अपर हेवाखोलालाई ५२ करोड ५० लाख रुपैयाँको हकप्रद निष्कासन गर्न आयोगको स्वीकृति

काठमाडौं । विद्युत् नियमन आयोगले अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडलाई ५२ करोड ५० लाख रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्न पूर्वस्वीकृति दिएको छ।
संखुवासभामा रहेको ८ दशमलव ५ मेगावाट क्षमताको अपर हेवाखोला साना जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनीले हकप्रद शेयरमार्फत थप पूँजी जुटाउन आयोगसँग अनुमति मागेको थियो। कम्पनीको हालको चुक्ता पूँजी ५७ करोड ५० लाख रुपैयाँ रहेको छ।
कम्पनीले यसअघि चुक्ता पूँजीको १ बराबर १ अनुपातमा ५७ करोड ५० लाख रुपैयाँको हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गरेको थियो। तर आयोगले कम्पनीको लगानी योजना र शेयर स्वामित्वको अवस्थासमेत अध्ययन गरी ५२ करोड ५० लाख रुपैयाँ बराबरको ५२ लाख ५० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न मात्र पूर्वस्वीकृति दिएको हो।
स्वीकृत योजनाअनुसार हकप्रद शेयरबाट प्राप्त हुने रकममध्ये ४६ करोड रुपैयाँ सिसुवाखोला जलविद्युत् आयोजनाको निर्माणमा लगानी गर्न प्रयोग गरिनेछ। उक्त रकम मातृभूमि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी प्रालिको शेयरमा लगानी गरिने आयोगले जनाएको छ। त्यस्तै बाँकी ६ करोड ५० लाख रुपैयाँ अपर हेवाखोला साना जलविद्युत् आयोजनाले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण भुक्तानी गर्न प्रयोग गरिनेछ।
आयोगका अनुसार कम्पनीको मातृभूमि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी प्रालिमा यसअघि नै ५ करोड रुपैयाँ बराबरको शेयर स्वामित्व रहेको छ। उक्त कम्पनीको चुक्ता पूँजीको करिब ६० दशमलव ६ प्रतिशत शेयर अपर हेवाखोला हाइड्रोपावरको स्वामित्वमा रहेको छ। कम्पनीले हकप्रद शेयरबाट प्राप्त रकम प्रयोग गरी सिसुवाखोला जलविद्युत् आयोजनामा थप लगानी गर्ने तथा अपर हेवाखोला आयोजनाको ऋण घटाउने योजना प्रस्तुत गरेपछि आयोगले आवश्यक अध्ययन गरी पूर्वस्वीकृति प्रदान गरेको हो।
विद्युत् सम्बन्धी कम्पनीको शेयर सार्वजनिक निष्कासनको पूर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका, २०७८ बमोजिम आयोगको २०८३ भदौ २ गते बसेको ३१६औँ बैठकले यस्तो निर्णय गरेको हो। यससँगै कम्पनीले अब आयोगबाट तोकिएका शर्त तथा प्रचलित नियम पूरा गरी हकप्रद शेयर निष्कासनको प्रक्रिया अघि बढाउन सक्नेछ। आयोगको यो निर्णयसँगै अपर हेवाखोला हाइड्रोपावरले हकप्रद शेयर निष्काशनमार्फत् थप पूँजी जुटाएर सिसुवाखोला जलविद्युत् आयोजनामा लगानी बढाउने तथा आफ्नै आयोजनाको बैंक ऋण घटाउने बाटो खुलेको छ।









