अदालतको गेटैमा मिटरब्याज पीडितद्वारा आत्मदाह प्रयास

काठमाडौं । धनुषा जिल्ला अदालतको गेटैमा एकजना मिटरब्याज पीडितले आत्मदाह प्रयास गरेकी छन् । जिल्ला अदालतको अगाडी बसेर न्याय माग गरिरहेका पीडितमध्ये एकजना महिलाले आत्मदाह प्रयास गरेकी हुन् ।
आज जिल्ला अदालत धनुषाको अगाडी दर्जनौं मिटरब्याज पीडितहरूले नाराबाजी गर्दै विरोध प्रदर्शन गरिरहेका छन् । सोही क्रममा जनकपुर उपमहानगरपालिका वडा नम्बर ४ की पीडित फूलकुमारी रजकले आत्मदाह प्रयास गरेकी हुन् ।
उनले आफ्नै शरीरमा पेट्रोल छर्के लगत्तै प्रहरीले उनलाई रोक्न सफल भएको छ । मिटरब्याज शोषण गरेको आरोपमा पक्राउ परेका तीनजना आरोपीविरुद्ध जिल्ला अदालत धनुषामा आज थुनछेक बहस भइरहेको छ ।
मिटरब्याज आरोपी गोपाल साह, रेखा साह र हरेराम साह पक्राउ परेकोमा थुनछेक बहस भइरहेको हो । पीडितहरूले न्यायाधीशले पैसा लिएर आरोपीलाई छाड्ने गरेको भन्दै विरोध प्रदर्शन गरिरहेका हुन् ।











