अनधिकृत रूपमा नेपाल सरकारको निशान छाप लगाई जिपिएस ट्र्याकर बेच्ने युवक पक्राउ

२६ श्रावण २०८३, मंगलवार १२:३२

काठमाडौं । नेपाल सरकारको निशान छाप दुरुपयोग गरी जिपिएस ट्र्याकर बिक्री वितरण गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२२ मा बस्दै आएका रौतहटको चन्द्रपुर नगरपालिका–२ का २९ वर्षीय दिपेन्द्र कर्माचार्य रहेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले शुक्रबार काठमाडौं महानगरपालिका–२२ टेवहालबाट पक्राउ गरेको हो।

प्रारम्भिक अनुसन्धानका क्रममा कर्माचार्यले नेपाल सरकारको स्वीकृति नलिई आर्थिक लाभ लिने उद्देश्यले सर्वसाधारणलाई झुक्याउने गरी जिपिएस ट्र्याकर डिभाइस नेपाल सरकारबाट मान्यता प्राप्त भएको भन्दै झुटो प्रचार गरेको खुलेको प्रहरीले जनाएको छ।

चीनबाट व्यावसायिक प्रयोजनका लागि आयात हुने जिपिएस ट्र्याकर डिभाइसमा नेपाल सरकारको निशान छाप राख्न लगाई सरकारबाट मान्यता पाएको भन्दै उक्त उपकरण बिक्री तथा वितरण गर्ने गरेको अनुसन्धानबाट खुलेको हो।

प्रहरीले कर्माचार्यको साथबाट नेपाल सरकारको निशान छाप अंकित ५२ थान जिपिएस ट्र्याकर डिभाइससमेत बरामद गरेको छ। पक्राउ परेका कर्माचार्यलाई थप आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*