‘रक्षावरणदेखि बचतसम्म: नेपालमा बीमा क्षेत्रको मजबुत विकास र बढ्दो प्रभाव’

प्रविणरमण पराजुली
७ बैशाख २०८३, सोमबार ११:१०

बीमाको विकासक्रम र सुरक्षा

बीमा आफैंमा रक्षावरण अर्थात् सुरक्षा हो । दक्षिण एसियाका देशहरुमा बीमालाई बचतको रुपमा लिने गरिएको छ । यता बीमाबापत संकलन गरिएको शुल्क मुख्यतया बैंकको मुद्दति निक्षेपमा राख्ने गरिन्छ । अहिले बजारमा ब्याजदर घटेका कारण पछिल्ला दिनमा यसको प्रतिफल घटेको छ तर ८/१० वर्षको औसतमा हेर्दा ७/८ प्रतिशत ब्याजदर यस क्षेत्रमा प्राप्त भइरहेको पाइन्छ । सधैभर जीवन रक्षा पाउने, प्राकृतिक अवधि समाप्त भएपछि एकमुष्ट रकम पाइने र बोनस पनि प्राप्त हुने कारण पछिल्लो समय यसलाई बचतको हिसाबले मानिसहरुले सदुपयोग गरिरहेका पाइन्छन् । यसरी हेर्दा मुख्यरुपमा रक्षावरण र बचत दुवै हिसाबले बीमाको आवश्यकतालाई दर्शाउँछ । नेपालको सन्दर्भमा ४०–५० वर्षदेखि संचालनमा रहेका संस्थाहरु यस क्षेत्रमा रहेका छन् । त्यस्तै यो अवधिसम्म आइपुग्दा यहाँ नियामकसँगै कम्पनीहरु पनि परिपक्व भइरहेका छन् ।

नेपालमा ८ वर्ष यताको अवस्थालाई हेर्दा २० वटा जीवन बीमा कम्पनी सञ्चालनमा रहेका छन् । त्यसमध्ये १० वटा पुराना र १० वटा नयाँले लाइसेन्स लिएर काम गरिरहेका छन् । यतिबेला नयाँ/पुराना दुवै आफ्नो क्षमता विस्तारमा लागेका पाइन्छन् । यसरी आजको दिनमा बजारलाई फर्केर हेर्दा ७/८ वर्षको अवधिमा वैदेशिक रोजगार र माइक्रो इन्स्योरेन्सलाई पनि जोड्ने हो भने करिब ४४/४५ प्रतिशतको बजार प्रवेश देखिन्छ । क्षेत्रीय बजारसँग तुलना गर्दा यो राम्रो उपस्थिति हो । नियामकले पनि सबलता प्रदर्शन गर्दै समयानुकूल ऐन, नियमहरुलाई परिमार्जनमार्फत् सहज बनाउँदै लगिरहेको छ । अहिले बीमा ऐन २०४९ संशोधन भएर २०७९ आएको छ । सोहीअनुरुप नियामावली आएको छ । समग्रमा बीमा क्षेत्र परिपक्व बन्दै ग्राहकलाई नवीनतम उत्पादन र उचित प्रतिफल दिने क्षेत्रको रुपमा नेपालमा विकसित भएको पाइन्छ ।

कुल गार्हस्थ उत्पादनमा योगदान

अहिले जीवन बीमा क्षेत्रले कुल गार्हस्थ उत्पादन (जीडीपी) मा करिब ३.२५ प्रतिशतसम्मको योगदान गरेको तथ्यांकले देखाउँछ । यो राम्रो योगदान हो । भारतमा जीवन बीमा क्षेत्रले त्यहाँको कुल जीडीपीको ३.६ प्रतिशत योगदान दिएको देखिन्छ । यसरी तुलना गरेर हेर्दा नेपालमा भर्खरै उदाउँदै गरेको यो क्षेत्रले छोटो समयमै ठूलो योगदान दिएको पाइन्छ । यही जीवन बीमाकै कारण आज वित्तीय साक्षरता, मानिसमा जागरुकता एवं सचेतना बढेको छ । अब कुनै द्विविधा नराखेर सबै नागरिकले बीमालाई अनिवार्य आवश्यकता हो भन्ने चेतना विकास हुन सकेमा अझै यो क्षेत्र माथि उठ्नेछ । त्योसँगै यस क्षेत्रको बजार विस्तार, व्यापार र राष्ट्रिय अर्थतन्त्रमा पु¥याउने योगदान सबै बढ्नेछ ।

कम्पनीका सक्षमता र कारोबार

संस्थागतरुपमा अहिले जीवन बीमा कम्पनीको न्यूनतम चुक्ता पुँजी नै ५ अर्ब हुनु पर्ने व्यवस्था रहेको छ । निर्जीवन बीमाको हकमा साढे २ अर्ब रुपैयाँ हुनुपर्नेछ । पुनर्बीमा (रि इन्स्योरेन्स) हरुको आफ्नै छुट्टै व्यवस्था छ । अर्काे सबै कम्पनीको एउटै खालको व्यापारिक कारोबार पनि छैन । आफूले लिएको दायित्व र व्यापारको आकार पनि एउटै छैन । शुरुवाती पुँजी नै ठूलो छ । दोस्रो अन्तर्राष्ट्रिय मूल्य, मान्यताअनुसार जोखिममा आधारित पुँजीको व्यवस्था ल्याइसकिएको छ । यो सञ्चालनको दोस्रो वर्षमा गइसकेको छ भने चार वर्षमा यसलाई पूर्णरुपमा लागू गर्ने भनेर नियामकले निर्देशन दिइसकेको छ । यसबारे संस्थाहरु आफ्नो काममा अगाडि बढिसकेका छन् । त्यसैले कम्पनीहरुले लिइरहेको दायित्व र त्यो दायित्व पूरा गर्नका लागि चाहिने पुँजीबारे प्रष्ट भइसकेको अवस्था छ । त्यसैगरी संस्थाहरुले लिएका प्रतिबद्धताहरु पूरा गर्ने क्षमता वैज्ञानिकरुपमा निर्धारण भइसकेको छ ।

त्यस्तै यहाँ अरु सरोकारवालाहरु पनि छन् । आजका दिनमा कम्पनीहरुले लिनसक्ने जोखिम उनीहरु आफैंले लिन्छन् भने आफूले लिनसक्ने भन्दा माथिको जोखिम पुनर्बीमा कम्पनीहरुलाई दिने गर्दछन् । अहिले नेपालमै पुनर्बीमा कम्पनीहरुलाई जोखिम हस्तान्तरण गर्नसक्ने स्थिति छ । हिजोका दिनमा नेपालमा पुनर्बीमा कम्पनीहरु सञ्चालनमा थिएनन् भने आज नेपाल रि–इन्स्योरेन्स र हिमालयन रि–इन्स्योरेन्सले काम गरिरहेका छन् । त्यसैगरी यहाँका कम्पनीहरुले अन्तर्राष्ट्रियस्तरका ख्यातिप्राप्त, वित्तीयरुपमा सबल संस्थाहरुबाट वित्तीय एवं प्राविधिक विज्ञ झिकाएर भए पनि यस क्षेत्रमा उल्लेख्य काम गरिरहेका छन् । यहाँ बीमाका नीतिमार्फत देशबाट पैसा बाहिर जानुहुँदैन भन्ने सिद्धान्तका आधारमा अगाडि बढिएको छ ।

बुझ्नुपर्ने कुरा पुनर्बीमा जोखिम हस्तान्तरणको वैकल्पिक बाटो हो । आजका दिनमा हाम्रो वित्तीय अवस्थाले जोखिम हस्तान्तरणको सिद्धान्तलाई मानिरहेको छैन । यहाँ जोखिम उठाउने, जोखिम दिने दुवै काम भइरहेको छ । वास्तवमा रि–इन्स्योरेन्सले पनि आफ्नो जोखिमलाई बाहिर नै दिने हो । अतः कम्पनीहरुले उनीहरुको क्षमताअनुसारको जोखिम नेपालका रि–इन्स्योरेन्सहरुलाई दिएर बाँकी बाहिरका कम्पनीहरुलाई नै दिनुपर्दछ भन्ने लाग्दछ । किनकि यसको सिद्धान्त नै जोखिम हस्तान्तरण गर्ने भन्ने हो । अहिलेको अवस्थामा राज्यको नीतिले शतप्रतिशत देशभित्रै राख्नुपर्छ भनेको छ । तर एउटै घटनामा २५औं अर्ब रुपैयाँ असर प¥यो र त्यस्ता घटनाहरु धेरै भए भने त्यो दायित्व धान्न नेपालका कम्पनीहरु सक्षम छन् कि छैनन् भन्ने पनि हेर्नुपर्दछ । त्यसैले देशभित्रका रि–इन्स्योरेन्सहरुलाई उनीहरुको क्षमताअनुसार दिने र त्यो भन्दा बढीको अवस्थामा बाहिर जान सकिने व्यवस्था हुनुपर्दछ । अब यो क्षेत्रलाई प्रतिस्पर्धा गरेर व्यापार लिनसक्ने बनाइनुपर्दछ ।

दक्षिण एसिया र हाम्रो अवस्था

बीमा बजारको हिसाबले नेपाल राम्रो अवस्थामा छ । तथ्यांकगत र अर्थतन्त्रको हिसाबले भारतभन्दा नेपालको स्थिति राम्रो छ । यसो भनिरहँदा दक्षिण एसियाका अन्य देशको तुलनामा पनि नेपालको बीमा बजारको अवस्था राम्रो देखिन्छ । अर्काे कुरा यहाँ लगानीका क्षेत्रहरु भने सीमित छन् । त्यसैले कम्पनीहरुले संकलन गरेको बीमा शुल्कलाई राम्रो क्षेत्रमा लगानी गरेमा मात्रै शेयरधनीहरुको अपेक्षाअनुसार राम्रो प्रतिफल दिन सकिनेछ । विगत १५–२० वर्षमा कम्पनीहरुले दायित्व लिइरहँदा त्यसको ९५ प्रतिशत मुद्दति निक्षेपमा लगानी गरेका छन् । आज बजारमा तरलता धेरै हुँदा ब्याजदरमा कमी आएर प्राप्त प्रतिफल कम भएको होला तर बजारमा तरलता अभाव भयो भने बैंकहरुले अधिक ब्याज दिने र प्रतिफल पनि बढी हुने गर्दछ । अर्काेतिर यस्तो अवस्थामा बैंकहरुले पनि छोटो अवधिका लागि मात्रै निक्षेप लिने गर्दछन् । यसले पनि जोखिम सिर्जना भइरहेको देखिन्छ ।

यता दक्षिण एसियाका अन्य देशहरुमा भने सुरक्षाको हिसाबले राज्य नै उपस्थित हुने गर्दछ । जुन कुनै राज्यलाई पूर्वाधार विकासको आवश्यकता हुन्छ र लामो समयको लागि योजना चाहिन्छ । दक्षिण एसियाका देशहरुले बैंकको ब्याजदरभन्दा केही माथि राखेर यस्ता पूर्वाधारका क्षेत्रमा काम गर्दछन् । पुँजीको आकारको हिसाबले त्यहाँ जोखिम शून्य हुन्छ । बिडम्बना नै मान्नुपर्दछ नेपालमा भने लगानीको सीमितता र थप उपाय नहुँदा यो क्षेत्र अलि खुम्चिएको छ । अब भने यस क्षेत्रबाट राज्यले लामो समयसम्म कोष पाउने अवस्थाबारे जानकारी राख्नुपर्ने र कम्पनीहरुले पनि दीर्घकालिन लगानी गर्नसक्ने हिसाबले जानुपर्ने देखिन्छ ।

लगानी विविधिकरण

पछिल्लो समय लगानी विविधिकरणका विषयमा नियामकले धेरै काम अगाडि बढाएको छ । नियामकले क्षेत्र नै तोकिदिएर लगानीयोग्य रकमको १० प्रतिशतसम्म जान सकिने भनेको छ । त्यसअनुसार क्षेत्रगतरुपमा बीमा कम्पनीहरुले जलविद्युत, शिक्षा, एयरलाइन्स, हस्पिटालिटी लगायत क्षेत्रमा लगानी गरिरहेका छन् । हाम्रो भनाइ राज्यलाई पनि चाहिने र निजी कम्पनीलाई पनि आवश्यक पर्ने कम जोखिमयुक्त क्षेत्रमा लगानी गर्ने उपयुक्त मोडलमा जानु आवश्यक छ । ती लगानीका साधनहरु जस्तै बोण्ड, डिबेन्चर, कन्भर्टिबल बोण्ड, कन्भर्टिबल डिबेञ्चर लगायत हुन् । यसले जोखिम पनि कम हुने र कम्पनीहरुलाई प्रतिफल पनि राम्रो दिन सक्नेछ । अहिले भइरहेको १० प्रतिशतको सीमाका क्षेत्रमा पनि लगानी गर्ने र यी माथि भनिएका नयाँ क्षेत्रमा समेत जान सकिएमा कहिलेकाँही आइपर्ने भवितव्यमा समेत कम्पनीहरुले शेयरधनीलाई राम्रो प्रतिफल दिन सक्नेछन् र यो क्षेत्र दिगोरुपमा अगाडि बढ्न सक्नेछ ।

कोरोना बीमा र विवाद

कोरोना बीमाले जीवन बीमा क्षेत्रलाई खासै असर गरेको छैन । अर्काेतर्फ जुन प्रोडक्ट डिजाइन ग¥यौं, त्यो सैद्धान्तिक भन्दा अलि फरक बीमा थियो । यस्ता क्षेत्रमा संस्थाले आफ्नो क्षमताले तिर्नुपर्ने र बीचमा मध्यस्थकर्ताले तिर्नुपर्ने रकम तिरे । त्योभन्दा बाहिरको दायित्व सरकारले तिर्नुपर्दछ । त्यस विषयमा अहिले पनि पूर्णरुपमा गर्नुपर्ने काम बाँकी छ । सिद्धान्ततः विचलन आउने र जोखिम हुने क्षेत्रबारे हेर्न जरुरी छ, ताकि क्षेत्रगत जोखिम कम भएर चल्न सकियोस् । यदि भोलिका दिनमा केही भवितव्य आएर व्यवसाय नै चल्न नसक्ने स्थिति भयो भने यो क्षेत्र नै संकटमा पर्नेतर्फ पनि ख्याल गर्नुपर्दछ । यहाँ कम्पनीहरुले व्यापार त गर्छन् तर कुनै कुरालाई बेवास्ता गरेर जोगिन सकिन्छ भने त्यसतर्फ पनि सोच्न जरुरी देखिन्छ ।

अभिकर्ताको दायित्व र जिम्मेवारी

सिद्धान्ततः उद्योगमा भएपछि राम्रा–नराम्रा सबै विषयहरु हुने गर्दछन् । ९९.९ प्रतिशत सकारात्मक कुरा भए पनि ०.१ प्रतिशत नकारात्मक कुरा त्यहाँ हुनसक्दछ । त्यसमध्ये पनि नकारात्मक कुराको प्रचार छिटो फैलिन्छ । यसो भन्नुको अर्थ नकारात्मक कुरालाई प्रश्रय दिनुपर्छ भनेको होइन । त्यसमा सुधार गरेर जानुपर्दछ । बजारमा गलत गर्ने अभिकर्ता, बिमित वा सम्बन्धित अन्य सरोकारवाला जो छन् उनीहरु कारबाहीमा पर्नुपर्दछ र परेका पनि छन् । वास्तवमा गलत गर्नेलाई कुनै पनि क्षेत्र वा उद्योगबाट संरक्षण हुनुहुँदैन भन्ने हाम्रो मान्यता हो ।
अर्काे यस्ता विषयलाई न्यूनीकरण गर्न कम्पनीहरुले अभिकर्ताहरुलाई सजग गराउने काम गरिरहेका छन् । उनीहरुको क्षमता विकास गरेर विभिन्न विषयवस्तुहरुमा कसरी अगाडि बढ्ने र के कुराले बजारमा कस्ता असर पु¥याउँछन् लगायत विषयमा समय–समयमा सचेत गराउने काम भइरहेको छ । त्यसमार्फत ज्ञानको हस्तान्तरण एवं विकास, सूचनाको हस्तान्तरणका साथै कुनै गलत घटनाहरु नदोहोरिउन् भन्नेतर्फ ध्यान दिइन्छ । कुनै पनि हालतमा ग्राहकलाई केन्द्रविन्दुमा राखेर काम गर्न कम्पनीहरु केन्द्रित बन्नुपर्दछ भनेर सिकाइन्छ । यति भन्दैगर्दा पनि अपवाद केही रहलान् तर यो उद्योगलाई सुधार गरेर राम्रो गर्ने संस्कारको विकासमा सबै कम्पनीहरु केन्द्रित छन् ।

बीमक संघको कार्य

जीवन बीमक संघ स्वयम् सेवा गर्ने संस्था हो । संस्थाको जिम्मेवारीमा आएपछि जो कोहीले पनि यसको गरिमालाई बढाउनेगरी काम गर्नुपर्दछ । सबैले अपेक्षा गरेरै नेतृत्वमा पठाएकाले उहाँहरुको विश्वास अनुरुप नै काम गरिनेछ । बीमा क्षेत्रलाई अझ सुव्यवस्थित बनाएर अगाडि बढाउने विषयमा संघ सधंै लागिरहेको छ । हिजोका दिनमा जीवन बीमक संघलाई उपलब्धिमार्फत् व्यवसायिक बनाइएको थियो । अब संस्थागत गर्नेतर्फ संघको पहिलो ध्येय हुनेछ । यस क्षेत्रलाई बढीभन्दा बढी प्रभावकारी बनाउन क्षमता विकास, भएका स्रोत, साधनहरुको प्रयोग, कर्मचारीको क्षमता विकास लगायतमा संघले आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिका निर्वाह गरिरहेको छ । ज्ञानको कमी भएको क्षेत्र पहिचान गरी आवश्यक सिप प्रदान गर्नेतर्फ विशेष ध्यान दिइएको छ । त्यस्तै आजका दिनमा कतिपय सूचनाहरु मासिक र त्रैमासिकरुपमा आइरहेका हुन्छन् । त्यसमा संघको तर्फबाट मासिक वा त्रैमासिकरुपमा समाचार, बुलेटिन प्रकाशन गरी आवश्यक विश्लेषण गर्ने काम गरिन्छ । तथ्यांकको सही विष्लेषण गरेर जाँदा संघमा आबद्ध सदस्यसँगै आम सरोकारवाला सबैलाई सहयोग पुग्ने विश्वास संघको रहेको छ । समग्रमा हिजोको दिनभन्दा आज र आजको दिनभन्दा भोलि यस क्षेत्रलाई अझ उपयुक्त बनाउँदै संस्थागत गरेर लैजाने र सबै सदस्यहरुको अपनत्व हुनेगरी निरन्तररुपमा अगाडि जानेगरी संघ लागिरहनेछ

नियामकको निर्देशन र समन्वय

समग्रमा नियामकले कम्पनीहरुलाई निर्देशन दिने र त्यो निर्देशनअनुसारको कार्यान्वयन कम्पनीहरुले पनि गर्दै आएका छन् । यो बजारको विकासका लागि नियामक सकारात्मकरुपमा नै अगाडि बढिरहेको पाइन्छ । पछिल्ला दिनहरुमा दुई पक्षमा केहीमात्रामा देखिएका खाडलहरु पनि कम हुँदै गएका छन् । बुझ्नुपर्ने विषय कमजोरीमा मात्रै नियामकको भूमिका रहन्छ र नियामकले कारबाही मात्रै गर्नुपर्छ भन्ने भन्दा पनि समन्वय गरेरै जानुपर्दछ । पछिल्लो समय नियामकको भूमिकामा यस्तै सकारात्मक परिवर्तन देखिरहेको पाइएको छ । अहिले कुनै नियमनकारी विषय अगाडि बढाइरहँदा छलफलमा बोलाउने, सुझावहरु माग्ने काम हुने गरेका छन् ।

यता जीवन बीमक संघ नेपालले पनि पछिल्लो समय राम्रो अभ्यास थालेको छ । संघले यस क्षेत्रमा भएका चुनौतीहरु, नयाँ अवसरहरु, आकस्मिक जोखिम, सञ्चालन जोखिम जस्ता विविध चुनौतीहरुलाई कम गराउने प्रयास गर्ने गरेको छ । चौमासिकरुपमा नियामकीय निकाय प्रमुख एवं पदाधिकारीसँगै बसेर यस्ता विषयबारे छलफल गरी देखिएका सबै किसिमका मुद्दाहरुलाई हल गर्ने प्रयास गरिनेछ । कम्पनी सञ्चालकहरुले समस्या राख्नेमात्रै भन्दा पनि त्यो समस्या आउनुको कारण, उत्कृष्ट अभ्यास र समाधानबारे गहनरुपमा छलफल गर्ने प्रचलन विकास गरिएको छ । विभिन्न प्रस्तुतिकरणमार्फत आएका निष्कर्ष नियामकलाई बुझाएर सकारात्मक कार्यान्वयनतर्फ अगाडि जाने काम पनि हुँदै आएका छन् । यस्ता विषयले दुवै पक्षलाई आफ्नो जित भएको महशुश गराउने वातावरण बन्नेछ । समग्रमा बीमा क्षेत्र राम्रो बाटोमा अगाडि बढिरहेको छ ।

(पराजुली जीवन बीमक संघका अध्यक्ष र नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् ।)

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*