हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको तयारीप्रति प्रचण्डको स्वागत

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हेटौंडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने सरकारको तयारीप्रति खुसी व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले उद्योग पुनः सञ्चालनको पहलका लागि सरकारलाई धन्यवादसमेत दिएका छन् ।
प्रचण्डले हेटौंडा कपडा उद्योग सञ्चालनमा आए कपडा उपभोगमा रहेको नेपालको आयातनिर्भरता कम हुनुका साथै राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।
आफू सरकारको नेतृत्वमा रहँदा हेटौंडा कपडा उद्योगको सम्भाव्यता अध्ययन तथा प्रतिवेदन तयार भएको बताउँदै त्यसैका आधारमा आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा हेटौंडा कपडा उद्योगसहित गोरखकाली रबर उद्योग, विराटनगर जुट मिल र बुटवल धागो कारखानालगायतका सार्वजनिक उद्योग पुनः सञ्चालन गर्ने विषय अघि बढाइएको उल्लेख गरेका छन् ।
उनले सघन गृहकार्यपछि अघि बढाइएको उक्त प्रक्रिया आफू सरकारबाट बाहिरिएसँगै रोकिएको र अहिले पुनः अघि बढ्न थालेको भन्दै खुसी व्यक्त गरेका छन् । प्रचण्डले हेटौंडा कपडा उद्योगसँगै सम्भावना भएका अन्य सार्वजनिक उद्योगलाई पनि आधुनिक प्रविधि, व्यावसायिक व्यवस्थापन र स्पष्ट कार्ययोजनासहित पुनः सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिएका छन् ।
यस्ता उद्योगको पुनः सञ्चालनले आत्मनिर्भर अर्थतन्त्र निर्माणको दिशामा नेपाललाई महत्वपूर्ण उपलब्धि हासिल गर्न सहयोग पुग्ने उनको भनाइ छ । देशमा उत्पादन बढाउने, आयात घटाउने र रोजगारी सिर्जना गर्ने दिशामा सार्वजनिक उद्योगको पुनरुत्थान महत्वपूर्ण कदम हुने उल्लेख गर्दै प्रचण्डले सरकारलाई प्रक्रिया परिणाममुखी ढंगले अघि बढाउन आग्रह गरेका छन् ।











