कान्तिपुरका अध्यक्ष कैलाशलाई भेट्न पुगे कांग्रेसका सांसद

८ जेष्ठ २०८१, मंगलवार १७:१२

काठमाडौं । कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध नागरिकता कीर्ते मुद्दामा पक्राउ पूर्जी जारी भएपछि प्रमुख प्रतिपक्षी कांग्रेस सिरोहियाको पक्षमा उभिएको छ।संसद बैठक सकिएलगत्तै कांग्रेसका सांसदहरु सिरोहियालाई भेट्न कान्तिपुर पुगेका छन्। त्यहाँ पुगेर उनीहरुले आफूहरु सिरोहियाको साथमा रहेको बताएका छन्।

नागरिकता किर्ते गरेको अभियोगमा अनुसन्धान गर्न आवश्यक रहेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्ला अदालतबाट मंगलवारमात्र सिरोहियाविरुद्ध पक्राउ पुर्जी लिएको थियो।

सिरोहियालाई पक्राउ पुर्जी जारी भएपछि राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासहित कांग्रेस सांसदहरू राजेन्द्र बजगाईँ, दीपक गिरी, राजु थापालगायत थापाथलीस्थित कान्तिपुरको कर्पोरेट कार्यालयमा पुगेर ऐक्यबद्धता जनाएका हुन्।

कांग्रेस सांसदहरूसमक्ष सिरोहियाले कान्तिपुरविरुद्ध गृहमन्त्रीले व्यक्तिगत प्रतिशोध लिएको बताएका छन्। सो अवसरमा छोरा सम्भव र बुहारी श्रृंखलासहित उपस्थित भएका सिरोयिहा तथा कान्तिपुरका पत्रकारहरूले पनि पूर्वाग्रही कारबाहीविरुद्ध एकजुट हुन आग्रह गरेका छन्।

यसअघि संसद भवनभित्रबाटै सांसद राजेन्द्र बजगाईले लोकतन्त्रको पहरेदार कान्तिपुरको पक्षमा खडा हुन आह्वान गरेका थिए। उता सिरोहियाले पक्राउ पुर्जीविरुद्ध सर्बोच्च अदालतमा रिट दायर गर्दैछन्। यसअघि संसद बैठकमा कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले पनि पक्राउ पुर्जी जारी भएकोबारे आपत्ति जनाएका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*