पुँजिगत खर्च किन भएन भनेर खाेज्दै छाैंः अर्थमन्त्री पाैडेल

काठमाडाैं । उप प्रधान तथा अर्थमन्त्री बिष्णु पाैडेलले पुँजिगत खर्च किन बढेन भनेर सरकारले अध्ययन गरिरहेकाे बताएका छन् । आज अर्थमन्त्रालयमा आयाेजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पाैडेलले पुँजगत खर्च बढाउने प्रतिबद्दता जनाए ।
पौडेलले अर्थतन्त्र सुधारको लयमा आइरहेको दाबी गर्दै सरकार उत्पादन वृद्धि, निर्यात प्रोत्साहन र पुँजीगत खर्चको तीव्रतामा जोड दिएको बताए । उनले भने, ‘सरकारले ओरालो लाग्ने अर्थतन्त्रलाई रोक्दै सुधारका कार्यक्रमहरू अगाडि बढाएको छ। राजस्व संकलनलाई अझ तीव्रता दिन सरकारले काम गरिरहेको छ। उत्पादन वृद्धि नभएसम्म निर्यात वृद्धि सम्भव छैन, त्यसैले उत्पादनमा विशेष जोड दिनुपर्ने आवश्यकता रहेको छ।’
सरकार अहिले खर्च बढाउने र पुँजीगत खर्चमा ध्यान केन्द्रित गरेको जानकारी पौडेलले दिए। ‘विस्तारै कामको नतिजा आउँदैछ। सरकारले कस्तो ऋण लिने र केका लागि लिने भन्ने विषयमा गम्भीरता अपनाएको छ। ऋण लिँदा समेत होसियार हुनुपर्नेमा सरकारको ध्यान केन्द्रित छ’ उनले स्पष्ट पारे।
पुँजीगत खर्चलाई तीव्र बनाउन सरकार नीतिगत सुधारसहित अघि बढिरहेको उनको भनाइ थियो। ‘पुँजीगत खर्चले मात्रै अर्थतन्त्रलाई गति दिन सक्छ, त्यसैले यो हाम्रो मुख्य प्राथमिकता रहेको छ’ पौडेलले थपे।
सरकारले निजी क्षेत्रको मागलाई पनि सम्बोधन गर्दै लगानीकर्ताको मनोबल वृद्धि गर्न सफल भएको पौडेलको दाबी थियो। अर्थमन्त्री पौडेलले सरकारले ल्याएको अध्यादेशले अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुर्याएको समेत दाबी गरे। ‘निराश चिर्नका लागि सरकारले अध्यादेश ल्याएको हो’ उनले भने।











