रास्वपाका कुन मन्त्रीको सम्पत्ति कति ?

८ जेष्ठ २०८१, मंगलवार १७:५५

काठमाडौं । सरकारले प्रधानमन्त्रीसहित सम्पूर्ण मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । जस अन्तर्गत अधिकांश मन्त्रीहरुको पैतृक सम्पत्तिलाई बढी प्राथमिकता दिएर सार्वजनिक गरेको पाईएको छ ।

छोटो समयमा नै लामो राजनीतिक इतिहास बोकेका नेपाली राजनीतिका नेताहरुलाई टक्कर दिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उप–प्रधान र राज्यमन्त्रीसहित पाँच जना सरकारमा सहभागि रहेका छन् । बिहीबार बसेको मन्त्रीपरिषद्को निर्णयले सरकारका मन्त्रीसहित प्रधानमन्त्रीको सम्पत्ति सार्वजनिक गरेको हो ।

रास्वपाका अधिकांश मन्त्रीहरुले आफ्नो सम्पत्ति श्रीमतीको नामबाट सार्वजनिक गरेको पाईएको छ । जसमा उप–प्रधान तथा गृहमन्त्री रबि लामिछाने र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्यालले आफ्नो भनिएको अधिकांश सम्पत्ति आफ्नो श्रीमतीको नामबाट सार्वजनिक गरेका छन् ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रबि लामिछाने

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।मन्त्रिपरिषद्को हालै बसेको बैठकले प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुको विवरण सार्वजनिक गर्ने निर्णय गरेअनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेवसाइटमा सम्पत्ति विवरण सार्वजनिक भएको हो ।

विवरणअनुसार, लामिछानेको नाममा नेपाल बैंक लिमिटेडमा एक लाख ५ हजार र ग्लोबल आईएमई बैंकमा ५ हजार रुपैयाँ छ । उनको नाममा भक्तपुरमा १ रोपनी १ आना जग्गा छ ।पैतृक सम्पत्तिबाट प्राप्त यो जग्गाबाहेक अरु सबै पत्नी निकिता पौडेलको नाममा भएको उनको सम्पत्ति विवरणमा उल्लेख छ ।

निकिताको नाममा बुढानिलकण्ठ–८ मा ५ आना जग्गामा बनेको घर छ । विभिन्न व्यवसाय सञ्चालनबाट आएको रकमबाट ३ करोड ७५ लाख रुपैयाँमा घर खरिद गरेको भनिएको छ । घर किन्दा बैंकबाट लिएको २ करोड ५० लाख रुपैयाँमध्ये अब १ करोड ५० करोड तिर्न बाँकी रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।

लामिछानेले पत्नी निकिता पौडेलसँग ८० तोला सुन रहेको पनि खुलाएका छन् । त्यसको स्रोत भने अधिकांश बुबाआमाले दिएको र केही खरिद गरेको उल्लेख गरिएको छ ।

त्यस्तै, १५र२० केजी चाँदी रहेको भनिएको छ । त्यो २५० देखि ३०० प्रति तोला भएको बेला खरिद गरेको भनिएको छ ।अन्य नगद निकिता पौडेलको नाममा छ । पत्नी निकितासँग गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्सको १० रोपनी ८ आना जग्गाको २५ प्रतिशत शेयर रहेको पनि गृहमन्त्री लामिछानेले उल्लेख गरेका छन् ।

निकिताको नाममा टाटा नेक्सनको विद्युतीय कार रहेको भनिएको छ । ४२ लाख रुपैयाँमा दुवैको निजी आय र बचतबाट २०७९ सालमा कार खरिद गरेको भनिएको छ ।
निकिता नारी टेलिभिजन र गोपीकृष्ण कामाक्ष मिडिया कम्पनीको सञ्चालक रहेको उल्लेख गरिएको छ।नारी टेलिभिजनको हालको मूल्य ३ करोड रुपैयाँ र कामाक्ष मिडियाको हालको मूल्य १ करोड रुपैयाँ रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

शिक्षामन्त्री सुमना श्रेष्ठ

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उनको काभ्रेमा ८ आना ६ पैसा ३० जग्गा रहेको छ । उनले उक्त जग्गा आफ्नो पारिश्रमिकबाट खरिद गरेको उल्लेख छ ।

उनीसँग ११ तोला सुन र हिराको हार एक सेट, हिराको टप एक सेट र चाँदी सय तोला रहेको छ । साथै, उनीसँग १ करोड ५२ लाख रुपैयाँ नगद रहेको छ । उक्त रकम उनले पारिश्रमिक प्राप्त गरेकी हुन् ।

त्यस्तै उनीसँग ३ कमपनीको शेयर रहेको छ भने बाबुले दिएको नबिल बौंकको ७४९ कित्ता सेयर छ । उनीसँग १ लाख ८५ हजार मूल्य बराबरको स्कुटर र कम्पनीको नाममा रहेको २० लाख रुपैयाँ मूल्य बराबरको इभी गाडी छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी आर्याल

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद ९डीपी० अर्यालसँग करोडौँको चलअचल सम्पत्ति रहेको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सार्वजनिक मन्त्रीहरूको सम्पत्ति विवरणअनुसार अर्यालकी श्रीमती अम्बिका केसीको नाममा काठमाडौँमा करिब ३ करोड मूल्य बराबरको घर रहेको छ।

यस्तै उनको र अम्बिका केसीको नाममा १२ ठाउँमा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ । धादिङको गजुरी, काठमाडौँको नागार्जुन र लमजुङको राइनासमा उनीको जग्गा रहेको हो । उक्त जग्गा व्यापार र निजी कमाइबाट आर्जन गरिएको सम्पत्ति विवरणमा उल्लेख छ ।

यस्तै अर्यालसँग १५० तोला सुन, १०० तोला चाँदी र हिरा १० तोला रहेको छ । सबै सुनचाँदी र हिरा व्यापारबाट आर्जन गरिएको सम्पत्ति विवरणमा उल्लेख छ ।

यस्तै अर्यालको विभिन्न बैंकमा नगद मौज्दात, सेयर र गाडी सम्पत्ति विवरणमा उल्लेख छ ।

युवा तथा खेलकुदमन्त्री बिराजभक्त श्रेष्ठ

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले ‘सेयर मार्केट’मा एक करोड बढी लगानी गरेका छन्। उनले मन्त्रिपरिषद्‌मा बुझाएको सम्पत्ति विवरणअनुसार उनीसँग १५ हजार ९०६ कित्ता सेयर रहेको छ। जसको मूल्य एक करोड ९ लाख ८० हजार ५०९ रूपैयाँ रहेको उनले उल्लेख गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता समेत रहेका उनले आफ्नै बुबा विरेन्द्रभक्त श्रेष्ठसँग २० लाख रूपैयाँ ऋण लिएका छन्। २०७० सालमा लिएको ऋण अझै फिर्ता नगरेको विवरण उनले उल्लेख गरेका छन्।

हाल उनीसँग कुल ५० लाख ऋण रहेको पनि उल्लेख छ। उनीसँग ल्यान्ड क्रुजर, विद्युतीय सवारी साधन रहेका छन्। बैंकमा उनीसँग ८३ लाख ७२ हजार ७४५ रूपैयाँ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*