ह्वाईट हाउसभित्र राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेनेस्कीबीच बबाल झगडा

एजेन्सीहरु । आर्थिक तथा सैन्य सहयोगको एजेण्डा लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न पुगेका युक्रेनी राष्ट्रपति भ्यादिमिर जेलेनेस्कीबीचको संवाद तिक्तता भन्दा पनि माथि पुगेर बबाल झगडामा रुपान्तरण भएको छ ।
ह्वाईट हाउसस्थित ओभलमा भएको वार्तामा युक्रेनमा शान्ति स्थापना गर्ने, खनिजमा अमेरिकी पहुँच स्थापना गर्ने सम्बन्धमा सम्झौता गर्ने विश्वास गरिएको थियो । तर, यति ठूलो झगडा पर्यो कि दुई देशका राष्ट्रपतिका बीचमा भनाभन नै भएको भिडियो बाहिर आएको छ ।
फक्सन्यूजका अनुसार युक्रेनी राष्ट्रपति जेलेनेस्कीले अमेरिकी राष्ट्रपतिको अपमानित गरेको आरोप लगाएको छ । राष्ट्रपतिसँग भेटगर्दा लगाउनुपर्ने ड्रेस, शारिरिक हाऊभाऊ तथा आँखाको इसारा समेत गलत गरेकोले राष्ट्रपति ट्रम्पले ह्वाईट हाउसबाट निकालिदिएको उल्लेख गरेको छ ।
सञ्चार माध्यमहरुलाई समेत अगाडि राखेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेनेस्कीसँग भेटवार्ता गरेका थिए । सो भेटवार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेनेस्कीलाई बेस्सरी थर्काएको भिडियोमा देख्न सकिन्छ । रोयटर्समा प्रशारित प्रत्यक्ष भिडियोमा अमेरिकी राष्ट्रपति ट्रम्पले कार्ड नखेल्न पटक पटक दोहोर्याए । उनले भने, ‘डन्ट प्ले कार्ड’ ।
वार्ता र संवाद सुरु भएको करिब २० मिनेटपछि परिस्थिति यति असहज र अस्तव्यस्त बन्यो कि विश्वका कुटनीतिज्ञहरु नै आश्चर्यमा परेका छन् । जब जेलेनेस्कीले रसियाको प्रभावबारे अमेरिकाले ‘फिल’ (अनुभूति) नगरेको भन्ने शब्द प्रयोग गरे अनि ट्रम्पले बेस्सरी थर्काएका थिए । राष्ट्रपति ट्रम्पले हामीलाई नसिकाऊ भन्दै थर्काउन थाले ।
ट्रम्पले वार्तामा युक्रेनलाई तेस्रो विश्वयुद्ध गराउन खोजेको गम्भिर आरोप समेत लगाएका छन् । उनले विश्वका लाखौं मानिसको जीवनसँग गेम खेलेको आरोप समेत लगाएपछि जेलेनेस्की स्तब्ध बन्न पुगेका थिए । ट्रम्पले अमेरिका समस्या समाधान गर्न चाहन्छ भन्ने स्पष्ट रुपमा युक्रेनलाई कार्ड नखेल्न चेतावनी दिएका छन् ।
चर्को झगडाका बीचमा युक्रेनी राष्ट्रपति जेलेनेस्कीले आफू हिजो पनि एक्लै र आज पनि एक्लै भएको जवाफ दिएका थिए । तत्कालै ट्रम्पले अमेरिकी हतियार र ३५० बिलियन डलर नदिएको भए युद्ध यतिबेला नै दुई सातामा सकिने बताए ।
अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनलाई तत्काल युद्धविराम गर्नुपर्ने बताएका छन् । अमेरिकी राष्ट्रपतिसँग झगडा परेपछि जेलेनेस्की रन्थनिँदै फक्सन्यूजको कार्यालयमा पुगेका छन् । त्यहाँ उनले एक अन्तर्वाता पनि दिएका छन् ।
आज ह्वाईट हाउसमा भएको दुई बीचको तिक्ततापूर्ण वार्ताले विश्व राजनीतिक एक पटक फेरि तरंगित भएको छ ।












