आईपीओको तयारीमा रहेको अग्नि सिमेन्ट: नाफा घटेर २ करोडमा सीमित, पुँजीभन्दा २.३० गुणा बढी ऋण

११ जेष्ठ २०८३, सोमबार १२:१४

काठमाडौं । प्रारम्भिक सार्वजनिक निष्कासनमार्फत सर्वसाधारणको लगानी भित्र्याउने तयारीमा रहेको अग्नि सिमेन्ट इन्डष्ट्रिजको व्यापारमा केही सुधार देखिए पनि त्यसको पछाडिको वित्तीय आधार भने अझै कमजोर र अस्थिर रहेको तथ्य बाहिरिएको छ । सन् २०२४ को तुलनामा सन् २०२५ मा व्यापार ४६ प्रतिशतले बढेको देखिए पनि नाफा, नगद प्रवाह, ऋण संरचना र कच्चा पदार्थमा निर्भरता जस्ता सूचकहरूले कम्पनीको दीर्घकालीन जोखिम अझै उच्च रहेको संकेत गरेको हो ।

सन् २०२४ मा ३९ करोड ८० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२५ मा ५८ करोड ९० लाख रुपैयाँको कारोबार गरेको छ । व्यापार बढेको देखिए पनि यो वृद्धि स्थायी र सन्तुलित नभई बजारको अस्थिर माग र लागत संरचनामा निर्भर रहेको देखिन्छ । सन् २०२३ मा कम्पनीको व्यापार ६७ करोड रुपैयाँ रहेको थियो ।

गत आर्थिक वर्षमा कम्पनीले २ करोड रुपैयाँ मात्रै नाफा आर्जन गरेको छ जुन व्यापारको तुलनामा अत्यन्तै कमजोर नाफा दर हो । सन् २०२४ मा भने कम्पनीले ४ करोड ९० लाख रुपैयाँ नाफा कमाएको थियो । व्यापार बढ्दा पनि नाफा झण्डै आधा घट्नुले कम्पनीको लागत व्यवस्थापन कमजोर रहेको स्पष्ट संकेत गर्छ ।

नगद सञ्चयको अवस्था पनि उत्साहजनक छैन । कम्पनीसँग कुल नगद सञ्चय १ करोड ८० लाख रुपैयाँ मात्र रहेको छ जुन सन् २०२४ को २ करोड १० लाख रुपैयाँको तुलनामा घटेको अवस्था हो । नगद सञ्चय घट्दै जानुले कम्पनीको दैनिक सञ्चालन क्षमता र आकस्मिक खर्च धान्ने सामर्थ्य कमजोर हुँदै गएको देखिन्छ ।

कम्पनीको संरचनागत कमजोरीमध्ये सबैभन्दा ठूलो चुनौती कच्चा पदार्थमा अत्यधिक निर्भरता हो । कम्पनीसँग आफ्नै क्लिङ्कर उत्पादन गर्ने इकाइ छैन । केवल ग्राइन्डिङ उद्योगको रूपमा सञ्चालन भइरहेको कम्पनीले आवश्यक क्लिङ्कर अन्य सिमेन्ट उत्पादक कम्पनीहरूबाट खरिद गर्दै आएको छ, जसमा समूहअन्तर्गतकै कम्पनी पनि समावेश छ । यस प्रकारको संरचनाले कम्पनीलाई बजार मूल्य उतारचढाव र आपूर्ति जोखिमप्रति अत्यधिक संवेदनशील बनाएको छ ।

मुख्य कच्चा पदार्थ क्लिङ्कर, स्ल्याग, फ्लाइ ऐश र जिप्सम जस्ता सामग्रीहरूमा आधारित उत्पादन भएकाले यी सबैको मूल्य परिवर्तनले कम्पनीको लागत संरचनामा प्रत्यक्ष असर पार्ने अवस्था छ । तर केवल ग्राइन्डिङ उद्योग भएकाले कम्पनीले लागत बढ्दा मूल्य समायोजन गर्न सक्ने क्षमता सीमित हुने विश्लेषण देखिन्छ । यसले नाफा मार्जिन स्थिर राख्न कठिन बनाएको छ ।

कच्चा पदार्थको लागत नै कम्पनीको सबैभन्दा ठूलो खर्च भएको तथ्यले यसको जोखिम अझ गहिरो बनाएको छ । कच्चा पदार्थको मूल्य बढ्दा त्यसको भार ग्राहकमा स्थानान्तरण गर्न नसक्ने अवस्था कम्पनीका लागि दीर्घकालीन चुनौती बनेको छ । प्रतिस्पर्धी कम्पनीहरूको तुलनामा आफ्नै क्लिङ्कर उत्पादन गर्ने कम्पनीहरू बढी स्थिर देखिए पनि अग्नि सिमेन्ट भने बाह्य आपूर्तिमा निर्भर रहँदा कमजोर स्थितिमा देखिएको छ ।

ऋण संरचनाको अवस्था पनि उत्तिकै चिन्ताजनक छ । सन् २०२५ मा कम्पनीको ऋण पुँजीभन्दा २.३० गुणा बढी रहेको छ । यसको अर्थ प्रत्येक १ रुपैयाँ पुँजीको तुलनामा करिब २ रुपैयाँ ३० पैसा बराबर ऋण रहेको छ । यस्तो उच्च ऋण भारले कम्पनीको वित्तीय स्थायित्वमाथि थप दबाब सिर्जना गरेको छ ।

सन् २००७ मा स्थापना भएको यो कम्पनी सन् २०२२ मा पब्लिक कम्पनीमा रूपान्तरण भएको हो । छोटो समयमै सार्वजनिक कम्पनी बनेको भए पनि यसको वित्तीय संरचना अझै परिपक्व बन्न सकेको छैन । उत्पादन क्षमताको हिसाबले कम्पनीले दैनिक ९ सय मेट्रिक टन क्षमतामा पीपीसी र ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । यसअघि सन् २००९ देखि ६ सय मेट्रिक टन क्षमतामा सञ्चालन हुँदै आएको उद्योगलाई सन् २०१८ पछि विस्तार गरी ९ सय मेट्रिक टनमा पुर्‍याइएको हो ।

उत्पादन बजारमा कम्पनीले अग्नि, ओरियन्ट र त्रिवेणी ब्रान्डमार्फत पीपीसी सिमेन्ट र अल्फा ब्रान्डमार्फत ओपीसी सिमेन्ट बिक्री वितरण गर्दै आएको छ । देशभर ३१ जिल्लामा यसको बजार विस्तार रहेको भए पनि बजार हिस्सा र ब्रान्ड मजबुती अझै पूर्ण रूपमा स्थापित भइसकेको छैन ।

कम्पनीको नेतृत्व कृष्णप्रसाद पोखरेलले गर्दै आएका छन् । दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कम्पनीले कुल १ अर्ब ५ करोड रुपैयाँ बराबरको रेटिङ गराएको छ । यसमध्ये दीर्घकालीन कर्जाका लागि ५४ करोड ५८ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५० करोड ४१ लाख रुपैयाँ बराबरको मूल्यांकन गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*