आकस्मिक रूपमा अमेरिकी मन्त्री नेपाल भ्रमणमा

काठमाडौँ । आकस्मिक रूपमा अमेरिकी उच्च अधिकारीको नेपाल भ्रमण भएको छ । अमेरिकी सहायक विदेशमन्त्री एस. पाउल कपुर सोमबार बिहान काठमाडौँ आइपुगेका हुन् । उनको भ्रमणबारे पूर्व जानकारी सार्वजनिक नगरिएकाले उनी नेपाल अवतरण गरेपछि मात्रै यसको जानकारी बाहिरिएको हो ।
आकस्मिक रूपमा भएको यस भ्रमणलाई कूटनीतिक वृत्तमा चासोका रूपमा हेरिएको छ । विशेषगरी बालेन्द्र शाह को नेतृत्वमा नयाँ सरकार गठन भएपछि अमेरिकाबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण भएकाले यसको राजनीतिक तथा कूटनीतिक अर्थबारे विभिन्न टिप्पणीहरू भइरहेका छन् ।
नेपाल बसाइका क्रममा कपुरले आजै परराष्ट्रमन्त्री शिशिर खनाल तथा अर्थमन्त्री स्वर्णिम वाग्ले सँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ । डोनाल्ड ट्रम्प निकट मानिने कपुरले दक्षिण तथा मध्य एसियाली मामिला हेर्दै आएका छन् । पछिल्लो समय दक्षिण तथा मध्य एसियामा बढ्दो भूराजनीतिक प्रतिस्पर्धाका बीच नेपालप्रति विश्व शक्तिहरूको चासो बढिरहेका बेला उनको आकस्मिक भ्रमणलाई अर्थपूर्ण रूपमा विश्लेषण गरिएको छ ।
हालै नेपालमा सरकार गठन प्रक्रियामा बाह्य प्रभावबारे विभिन्न टिप्पणीहरू भइरहेका सन्दर्भमा अमेरिकी सहायक विदेशमन्त्रीको अचानक भ्रमणले नेपालको परराष्ट्र नीतिको दिशा र सन्तुलनबारे थप बहस सिर्जना गरेको छ ।











