार्टवाच कति ?

८ जेष्ठ २०८१, मंगलवार १५:४३

काठमाडौँ । नेपालमा आयात हुने स्मार्टफोनको आँकडा निरन्तर उकालो लागि रहेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार पछिल्लो समय स्मार्टफोनको आयात निरन्तर बढ्दै गएको देखिएको हो ।

चालु आर्थिक वर्षको १० महिनामा नेपालमा १५ लाख २८ हजार ६४४ थान स्मार्टफोन नेपाल भित्रिएका हुन् । चालु आवको वैशाख मसान्तसम्ममा २४ अर्ब १ करोड २४ लाख २२ हजार रुपैयाँको स्मार्टफोन आयात भएको छ । जसबाट राज्यलाई ४ अर्ब ४७ करोड १३ लाख ३१ हजार रुपैयाँ राजस्व उठाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कुल १३ लाख ९ हजार ८५६ थान स्मार्टफोन २० अर्ब ४१ करोडको आयात भएको हो ।

वैशाख महिनामा मात्रै एक लाख ३६ हजार ७९९ थान स्मार्टफोन आयात भएको विभागको तथ्याङ्क उल्लेख गरिएको छ । चैतमा १ लाख ४२ हजार ३६४ थान स्मार्टफोन आयात भएको थियो ।

नेपालमा वैशाख मसान्तसम्ममा ६१ वटा देशबाट नेपालमा स्मार्टफोन आयात भएको छ । नेपालमा सबैभन्दा बढी चीनबाट मोबाइल आयात भएका छन् । चीनबाट मात्रै वैशाख मसान्तसम्म १५ अर्ब ८० करोड रुपैयाँ बराबरका १० लाख ९५ हजार ४६८ थान स्मार्टफोन भित्रिएका छन् । त्यस्तै दोस्रोमा भारतबाट ७ अर्ब ८१ करोड २४ लाख रुपैयाँका ४ लाख २८ हजार ५२५ मोबाइल आयात भएका छन् ।

४१ करोडको मोबाइल चार्जर आयात

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा ४१ करोड ४ लाख २७ हजार रुपैयाँको ३७ लाख ४३ हजार ६२ वटा मोबाइल चार्जर आयात भएको भन्सार विभागले जनाएको छ । जस मार्फत राज्यलाई १ लाख २६ हजार ४४२ रुपैयाँ राजस्व सङ्कलन भएको हो ।

नेपालमा सबैभन्दा बढी मोबाइल चार्जर आयात चीनबाट भएको छ । चालु आर्थिक वर्षको १० महिनामा चीनबाट २२ करोड ६९ लाख ५० हजार रुपैयाँ ३३ लाख ५ हजार ४६८ वटा मोबाइल चार्जर आयात भएका हुन् ।

त्यस्तै, भारतबाट २ करोड २७ लाख ७८ हजार रुपैयाँको ३ लाख १६ हजार २२८ वटा मोबाइल चार्जर आयात भएको हो । नेपालमा मोबाइल चार्जर १८ देशबाट आयात हुने गरेको भन्सारको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

१० महिनामा ९४ हजार ल्यापटप नेपाल भित्रिए

नेपालमा ल्यापटप आयातको सङ्ख्या निरन्तर वृद्धि हुँदा राज्यलाई मनग्य आम्दानी भइरहेको छ । चालु आर्थिक वर्षको १० महिनामा ल्यापटप आयातबाट राज्यलाई ८३ करोड २३ लाख ५५ हजार रुपैयाँ राजस्व प्राप्त भएको छ ।

यस अवधिमा ६ अर्ब १२ करोड २८ लाख ६१ हजार रुपैयाँको ९४ हजार ७०९ वटा ल्यापटप नेपाल आएको भन्सार विभागले जनाएको छ । नेपालमा ल्यापटप ३९ मुलुकबाट आउने गरेको छ ।

सबैभन्दा बढी ल्यापटप चीनबाट आएको छ । चीनबाट ५ अर्ब ८२ करोड ५६ लाख ४७ हजार रुपैयाँको ९० हजार १५८वटा ल्यापटप आयात भएको छ । त्यस्तै, मलेसियाबाट ११ करोड ८५ लाख २२ हजारको २ हजार २५ वटा, सिंगापुरबाट ३ करोड १३ लाख ६ हजारको ५२७ वटा ल्यापटप आयात भएको छ ।

ट्याब्लेटबाट उठ्यो साढे सात करोड राजस्व

पछिल्लो १० महिनामा १५ हजार ८०६ थान ट्याब्लेट नेपाल आयात भएको छ । भन्सार विभागको अनुसार यस अवधिमा ४० करोड ६७ लाख ८० हजार रुपैयाँको ट्याब्लेट आयात भएको हो । जसबाट राज्यले ७ करोड ५९ लाख ६९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

सबैभन्दा बढी चीनबाट ३८ करोड ७२ लाख ४५ हजार रुपैयाँको १५ हजार ३६६ वटा ट्याब्लेट आएका हुन् । २५ मुलुकबाट नेपालमा ट्याब्लेट आएको भन्सार विभागले जनाएको छ ।

साढे २७ करोडको स्मार्टवाच नेपाल आयात

चालु आर्थिक वर्षको १० महिनामा २७ करोड ६७ लाख २२ हजार रुपैयाँको १ लाख ९६ हजार १३९ थान स्मार्ट वाच आयात भएको छ । जसबाट राज्यले ८ करोड ६१ लाख २५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

सबैभन्दा बढी स्मार्ट वाच चीनबाट २२ करोड ७९ लाख १९ हजार रुपैयाँको १ लाख७५ हजार ५२८थान आयात भएको छ । चीनबाट आयात भएको स्मार्ट वाचबाट ७ करोड ३० हजार रुपैयाँको राजस्व उठेको हो ।

त्यस्तै, भारतबाट २ करोड ९९ लाख रुपैयाँको १९ हजार २०६ थान, चीनको ताइवान प्रदेशबाट २२ लाख ८४ हजार रुपैयाँको ६४१ थान र भेदनामबाट १ करोड २८ लाख ८१ हजार रुपैयाँको ३५१ थान स्मार्ट वाच आएको हो । नेपालमा २९ मुलुकबाट स्मार्ट वाच आउने गरेको छ ।

पावर बैंकबाट राज्यले प्राप्त गर्‍यो ४ करोड राजस्व

चालु आर्थिक वर्षको १० महिनामा ९ करोड ६९ लाख ४० हजार रुपैयाँको १ लाख ४९ हजार १०७ थान पावर बैंक आयात भएको हो । जसमार्फत ४ करोड २२ लाख ६७ हजार रुपैयाँ राजस्व प्राप्त भएको छ ।

सबैभन्दा बढी पावर बैंक चीनबाट नेपाल आउने गरेकोछ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा चीनबाट ८ करोड ३२ लाख ९० हजार रुपैयाँको १ लाख ३८ हजार ६२२ वटा थान पावर बैंक आयात भएको छ । चीनबाट मात्र पावर बैंक आयात हुँदा ३ करोड ५९ लाख २५ हजार रुपैयाँ राजस्व उठेको हो ।

साथै, भारतबाट १ करोड ३७ लाख ५७ हजार रुपैयाँको १० हजार ४५७ थान र कुवेतबाट ८ हजार १० थान पावर बैंक आयात भएको हो । पावर बैंक ११ राष्ट्रबाट नेपाल आउने गरेको छ ।

सिम, मेमोरी र स्मार्ट कार्ड ६० करोडको आयात

पछिल्लो १० महिनामा सिम, मेमोरी र स्मार्ट कार्ड ६० करोड ८७ लाख ३० हजार रुपैयाँको ८६ लाख ३१ हजार ६७० थान आयत भएको छ । जस मार्फत राज्यलाई १४ करोड ८० लाख ९९ हजार रुपैयाँ राजस्व प्राप्त भएको हो ।

यस्ता समान ४५ मुलुकबाट आयात हुने गरेको छ । जसमा चीन र भारतबाट बढी आयात हुने गरेको छ ।

राउटर आयातबाट ३६ करोड राजस्व संकलन

चालु आर्थिक वर्षको बैशाख मसान्तसम्ममा १ अर्ब ९३ करोड ५० लाख ३६ हजार रुपैयाँको ५ लाख ९० हजार ४३५ थान राउटर आयात भएको हो । जस माफर्त ३६ करोड ११ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

चीनबाट मात्र १ अर्ब ९२ करोड ६९ लाख १७ हजार रुपैयाँको ५८ लाख ९७ हजार ५३ थान, भारतबाट ५ लाख ५५ हजार रुपैयाँको २२२ थान राउटर आयात भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*