स्वाभिमान लघुवित्तको घोषित लाभांश रद्द, शेयरधनीको हात रित्तो

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले यसअघि घोषणा गरेको १० प्रतिशत लाभांश रद्द गरेको छ। कम्पनीको गत फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/०८२ को मुनाफाबाट ९.५० प्रतिशत बोनस शेयर र ०.५० प्रतिशत नगद लाभांश दिने घोषणा गरेकोमा सोही लाभांश रद्द गरिएको हो।
कम्पनीको जेठ ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त घोषित लाभांश रद्द गर्ने निर्णय गरेको हो। ‘संस्थाको वित्तीय प्रतिवेदनलाई थप सुदृढ बनाउने क्रममा नियामक व्यवस्था र वित्तीय परिसूचकहरूमा गर्नुपर्ने अनिवार्य समायोजनका कारण साविकमा प्रस्तावित लाभांशलाई यथावत् राख्न नसकिने कानूनी एवं प्राविधिक बाध्यता सिर्जना भएको’ कारण देखाउँदै लाभांश रद्द गरेको हो।
प्रचलित नीति नियम तथा सरोकारवालाहरूको दीर्घकालीन हितलाई ध्यानमा राख्दै साविकको लाभांश प्रस्तावलाई परिमार्जन गरी आर्थिक वर्ष २०८१/०८२ का लागि कुनै पनि लाभांश (बोनस शेयर तथा नगद लाभांश) वितरण नगर्ने निर्णय भएको कम्पनी सचिव कृष्ण राज चौधरीले जानकारी दिएका छन्।












