एक वर्षमा ३० हजार सवारी साधन दुर्घटनामा पर्ने गरेका छन्ः प्रहरी महानिरीक्षक कार्की

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपालमा सवारी दुर्घटना बढ्दै गएको भन्दै सडक सुरक्षा र ट्राफिक व्यवस्थापनलाई उच्च प्राथमिकता दिनुपर्ने बताएका छन् ।
‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ को उद्घाटन समारोहमा बोल्दै आईजीपी कार्कीले सडकमा गुड्ने सवारी साधन सुरक्षित भए मात्रै मानिस पनि सुरक्षित हुने बताए । उनले सवारी साधनको गुणस्तर र मापदण्डमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।
नेपालमा सवारी दुर्घटनाको अवस्था गम्भीर बन्दै गएको तथ्यांक प्रस्तुत गर्दै कार्कीले आर्थिक वर्ष २०८२/८३ मा २९ हजार ९ सय ८६ वटा सवारी दुर्घटना भएको जानकारी दिए । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४.३२ प्रतिशतले बढी हो । उनका अनुसार नेपालमा औसतमा दैनिक ८२ वटा सवारी दुर्घटना हुने गरेका छन् । दुर्घटनाका कारण आर्थिक वर्षमा करिब २ हजार ७ सय जनाले ज्यान गुमाइसकेको उनले बताए ।
“सवारी दुर्घटनाको संख्या बढिरहेको छ । औसतमा दैनिक ८२ वटा सवारी दुर्घटना हुने गरेका छन् र करिब २७ सय मानिसले ज्यान गुमाइसकेका छन्,” कार्कीले भने । दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल पर्ने गरेको पनि उनले बताए । उनका अनुसार कुल सवारी दुर्घटनामध्ये करिब ५९ प्रतिशत दुर्घटनामा मोटरसाइकल पर्ने गरेका छन् ।
मोटरसाइकलको बढ्दो प्रयोगसँगै यसको सुरक्षालाई पनि प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ । सडक सुरक्षा सुधारका लागि सवारी साधनको गुणस्तर, चालकको व्यवहार, ट्राफिक व्यवस्थापन र पूर्वाधार सबै पक्षमा एकसाथ सुधार आवश्यक रहेको उनले बताए ।
कार्कीले समयको परिवर्तनसँगै नेपालको मोबिलिटी क्षेत्रलाई पनि विकास गर्दै लैजानुपर्नेमा जोड दिए । मोबिलिटी क्षेत्रमा निजी क्षेत्रको सहभागिताले आर्थिक समृद्धिमा समेत योगदान पुर्याउने उनको भनाइ छ । “समयको परिवर्तनसँगै मोबिलिटी क्षेत्रको विकास गर्नुपर्छ । निजी क्षेत्रको भूमिकाबाट आर्थिक समृद्धि आउन सक्छ,” उनले भने ।
उनले नेपाल प्रहरी सडक सुरक्षा र ट्राफिक व्यवस्थापनसँग सम्बन्धित संवाद तथा पहलमा सक्रिय रूपमा सहभागी हुने बताए । विद्युतीय सवारी साधन (ईभी) को विस्तारसँगै त्यससँग सम्बन्धित सुरक्षा तथा व्यवस्थापनका विषयमा पनि नेपाल प्रहरीले काम गरिरहेको उनले जानकारी दिए ।
“नेपाल प्रहरी यस्तो संवादमा सहभागी हुन र सडक सुरक्षालाई विशेष प्राथमिकता दिनेछ,” कार्कीले भने । उनले ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ नेपालको यातायात तथा मोबिलिटी क्षेत्रका लागि महत्वपूर्ण कोसेढुंगा बन्ने विश्वास व्यक्त गरे । एक्स्पोले सुरक्षित, गुणस्तरीय र आधुनिक मोबिलिटीको विकासका विषयमा थप संवाद र सहकार्यको वातावरण निर्माण गर्ने अपेक्षा गरिएको उनले बताए ।











