टाटा मोटर्सले ल्यायो नयाँ पञ्च ईभी र टियागो ईभी, कति पर्छ मूल्य ?

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को अवसर पारेर नयाँ ‘पञ्च ईभी’ र ‘टियागो ईभी’ सार्वजनिक गरेको छ ।
कम्पनीले नयाँ पञ्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ । एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकले भने विशेष अफरअन्तर्गत ३२ लाख ९९ हजार रुपैयाँमा पञ्च ईभी खरिद गर्न सक्नेछन् । नयाँ टियागो ईभीको सुरुवाती मूल्य भने २८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
एक्स्पोमा यी दुवै विद्युतीय गाडी बुकिङ गर्ने ग्राहकलाई कम्पनीले ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी सुविधा उपलब्ध गराउने जनाएको छ ।
अत्याधुनिक ‘एक्ट डट ईभी’ प्लेटफर्ममा आधारित नयाँ पञ्च ईभीमा ३२ किलोवाट आवर र ४० किलोवाट आवर क्षमताका दुई ब्याट्री विकल्प उपलब्ध छन् । नेपालको सडकमा गरिएको परीक्षणका आधारमा यी ब्याट्रीले एकपटक पूर्ण चार्ज गर्दा ३०० देखि ३२५ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ ।

नयाँ पञ्च ईभीमा १९५ मिलिमिटरको उच्च ग्राउन्ड क्लियरेन्स, बीएनसीएपीको ५–स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, १.५ सीडीसी फास्ट चार्जिङ, भ्वाइस एक्टिभेटेड सनरुफ, २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेसलगायत सुविधा छन् ।
दैनिक आवतजावतलाई लक्षित गर्दै सार्वजनिक गरिएको नयाँ टियागो ईभीमा पनि डिजाइनमा सुधारसहित आकर्षक रङ विकल्प दिइएको छ । यसमा ३६० डिग्री एचडी क्यामेरा प्रणाली, २६.०३ सेन्टिमिटरको इन्फोटेनमेन्ट सिस्टम र ६ वटा एयरब्यागलगायत सुरक्षा तथा सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ ।











