जापान पठाइदिने भन्दै २ करोड ८० लाख ठगी, ग्याट्स्बी इन्टरनेसनल प्रालिका सीईओ पक्राउ

२६ श्रावण २०८३, मंगलवार १३:३२

काठमाडौं । जापान पठाइदिने भन्दै ११५ जनाबाट २ करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाङ्गाथलीका २९ वर्षीय प्रतीक बुढाथोकी रहेका छन्। उनलाई वैदेशिक रोजगार विभागबाट जारी भएको पक्राउ पुर्जीका आधारमा प्रहरीले साउन २५ गते बुटवलबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार बुढाथोकीले ग्याट्स्बी इन्टरनेसनल प्रालि नामक कन्सल्टेन्सी सञ्चालन गर्दै आएका थिए। उनले उक्त कन्सल्टेन्सीमार्फत ११५ जनालाई जापान पठाइदिने आश्वासन दिएको आरोप छ।

जापानमा रोजगारी तथा अन्य अवसरका लागि पठाइदिने भन्दै उनले विभिन्न व्यक्तिबाट रकम संकलन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनीहरूले बुढाथोकीलाई विश्वास गरेर दिएको रकममध्ये कुल २ करोड ८० लाख रुपैयाँ ठगी भएको आरोप छ।

जापान पठाउने भन्दै ठूलो रकम लिएपछि प्रतिबद्धताअनुसार काम नभएको र रकमसमेत फिर्ता नदिएको भन्दै पीडितहरूले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा विभागबाट पक्राउ पुर्जी जारी भएपछि बुढाथोकीलाई पक्राउ गरिएको हो। पक्राउ परेका बुढाथोकीमाथि वैदेशिक रोजगारसम्बन्धी ठगीको कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*