हिमालयन रि–इन्स्योरेन्सको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक, कस्ता छन् सूचकको अवस्था?

११ भाद्र २०८३, बिहीबार ०८:१७

काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्ममा १ अर्ब ३९ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको यस कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिसम्म आइपुग्दा २ अर्ब ३३ करोड ६२ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ ।

कम्पनीको आम्दानीमा आएको संकुचन र खर्चमा भएको उल्लेख्य वृद्धिका कारण नै कम्पनी नोक्सानीमा गएको हो । कम्पनीको कुल आम्दानी ९.३७ प्रतिशतले घटेर ७ अर्ब ५७ लाख रुपैयाँमा सीमित भएको छ भने कुल खर्च ८०.९६ प्रतिशतको ठूलो अन्तरले बढेर १० अर्ब ४४ करोड ८६ लाख रुपैयाँ पुगेको छ । यसैगरी कम्पनीको खुद बीमाशुल्क आर्जन पनि अघिल्लो वर्षको तुलनामा ५.६९ प्रतिशतले घटेर ६ अर्ब १ करोड ५६ लाख रुपैयाँमा झरेको छ ।

कम्पनीले गर्ने दाबी भुक्तानीमा भएको वृद्धिका कारण पनि वित्तीय भार थपिएको देखिन्छ । समीक्षा अवधिमा कम्पनीको कुल दाबी भुक्तानी ३३.६४ प्रतिशतले बढेर ३ अर्ब ४४ करोड ९० लाख रुपैयाँ पुगेको छ । यसका साथै लगानीबाट हुने आम्दानीमा पनि २७.३० प्रतिशतको गिरावट आएको छ । आम्दानी र नाफा घट्दा कम्पनीको सञ्चित नाफा (रिटेन्ड अर्निङ) समेत ३ अर्ब २८ करोड ६ लाख रुपैयाँले ऋणात्मक हुन पुगेको छ ।

वित्तीय सूचकहरू नकारात्मक बन्दा कम्पनीको प्रतिशेयर आम्दानीमा पनि ठूलो असर परेको छ । अघिल्लो वर्ष १२ रुपैयाँ ७९ पैसा सकारात्मक रहेको प्रतिशेयर आम्दानी गत आर्थिक वर्षको अन्त्यसम्ममा २१ रुपैयाँ ५० पैसा ऋणात्मक देखिएको छ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८ करोड ६८ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ ११५ रुपैयाँ ५८ पैसा कायम भएको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको महाविपत्ति कोषको आकार पनि २७.०८ प्रतिशतले घटेर १४ करोड ४४ लाख रुपैयाँमा खुम्चिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*