क्यान इन्फोटेक–२०२५ मा अवलोकनकर्ताको भिड, सरकारीदेखि निजी संस्थाका स्टलहरु भरीभराउँ (तस्विरहरु)

काठमाडौँ । भृकुटीमण्डपमा गत बिहीबारदेखि सुरु भएको वृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५’ मा अवलोकनकर्ताहरुको आकर्षण बढ्दो क्रममा रहेको छ ।
प्रदर्शनीमा रहेका विभिन्न क्षेत्रका आइटी तथा प्राविधिक स्टलका साथै सरकारी संस्थाका स्टलहरु समेत अवलोकनकर्ताको भिडले भरीभराउँ बनेका छन् । नयाँ–नयाँ प्रविधि र समाधानसहित सहभागी कम्पनीका स्टलमा अवलोकनकर्ताको चासो देखिएको छ ।
आइतबार क्यान इन्फोटेकमा रहेका स्टलहरुमा विद्यार्थी, युवा–युवती तथा आम सर्वसाधारणहरुले आइटी तथा प्रविधिबारे अवलोकन गरी आफुलाई रुची भएका विषयहरुबारे आवश्यक कुराहरु थाहाँ इन्फोटेकले एकदमै सहज वातावरण सिर्जना गरिदिएको पतिक्रिया दिएका छन् ।
क्यान महासंघका उपाध्यक्ष चिरञ्जीवी अधिकारीले विश्व समुदायले निर्माण गरेका एआई तथा डिपसीक भन्दा पनि नेपाली समुदायले आफ्नै देशमा निर्माण भइरहेका एआईको अवलोकन गरी उनीहरुलाई प्रोत्साहन गर्न आवश्यक रहेको प्रतिक्रिया दिए ।
क्यान इन्फोटेकलाई लक्षित गर्दै प्रदर्शनी स्थलमा विभिन्न प्रविधि कम्पनी तथा संघसंस्थाहरूले आफ्नो ब्राण्ड प्रवद्र्धनसँगै विशेष छुट र अफर घोषणा गरेका छन् । प्रदर्शनीमा इन्टरनेट सेवाप्रदायक, स्थानीय सफ्टवेयर, कम्प्युटर तथा एक्सेसरिज, आईटी ट्रेनिङ तथा इन्स्टिच्युट, स्टार्टअप तथा इनोभेसन, नेटवर्किङ प्रडक्ट लगायतका स्टलमा अवलोकनकर्ता झुम्मिएका छन् । क्यान इन्फोटेकमा विभिन्न क्षेत्रका कुल १५५ वटा स्टलहरु सञ्चालनमा रहेका छन् ।
तस्विरः राजन कठायत, बीमापोष्ट डटकम