अर्थमन्त्री र गभर्नरलाई पत्याउन नसकेको पुँजी बजारः लगानी बालुवामा पानी, यी हुन् खतरै खतरा !

२५ असार २०८३, बिहीबार १५:११

काठमाडौँ । फागुन २१ पछि राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार गठन हुँदा राजनीतिक स्थायित्वसँगै आर्थिक सुधारले गति लिने अपेक्षा व्यापक थियो । सरकार परिवर्तनसँगै निजी क्षेत्र, उद्योग–व्यवसाय र विशेषगरी पूँजीबजारमा सकारात्मक मनोविज्ञान सिर्जना भएको थियो । नयाँ सरकारबाट लगानीमैत्री नीति, वित्तीय सुधार र बजारलाई चलायमान बनाउने निर्णय आउने विश्वासका कारण लगानीकर्ताले ठूलो आशा राखेका थिए। तर करिब सय दिनको अवधिमा ती अपेक्षाअनुसार न त अर्थतन्त्रमा उल्लेख्य सुधार देखियो, न पूँजीबजारले उत्साहजनक गति समात्न सक्यो। बरु अधिकांश समय बजार दबाबमै रहँदा लगानीकर्ताको आत्मविश्वास कमजोर बन्दै गएको छ र सरकारको आर्थिक नेतृत्वप्रति प्रश्न उठ्न थालेका छन् ।

सरकारपछि सबैको ध्यान आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेटतर्फ केन्द्रित भएको थियो। लगानीकर्ताले बजेटमार्फत पूँजीबजारलाई प्रोत्साहन गर्ने, लगानी विस्तार गर्ने तथा निजी क्षेत्रलाई राहत दिने कार्यक्रम आउने अपेक्षा गरेका थिए। तर बजेटले त्यस्तो कुनै नयाँ सन्देश दिन सकेन। उल्टै करको दायरा विस्तार गरिँदा बजारमा थप निराशा फैलियो। लगानीकर्ताले बजार निरन्तर घट्दा ठूलो क्षति व्यहोर्नुपरेको छ। त्यसपछि सबैको आशा मौद्रिक नीतिमा केन्द्रित भयो। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिले केही सकारात्मक व्यवस्था ल्याउने अपेक्षा गरिए पनि त्यसअनुसारका निर्णय नआएपछि नीति सार्वजनिक भएलगत्तै लगातार दुई कारोबार दिन बजार राताम्य भयो। यसले मौद्रिक नीतिलाई पूँजीबजारले सकारात्मक रूपमा ग्रहण गर्न नसकेको स्पष्ट संकेत दिएको छ।

लगानीकर्ताले मौद्रिक नीतिबाट पूँजीबजारसँग प्रत्यक्ष सम्बन्धित धेरै सुधारात्मक व्यवस्था अपेक्षा गरेका थिए। विशेषगरी बैंक तथा वित्तीय संस्थाका सहायक कम्पनीलाई दोस्रो बजारमा सक्रिय रूपमा प्रवेश गराउने, संस्थागत लगानीकर्ताको सहभागिता विस्तार गर्ने, बैंक तथा वित्तीय संस्थामाथि रहेको शेयर लगानी सीमाको पुनरावलोकन गर्ने तथा बीमा कम्पनी, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता ठूला संस्थागत लगानीकर्तालाई थप सक्रिय बनाउने नीति आउने अपेक्षा थियो। साथै लघुवित्त संस्थाको लाभांश वितरण नीतिमा वित्तीय अवस्थाअनुसार लचकता अपनाइने विश्वास पनि गरिएको थियो। तर सार्वजनिक मौद्रिक नीतिले यी विषयलाई प्राथमिकतामा नराखी बैंकिङ प्रणाली सुधार, कर्जा विस्तार, तरलता व्यवस्थापन र उत्पादनशील क्षेत्रमा लगानी प्रवाहलाई मुख्य केन्द्रमा राख्यो। वित्तीय प्रणाली स्थिर बनाउने उद्देश्य सकारात्मक भए पनि पूँजीबजारका लागि स्पष्ट नीतिगत सम्बोधन नहुँदा लगानीकर्ता निराश बनेका छन्।

यता पछिल्ला केही सातादेखि नियामक निकायहरूको बढ्दो सक्रियताले पनि बजारमा मनोवैज्ञानिक दबाब थपेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले धितोपत्र कारोबारसँग सम्बन्धित विभिन्न गतिविधिमाथि अनुसन्धान अघि बढाएपछि ठूला लगानीकर्ता तथा कारोबारी समूह सतर्क बनेका छन्। नेपाल धितोपत्र बोर्ड स्रोतका अनुसार उच्च कारोबार हुने केही ब्रोकर कम्पनीमार्फत भएका ठूला कारोबारको प्रकृति अध्ययन भइरहेका कारण बजारमा कारोबारको गति प्रभावित भएको बुझाइ छ। नियामकीय निगरानी दीर्घकालीन रूपमा बजारलाई पारदर्शी बनाउने प्रक्रिया भए पनि तत्कालका लागि यसले नयाँ लगानीको उत्साह घटाएको र कारोबारमा मनोवैज्ञानिक संकुचन ल्याएको देखिन्छ।

यसैबीच, बजारमा देखिएको गिरावटलाई धेरै विश्लेषकले मौद्रिक नीतिमात्र नभई असार मसान्तको मौसमी दबाबसँग पनि जोडेर हेरेका छन्। असारमा कर, ऋण तथा अन्य वित्तीय दायित्व भुक्तानी गर्नुपर्ने, साउनदेखि लागू हुने नयाँ कर व्यवस्थाको तयारी तथा नगद व्यवस्थापनका कारण धेरै लगानीकर्ताले शेयर बिक्री बढाएका छन्। त्यसैले अहिलेको बजार दबाब एकल कारणको परिणाम नभई मौद्रिक नीतिप्रतिको निराशा, नियामकीय सक्रियता र असार मसान्तको नगद चाप गरी तीनवटा प्रमुख कारणको संयुक्त प्रभावका रूपमा देखिएको छ। यही कारण बजारमा खरिदकर्ताभन्दा बिक्रीकर्ताको चाप बढी देखिँदा परिसूचक निरन्तर ओरालो लागेको विश्लेषण गरिएको छ।

समग्रमा हेर्दा सरकार गठनपछि देखिएको राजनीतिक स्थायित्वको आशा आर्थिक नीतिमा रूपान्तरण हुन सकेको छैन । बजेटले अपेक्षा पूरा गर्न सकेन, मौद्रिक नीतिले पूँजीबजारलाई प्रत्यक्ष सम्बोधन गरेन, नियामकीय सक्रियताले बजारमा थप सतर्कता ल्यायो र मौसमी नगद चापले गिरावटलाई अझ गहिरो बनायो। परिणामस्वरूप लगानीकर्ताको मनोबल कमजोर बन्दै गएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र गभर्नर विश्व पौडेलप्रति बजारले राखेको अपेक्षा अहिलेसम्म विश्वासमा रूपान्तरण हुन सकेको छैन। अब पूँजीबजारमा हराएको आत्मविश्वास फर्काउन स्पष्ट, लगानीमैत्री र दीर्घकालीन नीतिगत हस्तक्षेप आवश्यक देखिन्छ, अन्यथा बजारको निराशा अझ लम्बिने जोखिम बढ्दै जानेछ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.६७ अकंले घटेर २६०१.९२ बिन्दुमा कायम भएको छ । आज ३६१ कम्पनीको ८७ लाख ५१ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६१ करोड १९ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन १३ वटै उपसूचक राताम्य भएका छन् । आज वाणिज्य बैंक समूहको ०.५० प्रतिशत, विकास बैंक समूहको १.११ प्रतिशत, फाइनान्स समूहको ०.६२ प्रतिशतले शेयर मूल्य घटेको छ ।

बिहिबार ४२ कम्पनीको शेयर मूल्य बढेको छ भने २२९ कम्पनीको घटेको छ । ६ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*