ठेक्का दिलाइदिने भन्दै करोडौं ठगी, अभिषेक गिरी पक्राउ

काठमाडौं । ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा मोरङको विराटनगर महानगरपालिका–८ मधुमारा निवासी ४८ वर्षीय अभिषेक गिरी पक्राउ परेका छन्।
जिल्ला अदालत काठमाडौंबाट सोमबार उक्त मुद्दामा पक्राउ पुर्जी जारी भएपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा गिरीले विभिन्न व्यक्तिसँग आफ्नो चिनजान र पहुँच रहेको भन्दै निर्माण व्यवसायीलाई आयोजना ठेक्का पारिदिने विश्वास दिलाएका थिए। उनले आफ्नै आर.सी. सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रालिमार्फत नियमानुसार निर्माण कार्य सम्पन्न गरिदिने आश्वासन दिए पनि सम्झौताअनुसार काम नगरेपछि ठेक्का सम्झौता रद्द भई पीडितलाई आर्थिक नोक्सानी पुगेको खुलेको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा गिरीले निर्माण कार्यमा प्रयोग हुने सवारी साधनहरू आफ्नो नियन्त्रणमा लिई केही सवारी साधन पीडितलाई जानकारी नै नदिई कवाडीमा बिक्री गरेको समेत खुलेको छ। साथै, अन्य सवारी साधनहरू नियन्त्रणमा राखी पीडितलाई डर–त्रासमा पारेर काठमाडौंस्थित घरजग्गा राजीनामा पास गराएको तथा पीडितले अन्य व्यक्तिबाट प्राप्त गर्नुपर्ने रकमसमेत आफ्नै नाममा चेक काट्न दबाब दिई आर्थिक लाभ लिएको आरोप पनि उनीमाथि लागेको छ।











