त्रिवि केन्द्रिय क्याम्पसको स्ववियु सभापतिमा उज्ज्वल खड्काले स्वतन्त्र उम्मेदवारी दिने

१ फाल्गुन २०८१, बिहीबार १९:१९

काठमाडौँ। आगामि चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पसको स्ववियु सभापतिमा उज्ज्वल खड्काले स्वतन्त्र रुपमा उम्मेदवारी दिने घोषणा गरेका छन्। राजनीतिक पूर्वाग्रहभन्दा बाहिर रही विद्यार्थी मुद्दाहरूमा केन्द्रित रहेर काम गर्ने उद्देश्यका साथ खड्काले उम्मेदवारी दिन लागेका हुन्। त्रिविको सुधार र शैक्षिक गुणस्तरमा अभिवृद्धि गर्ने एजेन्डासहित चुनावी मैदानमा उत्रिन लागेका खड्का सक्षम उम्मेदवारको रूपमा हेरिएका छन्।

उज्ज्वल खड्का विद्यार्थीका मुद्दामा निरन्तर आवाज उठाउँदै आएका नेताको रूपमा परिचित छन्। उनी पदमा रहँदा मात्र नभई पदबाहिर हुँदा पनि विद्यार्थीहरूको समस्याप्रति संवेदनशील रही समाधानका लागि लागिपर्ने स्वभावले उनीप्रति विद्यार्थीहरूको भरोसा बढेको छ। क्याम्पसमा देखिएका प्रशासनिक अव्यवस्था, शैक्षिक गुणस्तरको कमी र भौतिक पूर्वाधारको अभावजस्ता विषयमा उनले आवाज उठाउँदै आएका छन्।

खड्काले विद्यार्थीहरूको शैक्षिक अधिकार सुनिश्चित गर्न संघर्ष गर्दा कयौं चुनौतीहरूको सामना गरेका छन्। उनी राजनीतिक दबाबको विरोध गर्दै स्वतन्त्र विद्यार्थी आन्दोलनमा सक्रिय रहँदै आएका छन्। त्रिविमा सुधार बिना नेपालको उच्च-शिक्षामा सुधार सम्भव छैन भन्ने उनको धारणा छ। यही एजेन्डालाई चुनावी मुद्दा बनाएर उनी सभापतिमा उम्मेदवारी दिन लागेका हुन्।

खड्काले आफ्नो उम्मेदवारी घोषणा गर्दै त्रिविलाई ‘Academic Excellence’ को मार्गमा अघि बढाउन योजना र कार्यक्रमहरू ल्याउने बताएका छन्। उनले दलीयकरणको चपेटामा परेको विश्वविद्यालयलाई सुधार गरी शैक्षिक गुणस्तरमा सुधार गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। त्रिविमा देखिएका शैक्षिक समस्या समाधानका लागि उनले व्यावहारिक समाधानको खाका तयार पारेको बताउँदै भने, ‘अबको केही दिनमा योजना र कार्यक्रमसहित प्रस्तुत हुने जानकारी गराउन चाहन्छु।’

उनको यस भनाइले विद्यार्थीहरूमा आशा र उत्साह थपिएको छ। त्रिविमा सुधारको खाँचो महशुस गरिरहेका विद्यार्थीहरूले उनको उम्मेदवारीलाई सकारात्मक रूपमा लिएको देखिन्छ।

राजनीतिशास्त्र केन्द्रिय विभागका उज्ज्वल खड्का बैचारिक रूपमा स्पष्ट र नेतृत्व क्षमतामा अब्बल व्यक्तित्वको रूपमा चिनिन्छन्। शैक्षिक सुधारको एजेन्डामा अडिग रहँदै उनी दलीय पूर्वाग्रहबाट मुक्त रही स्वतन्त्र रूपमा उम्मेदवारी दिन लागेका हुन्। त्रिविका विद्यार्थीहरूले उनलाई परिवर्तनकारी नेताका रूपमा विश्वास गरेका छन्।

उनले दलीय राजनीतिले शिक्षा क्षेत्रमा पारेको नकारात्मक प्रभावबारे स्पष्ट रूपमा धारणा राख्दै आएका छन्। ‘राजनीतिक पूर्वाग्रहका कारण विद्यार्थीहरूको भविष्यमा असर परेको छ,’ उनी भन्छन्, ‘अब दलगत राजनीतिलाई शिक्षण संस्थामा प्रवेश हुन दिनुहुन्न।’
खड्काले उम्मेदवारी घोषणा गरेपछि त्रिवि केन्द्रिय क्याम्पसका विद्यार्थीहरूमा उनको समर्थन देखिएको छ। विशेषतः स्वतन्त्र विद्यार्थीहरूको समूहले उनलाई खुलेर समर्थन जनाइरहेका छन्। उनी स्ववियु सभापति भएमा क्याम्पसमा देखिएका समस्याहरूको समाधानमा तत्पर हुने विश्वास विद्यार्थीहरूको रहेको छ।

चुनावको मिति नजिकिँदै गर्दा उनका प्रतिस्पर्धी उम्मेदवारहरूलाई टक्कर दिने खड्काको तयारी र योजनाले क्याम्पसको चुनावी माहोललाई थप रोचक बनाउने देखिन्छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*