कुमारी बैंकको सिस्टमबाट साढे ५८ करोड हरायो, केन्द्रिय बैंक मुकदर्शक

काठमाडौं । कुमारी बैंकको सिस्टमबाट ५८ करोडभन्दा बढी कर्जा गायब भएको खुलासा भएको छ । एनसीसी बैंकसँगको मर्जरपछि कृषि कर्जा शीर्षकअन्तर्गत रहेको ५८ करोड ६३ लाख ८४ हजार रुपैयाँ भन्दा बढी कर्जा रकम बैंकको सिस्टमबाट हराएको पाइएको हो ।
मर्जरअघि एनसीसी बैंकमा स्पष्ट रूपमा देखिएको उक्त कर्जा शीर्षकको रकम मर्जरपछि कुमारी बैंकको एकीकृत प्रणालीमा समायोजन हुँदा अभिलेखमा उल्लेख भएको छैन । एनसीसी बैंकले मर्जर हुनुअघि कृषि कर्जाअन्तर्गत विभिन्न उपशीर्षकहरूमा ठूलो मात्रामा कर्जा प्रवाह गरेको थियो । २०७९ मंसिर महिनाको विवरण हेर्दा कर्जा शीर्षक १.६ मा ३७ करोड ३१ लाख रुपैयाँ, १.१५ मा ८ करोड ५४ लाख रुपैयाँ र १.१९ मा करिब १२ करोड ७७ लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह भएको उल्लेख छ । यी सबै जोड्दा साढे ५८ करोडभन्दा बढी रकम देखिन्छ, जुन कृषि कर्जा वर्गमै अभिलेखित थियो ।
तर मर्जर प्रक्रिया सम्पन्न भई एनसीसी बैंक कुमारी बैंकमा समाहित भएको एक महिनापछि अर्थात् २०७९ पुसको विवरणमा ती कर्जा शीर्षकहरूमा उक्त रकम हराएको छ । सोही शीर्षकमा न त कर्जा असुली भएको स्पष्ट प्रमाण देखिन्छ न त सो रकम अन्य कुनै कर्जा शीर्षकमा सारिएको विवरण भेटिन्छ । बैंकले उक्त शीर्षकको रकम अर्को कुनै शीर्षकमा राखेर पनि नेपाल राष्ट्र बैंकमा रिपोटिङ गर्न सक्ने अवस्था पनि रहन्छ । तर बैंकले उक्त रकम अरु कुनै पनि शीर्षकमा राखेको विवरणहरुमा देखिदैन ।

सामान्य बैंकिङ अभ्यासअनुसार मर्जरपछि पुरानो बैंकका सबै कर्जा, दायित्व र सम्पत्तिहरू नयाँ संस्थाको एकीकृत प्रणालीमा स्पष्ट रूपमा समायोजन हुनुपर्ने हुन्छ । तर यस घटनामा देखिएको भनिएको असंगतिले प्रणालीगत त्रुटि हो वा अभिलेखीय समस्या मात्र हो प्रश्न उठ्न थालेको छ ।
कर्जा असुली (रिकभरी) भएमा त्यसको स्पष्ट ट्रेल सिस्टममा देखिनुपर्छ । असुली भएको रकम कहाँ गयो, कुन खातामा समायोजन भयो वा कर्जा घटाइयो भन्ने सबै विवरण लेखा प्रणालीमा स्पष्ट हुन्छ । तर यहाँ उल्लेख गरिएको अवधिमा कुनै पनि असुली वा समायोजनको स्पष्ट प्रमाण देखिदैन ।यस सम्बन्धमा बैंकसँग जवाफ माग गर्दा कुमारीका उच्च अधिकारीहरु भने मौन रहेको छन् ।
बैंकमा गम्भीर अनिमितता भएको भन्दै राष्ट्र बैंकमा उजुरी समेत परेको छ । बैंक एक शेयरधनीले कुमारी बैंकले २०७९ पुषमा उल्लेखित (१.६, १.१५ र १.१९) शिर्षकमा कुनै पनि कर्जा असुली तथा भुक्तानी नभएको भन्दै सूचना माग गरेका थिए ।
राष्ट्र बैंकले जवाफमा भने उक्त कर्जा २ फरक–फरक मितिको रहेको र उक्त एक महिनाको अवधिमा थप कर्जा लगानी तथा चुक्ता हुन सक्ने भएकोले फरक पर्नाको कारण सम्बन्धीत बैंकसँग माग गर्न भनेको छ ।तर, यता कुमारी बैंकले उक्त अवधिमा कर्जा असुली र लगानी गरेको देखिदैन । कर्जा असुली नभएको भनि दिएको सूचनालाई केन्द्रिय बैंकले नै बेवास्ता गरेको छ । जस गर्दा राष्ट्र बैंकमाथि नै अनियमितता उन्मुक्ति दिएको प्रश्न उब्जीएको हो ।
राष्ट्र बैंकभित्र जिम्मेवारी सम्हाल्ने केही कर्मचारीहरूले बैंकिङ क्षेत्रभित्र सुशासन मजबुत बनाउन आवश्यक सक्रियता देखाउन नसक्दा, उजुरी तथा गुनासाहरूलाई गम्भीरतापूर्वक अध्ययन नगरी बेवास्ता गर्ने प्रवृत्ति बढ्दै गएको छ। यस्तो उदासीनता र निष्क्रियता केवल औपचारिकतामा सीमित हुँदा राष्ट्र बैंकको जागिरलाई कतिपयले समय कटाउने वा पेन्सन सुनिश्चित गर्ने माध्यमका रूपमा मात्र बुझ्ने अवस्था देखिन थालेको छ। परिणामस्वरूप बैंक तथा वित्तीय संस्थासँगको अनावश्यक निकटता र स्वार्थपूर्ण सम्बन्धले बैंकरहरूलाई नियमित आम्दानीको सहज स्रोत जस्तो बनाइदिँदा समग्र प्रणालीभित्रका समस्या झनै जटिल र गम्भीर बन्दै गएको छ ।













