गणतन्त्र दिवसमा प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले गणतन्त्र दिवस समारोहमा पनि सम्बोधन नगर्ने भएका छन् । जेठ १५ गते मनाइने उक्त समारोहका लागि राष्ट्रपतिबाट सम्बोधन गरियोस् भन्ने अनुरोधसहित उनले राष्ट्रपति कार्यालयमा पत्राचार गरेको स्रोतले जनाएको छ ।
सिंहदरबार स्रोतका अनुसार सो पत्र राष्ट्रपति कार्यालयमा पुगिसकेको छ । संविधानको धारा ६६ को उपधारा (९) अनुसार राष्ट्रपतिलाई सम्बोधनका लागि आग्रह गरिएको उल्लेख गरिएको छ । परम्परागत रूपमा गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन गर्ने अभ्यास रहँदै आएको भए पनि यसपटक त्यो अभ्यासबाट फरक शैली अपनाइएको देखिएको छ ।
यसअघि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने संसद् बैठकमा पनि शाहले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्तावमा प्रत्यक्ष रूपमा नबोली प्रक्रिया अघि बढाएका थिए । त्यसपछि नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ पनि कार्यकारी तहबाट नभई अन्य जिम्मेवार निकायमार्फत दिइएको थियो, जसका कारण संसद्मा विपक्षी दलहरूले आपत्ति जनाउँदै बैठक अवरुद्धसमेत गरेका थिए ।
औपचारिक समारोहदेखि संसद्को नियमित प्रक्रियासम्म प्रमुख शाहको उपस्थिति र भूमिका फरक ढंगले देखिँदै आएको भन्दै राजनीतिक वृत्तमा व्यापक चर्चा भइरहेको छ ।












