क्षतिग्रस्त सम्पत्तिको प्रमाण सुरक्षित राख्न बीमा सर्भेयर संघको आग्रह

काठमाडौं । नेपाल बीमा सर्भेयर संघले रसुवागढी तथा आसपासका क्षेत्रमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधन तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ।
संघले जारी गरेको विज्ञप्तिमा बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। साथै बेपत्ता व्यक्तिको शीघ्र खोज तथा प्रभावितको उद्धार र राहत कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाउन सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरिएको छ।
संघका अनुसार बाढीका कारण निजी तथा सार्वजनिक सम्पत्ति, भवन, उद्योग–व्यवसाय, सवारीसाधन, निर्माणाधीन तथा सञ्चालनमा रहेका जलविद्युत् आयोजना, मेसिनरी तथा विभिन्न बीमित सम्पत्तिमा ठूलो क्षति पुगेको हुनसक्ने अवस्था छ।
विपद्को समयमा बीमा क्षेत्रको भूमिका महत्वपूर्ण हुने भन्दै संघले क्षति भएका बीमित व्यक्ति तथा संस्थालाई यथाशीघ्र सम्बन्धित बीमा कम्पनीमा दाबी सूचना दिन आग्रह गरेको छ। क्षतिग्रस्त सम्पत्तिको अवस्था सम्भव भएसम्म सुरक्षित राख्दै आवश्यक फोटो, भिडियो, बिल, कागजात तथा अन्य प्रमाणहरू सुरक्षित राख्नसमेत अनुरोध गरेको छ।
त्यस्तै, निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त हुने बाढीजन्य दाबीको दर्ता, सर्भेयर नियुक्ति तथा दाबी फर्छ्योट प्रक्रियालाई सरल, छिटो, पारदर्शी र प्रभावकारी बनाउन संघले विशेष आग्रह गरेको छ। बीमा सर्भेयरहरूलाई प्रभावित क्षेत्रमा प्राप्त हुने कामलाई उच्च प्राथमिकतामा राखी निष्पक्ष, व्यावसायिक तथा शीघ्र रूपमा क्षति मूल्यांकन गरी प्रतिवेदन पेश गर्न पनि संघले अनुरोध गरेको छ।
आवश्यक अवस्थामा प्रभावित क्षेत्रमा बीमा दाबी तथा क्षति मूल्यांकन कार्यलाई सहज बनाउन सम्बन्धित निकाय तथा बीमा कम्पनीहरूसँग समन्वय र सहकार्य गर्न संघ तयार रहेको जनाएको छ।
संघले विपद्को कठिन घडीमा उद्धार, राहत तथा पुनःस्थापनामा खटिएका नेपाल सरकार, सुरक्षा निकाय, स्थानीय तह, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सम्पूर्ण सरोकारवालाप्रति सम्मान तथा धन्यवाद व्यक्त गरेको छ।
नेपाल बीमा सर्भेयर संघले विपद् प्रभावित सम्पूर्ण नागरिकहरूप्रति ऐक्यबद्धता व्यक्त गर्दै प्रभावित क्षेत्रको शीघ्र उद्धार, राहत, क्षति मूल्यांकन तथा पुनःस्थापनाका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।









