प्रधानमन्त्री प्रचण्डसहित माओवादीका पाँच मन्त्रीहरुको कति छ सम्पत्ति ?

८ जेष्ठ २०८१, मंगलवार १८:०९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका सबै मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सरकारले आज मन्त्रिपरिषद् सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

प्रचण्ड

सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री प्रचण्डले आफूसँग बैंकमा नगद २५ लाख रुपैयाँ रहेको उल्लेख गरेका छन् । प्रतिनिधिसभा सदस्यको हैसियतमा पाएको २५ लाख रुपैयाँ एभरेस्ट बैंक लिमिटेडमा रहेको प्रधानमन्त्री प्रचण्डले देखाएका छन्। प्रधानमन्त्रीसँग ५ तोला सुन छ, यो पनि पैतृक भएको विवरणमा उल्लेख छ ।

सम्पत्ति विवरणअनुसार प्रधामनन्त्री प्रचण्डको भरतपुर महानगरपालिका–१४ मा १४ कठ्ठा पार्किङको जग्गासहित घर छ । यस्तै, स्वर्गीय धर्मपत्नी सीता दहालकको नाममा रहेको घर र जग्गा पैतृक सम्पत्ति भएको उनको सम्पत्ति विवरणमा उल्लेख छ । यसबाहेक प्रचण्डसँग अन्य सम्पत्ति नरहेको जनाइएको छ ।

पुष्प-कमल-दाहाल-प्रचण्ड

नारायणकाजी श्रेष्ठ

उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको सम्पत्ति विवरण सार्वजनिक भएको छ । उनले आफ्नो सम्पत्ति विवरणमा झण्डै ३८ रोपनी पैतृक जग्गा गोरखामा रहेको उल्लेख गरेका छन् । यस्तै राष्ट्रिय वाणिज्य बैंक सिंहदरबारमा १ लाख २२ हजार ९१८ रुपैयाँ बचत रहेको देखाएका छन् ।

यस्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको बा १०च ५७९८ नम्बरको महिन्द्रा गाडी पनि उनले सम्पत्ति विवरणमा राखेका छन् । त्यसको मूल्य आफूलाई थाहा नभएको मन्त्री श्रेष्ठले बताएका छन् ।

नारायणकाजी-श्रेष्ठ

वर्षमान पुन

अर्थमन्त्री वर्षमान पुनको बैंक खातामा ३३ लाख ७० हजार ६१८ रुपैयाँ रहेको देखिएको छ । मंगलबार सार्वजनिक भएको मन्त्रीहरूको सार्वजनिक विवरणअनुसार पुनसँग चल सम्पत्तिका रूपमा एनएमबी बैंकमा उक्त रकम मौज्दात रहेको उल्लेख छ ।

यसबाहेक उनीसँग रोल्पामा ८२० वर्गमिटरमा फैलिएको घर रहेको छ भने जुन पैतृक सम्पत्ति भएको सम्पत्ति विवरणमा उल्लेख छ । बैंकमा ३३ लाख मौज्दात र रोल्पामा घरबाहेक पुनसँग अरू केही नरहेको बताइएको छ । उनीसँग सुनचाँदी, हिरा जवाहरात र सेयर समेत नरहेको उल्लेख छ । यस्तै पुनसँग पार्टीले दिएको एउटा सवारी साधन छ ।

वर्षमान-पुन

हितबहादुर तामाङ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले चल अचल सम्पत्तिको रूपमा आफ्नो घर नभएको उल्लेख गरेका छन् । उनले बुझाएअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमा जग्गा भने नुवाकोट र काठमाडौँमा गरेर ४ ठाउँमा भएको उल्लेख गरेका छन् ।

जसअनुसार उनको नाममा नुवाकोटको पञ्चकन्यामा ७ रोपनी १५ आना हाराहारीमा जग्गा छ । यस्तै शिवमाया तामाङको नाममा पनि नुवाकोटमा २ ठाउँ र काठमाडौँको टोखामा एक ठाउँमा जग्गा रहेको उल्लेख छ । यस्तै ७–८ तोला चाँदी, ७ लाख सुन र केही नगद चल सम्पत्तिको रूपमा रहेको उनले उल्लेख गरेका छन् । यसबाहेक तलब भत्ताबाट प्राप्त ७ लाख ५० हजार रुपैयाँ बैंकमा रहेको पनि उनले उल्लेख गरेका छन् ।

हितबहादुर-तामाङ

शक्तिबहादुर बस्नेत

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले आफूसँग ३५ लाख रुपैयाँ रहेको जानकारी दिएका छन् । सरकारले आज सार्वजनिक गरेको मन्त्रीहरूको सम्पत्ति विवरणको सूचीअनुसार मन्त्री बस्नेतसँग दुई वटा बैंकमा ३५ लाख रुपैयाँ रहेको उल्लेख छ ।

बस्नेतको राष्ट्रिय वाणिज्य बैंकको खातामा १० लाख रुपैयाँ मौज्दात छ । यसबाहेक अन्य रकम कुन बैंकमा रहेको भन्नेबारे खुलाइएको छैन । यस्तै श्रीमती सत्य पहाडीको नाममा ६ लाख रुपैयाँ बराबरको सेयर छ भने ५ तोला सुन समेत उल्लेख छ ।

यसबाहेक जाजरकोटमा बुबाको नाममा, छोरी र श्रीमतीको नाममा जग्गा रहेको बताइएको छ । सत्य पहाडीको नाममा सुर्खेतमा थप जग्गा पनि रहेको बताइएको छ । यसबाहेक पार्टीले दिएको एउटा सवारी रहेको र सो सवारी पार्टीको नाममा रहेको उल्लेख छ ।

शक्ति-वस्नेत

रेखा शर्मा

सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले आफ्नो सम्पत्ति विवरणमा श्रीमान् कृष्णध्वज खड्काको नाममा काठमाडौँको कीर्तिपुरमा घर रहेको उल्लेख गरेकी छन् । ६ आना १ पैसा दुई दाम क्षेत्रफलमा बसेको उक्त जग्गामा साढे २ तलाको घर रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार प्युठानमा जग्गा, चल सम्पत्तिमा ६ तोला सुन, २ तोला चाँदी, विभिन्न बैंकमा नगद मौज्दान रहेको उल्लेख गरेकी छन् । यस्तै एउटा होण्डाइ कार रहेको पनि उनको सम्पत्ति विवरणमा उल्लेख छ।

रेखा-शर्मा

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*