बीमा कम्पनीका कर्मचारीको नक्कली शैक्षिक प्रमाणपत्रको छानबिन प्राधिकरणले कसरी गर्दैछ?

काठमाडौं । बीमा कम्पनीहरुमा कार्यरत धेरै कर्मचारीहरुको शैक्षिक प्रमाणपत्र नक्कली रहेको सूचना पाएपछि बीमा प्राधिकरणले छानबिन सुरु गरि तत्कालै कारवाहीको प्रकृया अघि बढाएको छ।
नक्कली शैक्षिक प्रमाण पत्रका आधारमा जागिर खानेहरुको संख्या ठूलो रहेको भन्दै बेला बेलामा उजुरी समेत पर्ने गरेको थियो ।गत महिना एक बीमा कम्पनीमा नक्कली सर्टिर्फिकेटधारी कर्मचारीलाई प्रााधिकरणको निर्देशनमा निष्काशन गरिसकेको छ । उजुरीको आधारमा ती कम्पनीका कर्मचारीमाथि निगरानी राख्दा नक्कली सर्टिर्फिकेटधारी भेटिएसँगै प्राधिकरणको निर्देशनमा ती कर्मचारी हाल कम्पनीबाट बाहिरिसकेका छन् ।
बीमा प्राधिकरणका एक अधिकारीले दिएको जानकारी अनुसार कम्तिमा २५ प्रतिशत कर्मचारीहरुको शैक्षिक प्रमाणपत्र नक्कली हुनसक्ने अनुमान गरिएको छ । १० वर्ष अघि प्राधिकरणले बीमा कम्पनीहरुमा कार्यरत कर्मचारीहरुको शैक्षिक प्रमाणपत्रका विषयमा चासो राखेको थियो । त्यसयता कुनै पनि छानबिन तथा प्रमाण पत्र हेर्न समेत काम गर्न पाएका छैनन् ।
‘हामीले यस विषयमा गम्भीर छानबिन गर्दैछौं, पहिले पनि यस्ता विषयहरु धेरै उठान हुने गरेका थिएँ’ ती अधिकारीले भने, ‘आफूले हासिल गरेको योग्यताभन्दा बढीको शैक्षिक प्रमाण पत्र पेश गरिए कडा कारबाही हुन्छ, व्यक्तिमात्रै होइन कम्पनीका विषयमा पनि हामीले एक्सन लिन्छौं ।’
उनका अनुसार धेरै जसो भारतका विश्वविद्यालयहरुमा अध्ययन गरेको शैक्षिक प्रमाणपत्र पेश गर्नेहरुमाथि बीमा प्राधिकरणले निगरानी बढाउने छ ।विदेशी विश्व विद्यालयमा अध्ययन पुरा गरे पनि त्यसलाई त्रिभुवन विश्व विद्यालयमा पेश गरेर समकक्षताको प्रमाण पत्र लिनु पर्ने हुन्छ । समकक्षकताको प्रमाण पत्र पेश नगरे विदेशमा अध्ययन पुरा गरेको सर्टिफिकेटले वैधानिकता पाउँदैछ । उनी भन्छन्, ‘धेरै विदेशका विभिन्न विश्व विद्यालयमा अध्ययन गरेको प्रमाण पत्र पेश गरिएको सूचना छ, तर अहिले नै पुष्टि भने भइसकेको छैन ।’
बीमा प्राधिकरणका कार्यकारी निर्देशक एवं प्रवक्ता सुशीलदेव सुवेदीले बीमा क्षेत्रमा देखिएका यस्ता घटना फेला पारेपछि प्राधिकरणले छानबिन गरी तत्कालै कारवाही पनि गरेको बताँउछन् ।‘नक्कली शैक्षिक प्रमाणपत्रजस्ता कागजात पेस गरेर जागिर खाने र दिने काम दुवै अपराध हो’, उनले भने, ‘प्राधिकरणले छानबिन गरी कारबाही पनि गर्दै आएको छ।’
‘जागिर खाने बेलामा भन्दा पनि बढुवाको समयमा यस्तो प्रमाण पत्र पेश गरेको हुनसक्छ भन्ने हाम्रो अनुमान हो, यस्तो बदमासी साना कर्मचारीहरु भन्दा पनि ठूला कर्मचारीहरुबाट धेरै हुनसक्ने सम्भावना छ’ उनले ।











