समयसँगै बीमाको परिभाषा फेरिएको छः विष्णु

२४ जेष्ठ २०८३, आईतवार १४:३१

विगत लामो समयदेखि बीमा क्षेत्रमा सक्रिय रुपमा कार्यरत रहेका विष्णु प्रसाद सापकोटा हाल सिटिजन लाइफको क्षेत्रीय प्रबन्धकको रुपमा कार्यरत छन् । साविकको प्राइम लाइफबाट बीमा क्षेत्रमा प्रवेश गरेर हाल सिटिजन लाइफमा कार्यरत विष्णु प्रसाद सापकोटाले बीमा क्षेत्रलाई नजिकबाट नियाल्ने अवसर पाएका छन् । नेटवर्किङ कम्पनीहरूले ग्रामीण क्षेत्रमा बीमा बजारको नाममा पारेको प्रभावदेखि हाल कोरोना बीमासम्मको अवस्थामा जीवन बीमा क्षेत्रमा परेको असरलाई प्रत्यक्ष अनुभव गर्न पाएका सापकोटाले बीमा क्षेत्रको हिजोको अवस्था, वर्तमान र भविष्य कस्तो छ भन्ने बिषयमा बीमापोष्ट गरेको बीमा संवाद

तपाईं बीमा क्षेत्रमा कसरी आउनुभयो?

पढ्दै गर्दा आफ्नै आम्दानी पनि हुँदै गरोस् र बाबा ममीलाई पैसा माग्न नपरोस् भनेर कुनै न कुनै काम गर्ने चाहना थियो। म्यानेजमेन्टको विद्यार्थी भएको नाताले कि बैंकिङमा कि बीमा क्षेत्रमा लाग्ने विचार थियो। २ वर्ष शिक्षण पेशामा लागिरहँदा प्राइम लाइफको ब्रान्च मेनेजरमा विज्ञापन खुलेको देखें र दरखास्त फारम भरें। प्राइम लाइफ अहिले मर्ज भएर हिमालयन लाइफ बनेको छ। त्यसमा तीन वर्ष काम गरेपछि नेपाल लाइफमा ब्रान्च मेनेजर पदमै प्रवेश गरेर ८ वर्ष शाखा प्रमुखको रूपमा काम गरें। अहिले विगत ६ वर्षदेखि सिटिजन लाइफमा क्षेत्रीय प्रबन्धकको रूपमा काम गरिरहेको छु।

बीमा क्षेत्र हिजो र आजमा कत्तिको फरक छ?

शुरूमा मलाई नुवाकोटको शाखा प्रमुख तोकिएको थियो र रसुवा जिल्ला पनि हेर्ने जिम्मेवारी थियो। त्यो बेला आमा समूह, वन समूह जस्ता समूहहरू हुन्थ्यो त्यसमा बीमा सम्बन्धी सचेतना फैलाउन गएको बेला मलाई लखेटिएको थियो। त्यो बेला नेटवर्किङ कम्पनीहरूले गाउँगाउँमा गएर पैसा उठाउने र फर्केर नजाने गरेका रहेछन्। त्यस्तो सात–आठ वटा कम्पनीमध्ये एउटा युनिटी लाइफ भन्ने पनि रहेछ। अनि त्यो घटनाले गर्दा हिजो जस्तै गरी ठगी गर्न आयो भनेर बीमा अभिकर्ताप्रति आक्रोशित हुँदा रहेछन्। तर अहिले धेरै परिवर्तन भइसकेको छ। आम नागरिकमा बीमा प्रति सकारात्मक धारणा रहेको पाइन्छ। पहिले अभिकर्तालाई तँ किन आइस्? भनेर लखेट्ने समाजले आज बीमा गर्न त हुन्थ्यो तर पैसा छैन! भनेर उत्तर दिनुहुन्छ। कम्तीमा बीमाप्रतिको त्यो खालको धारणामा धेरै परिवर्तन आएको छ।

नियामकको कमजोरीले बीमा चाहेर पनि गर्न नखोजेको जस्तो देखिन्छ?

विश्वमा कहींकतै महामारीको बीमा गर्ने प्रचलन छैन। नेपालमा कोरोना बीमाको पहल त राज्यले गर्यो यसलाई सकारात्मक रूपमै लिऔं तर त्यसको दाबी भुक्तानी सरकारले नदिंदा बीमा कम्पनी, अभिकर्ता र आम ग्राहक पीडित बन्न पुगेका छन्। फलानाले कोरोना बीमा गरेको अहिलेसम्म पैसा पाएनरे! भनेर आज पनि हामीमाथि प्रश्न उठ्ने गरेको छ। जबकी त्यसमा जीवन बीमा कम्पनीको कुनै हात समेत छैन त्यो निर्जीवन बीमा तर्फको हो र भुक्तानी नदिएको सरकारले हो। अहिले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार छ तर सरकारले दिन नसकेको भुक्तानीको मारमा हामी छौं र त्यसको जवाफ हामीले दिंदै हिंड्नुपरेको छ।

त्यसैगरी सरकारले स्वास्थ्य बीमा लागू गर्यो तर अस्पताललाई सरकारले अर्बाैं रुपैयाँ भुक्तानी दिएको छैन। सामान्य नागरिक स्वास्थ्य बीमा छ भनेर उपचार गराउन जानुहुन्छ अस्पतालले भुक्तानी नपाएको कारण बिरामीलाई फर्काइदिन्छ। आम नागरिकले स्वास्थ्य बीमामा वर्षेनी ३५ सय रुपैयाँ तिरेका हुन्छन् यसैले उपचार होला भनेर अस्पताल जाँदा अस्पतालले हुँदैन भनेर फर्काइदिन्छ। यसको मारमा पनि हामी नै परिरहेका छौं।

जीवन–निर्जीवन र स्वास्थ्य बीमा फरक हो भनेर बुझाउन नसक्नु हाम्रो पनि कमजोरी हो कि?

अहिले आम नागरिकको हातहातमा मोबाइल छ कतिपय वृद्धवृद्धाले पनि कम्तीमा युट्युब खोलेर भिडियो हेर्न जान्नुहुन्छ तर उहाँहरूलाई बीमा सम्बन्धी कुनै भिडियो पठायौं भने पनि खोलेरै नहेर्ने, बीमितको घरदैलोमा जाँदा एकैचोटी बीमा बारेमा प्रशस्तै कुरा राखिने अनि त्यो ठाउँमा वर्षाैंसम्म फर्केर नजाने निरन्तरता नै नदिने जस्ता समस्या पनि छन्। हामी एक्लैले चेतना फैलाउन चाहेर नहुने रहेछ।

राज्यले स्वास्थ्य बीमा सहयोगी भनेर कर्मचारी नियुक्त गरेको हुन्छ तर उँहाहरू बीमा बुझेको वा बीमा सम्बन्धित क्षेत्रको मान्छै नै नहुने। बीमाको बारेमा एउटा तालीमसम्म नलिएको मान्छेलाई राजनीतिक नियुक्ति दिइएको हुन्छ। बीमा प्राविधिक विषय हो र यसमा योग्य मानिस चाहिन्छ भन्ने कुरा सरकारले बुझ्नै चाहेको छैन।

 

बीमा सचेतना कार्यक्रम शहर केन्द्रित मात्रै देखिन्छ नि?

म बजार केन्द्रित भएर कुनै पनि कार्यक्रम गर्दिन्न। धादिङको हरेक गाउँपालिकामा गएर बीमा सचेतना फैलाएको छु। शहरकेन्द्रित भएर गरिने हरेक कार्यक्रम विकट जिल्लाहरूमा गरिनुपर्छ भन्ने मेरो मान्यता छ। हामी सवारीसाधन नजाने हिंडेर घण्टौं लाग्ने वडा, पालिकाहरूमा गएर पनि कार्यक्रम गरेका छौं। अरू संघसंस्थाहरूले कार्यक्रम गर्दा विशेष खाना, खाजा र भत्ता दिने रहेछ हाम्रोमा सामान्य चिया, विस्कुट मात्रै हुन्छ त्यो कारणले पनि आधा समुदाय भत्ता नपाइँने कार्यक्रम भनेर उपस्थित नै नहुने समस्या भोगेका छौं। यद्यपि हाम्रो धारणा एक घर एक व्यक्ति अझ विशेष गरी महिला उपस्थित हुनैपर्छ भन्ने हो। हामीले धादिङको कुनै पनि वडामा कार्यक्रम गर्न बाँकी राखेका छैनौं तर आधा समुदायसँग हाम्रो अन्तक्र्रिया हुनै पाएको छैन।

पहिले कम बीमा कम्पनीहुँदा प्रतिस्पर्धा कस्तो थियो र अहिले धेरै हुँदा कस्तो छ? नेपालमा यति धेरै बीमा कम्पनी आवश्यक छन्?

बीमा कम्पनीहरू धेरै भए भन्दैमा अस्वस्थ प्रतिस्पर्धा हुने र गरिनुपर्छ भन्ने चाहिं होइन। जुनै पनि बीमा कम्पनी ग्राहकलक्षित भएर खोलिन्छन् र जति धेरै कम्पनी हुन्छ ग्राहकले उति धेरै र गुणस्तरीय सेवा पाउँछन्। तर अभिकर्ताले बीमा गरेपछि पैसा डबल हुन्छ भनेर पोलिसी बेच्ने गर्दा रहेछन् कतिसम्म भने बैंकरले समेत पैसा डबल आउँछ भनेर बीमा गरेको लास्टमा आएन भन्नुभएको छ। म सबैलाई के भन्न चाहन्छु भने कुनै पनि कम्पनीले दोब्बर दिन्छ भनेर लेखिएको छैन। करारपत्र पढ्नुस् तपाईंले हरेक वर्ष जम्मा गर्नुभएको बीमांक रकम र त्यो बीमांकले आर्जन गरेको बोनस हेरेर कति फिर्ता पाइन्छ सजिलै निकाल्न सकिन्छ। हरेक कम्पनीको बोनसदर फरक हुन्छ र यस्तो दर अनलाइनमा सजिलै हेर्न र १ मिनेटभित्र हिसाब निकाल्न सकिन्छ। कुनै व्यक्तिको भनाई र अनुहारभन्दा पनि कागज अध्ययन गरेर त्यसैलाई विश्वास गर्नुस्। बीमितले यस्तो गर्न थाल्ने हो भने बीमा क्षेत्रमा देखिएका ८० प्रतिशत अस्वस्थ प्रतिस्पर्धा आफैं हराएर जान्छ।

के कारणले बीमिति र अभिकर्ताबीच दूरी बढेको हो?

बीमा भनेको एकदमै प्राविधिक विषय हो। यसमा मेडिकल रिपोर्ट अध्ययन गर्ने डक्टरदेखि लिएर क्षति मूल्यांकन गर्ने सर्भेयर हुन्छन् र बीमाको पनि बीमा हुन्छ अतः बीमा भनेको अभिकर्ता मात्रै हैन यो प्राविधिक कुरा हो भनेर हामीले स्वीकार्नु पर्छ। अनि कतिपय अभिकर्ताले बीमित पहिल्यैदेखि बिरामी हो भन्ने जान्दाजान्दै रोग लुकाएर बीमा गराइदिने र कोही–कोही बीमितले पनि आफैं ढाटेर पनि बीमा गराएको कारण भुक्तानी नपाउने गरेको देखिन्छ। बिरामीको पनि बिरामी हुन्छ तर त्यो खुलाएर बीमा गराउनुपर्छ। बीमा कम्पनीमा पनि डक्टर हुन्छन् उहाँहरूले बीमितको रोग र उपचार हेरेर बीमामा जोड्नुहुन्छ। केही बीमा कम्पनीले जानीजानी दाबी भुक्तानीमा अल्मल्याइदिने जसकारण ग्राहकमा बीमाले दाबी भुक्तानी दिंदैन भन्ने सन्देश जाने रहेछ। ग्राहकले कम्पनी नहेर्ने जस्तो स्वास्थ्य बीमा र निर्जीवन बीमाले भुक्तानी नदिंदा पनि जीवन बीमामै आएर ठोक्किने। हामी एउटा गाउँमा कार्यक्रमको शिलशिलामा जाँदा बाघले आक्रमण गरेर भैंसी मरेको रहेछ त्यसमा म आफैंले सहजीकरण गरिदिएर १ लाख २८ हजार रुपैयाँ दिलाउँदा त्यो गाउँका सबैले बीमा गराउनुभयो। यदि दाबी भुक्तानी सहजै दिने हो भने जनतामा विश्वास बढ्छ। कारोनाकालमा हामीले बीमितको मृत्यु हुँदा ३ दिनमै दाबी भुक्तानी दिएका छौं। अहिले पनि आफ्नो धर्मअनुसार काजक्रिया समाप्त भएको ५ दिनभित्र मृत्यु दाबी भुक्तानी र बढीमा १५ दिनभित्र घातक रोगको दाबी भुक्तानी दिने गरेका छौं। दाबी दिएन भने बीमा प्राधिकरणमा त्यसमा पनि नभए अदालतमा समेत मुद्दा हाल्न सक्ने अधिकार बीमितसँग छ।

जीवन बीमा क्षेत्रले भविष्यमा कस्तो मोड लेला?

हामीले विश्लेषण गरेको तथ्यांकले नेपालमा १२–१३ प्रतिशतले बीमा गरेका होलान तर आधिकारिक रूपमा १७ प्रतिशतले बीमा गरेको मान्छि। १७ प्रतिशतलाई नै माने पनि ८३ प्रतिशत नागरिक जीवन बीमाभन्दा बाहिर छन्। जीवन बीमालाई वित्तीय कोणबाट मात्र नभएर जोखिमको कोणबाट पनि हेर्नुपर्छ। अहिले त एउटा औंला मात्रै बिग्रियो भने पनि त्यसको समेत जोमिख बहन गर्छ। हामी आफूलाई परेपछि मात्रै बीमा चाहिने रहेछौं सोच्छौं तर परिसकेपछि बीमाको काम छैन। बाँकी ८३ प्रतिशत नागरिकमध्ये ५० वर्ष काटेका नागरिक कम आउलान् तर ५० नकटेका बीमित मज्जाले आउनुहुन्छ। तसर्थ अबको कम्तीमा २०–३० वर्ष बीमाको क्षेत्र एकदमै उज्ज्वल छ सबै बीमा कम्पनीको व्यापार निरन्तर उकालो लाग्छ। एकचोटी बीमा गराइसकेपछि सोही बीमितबाट २० देखि २५ वर्षसम्म प्रिमियम संकलन भइरहन्छ। पहिले बीमा मरेपछि मात्रै हो भन्ने मानसिकता थियो तर अहिले जीवन जीउनलाई पनि बीमालाई अत्यावश्यक वित्तीय साधनको रूपमा हेर्ने गरिएको छ।

नियामक निकायबाट तपाईं के अपेक्षा गर्नुहुन्छ?

नेपाल बीमा प्राधिकरणले कुनै निर्देशिका जारी गर्छ वा कुनै नयाँ व्यवस्था गर्छ भने त्यो दीगो होस् भन्ने चाहना छ। आजभन्दा ५ वर्ष अघि र आजको दिनमा एकदमै व्यापक परिवर्तन आएको पाएका छौं। बीमाका लागि गाउँगाउँमा जनचेतना फैलाउनु आवश्यक छ यसका लागि बीमा प्राधिकरणले सचेतनामुलक कार्यक्रम गरिदिओस्। जीवन बीमा मात्रै होइन गाउँघरमा पशुपन्छी, बालीनाली र जीवन बीमासम्मको चेतना प्राधिकरणले फैलाउनुपर्छ। अहिले धेरै कुराहरू परिवर्तन भइसकेको छ परिवर्तन भइसकेको कुरालाई बीमा प्राधिकरणले स्थापित गरिदिओस् भन्ने धारणा छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*