बाढीले बैंकिङ सेवा ठप्प, दर्जनौँ शाखा प्रभावित र २७ कर्मचारी सम्पर्कविहीन: बैंकर्स संघ

११ भाद्र २०८३, बिहीबार १३:१६

काठमाडौं । नेपाल बैंकर्स संघले रसुवालगायत विभिन्न जिल्लामा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्का कारण भएको मानवीय क्षति, जनधन तथा भौतिक संरचनाको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । संघले मंगलबार विज्ञप्ति जारी गर्दै विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।

संघका अनुसार बाढी प्रभावित जिल्लाहरूमा कार्यरत अधिकांश बैंक कर्मचारीहरू सुरक्षित रहेको जानकारी प्राप्त भए पनि केही कर्मचारीसँग अझै सम्पर्क स्थापित हुन सकेको छैन । बाढी तथा डुबानका कारण विभिन्न बैंकका शाखाहरू समेत प्रभावित भएका छन् भने विद्युत्, इन्टरनेट र सञ्चार सेवामा आएको अवरोधका कारण प्रभावित क्षेत्रमा नियमित बैंकिङ सेवा सञ्चालन गर्न चुनौती देखिएको छ ।

बाढीका कारण ग्लोबल आईएमई बैंकका ७ वटा शाखा बन्द रहेको सूचना जारी गरिएको छ । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ५ वटा शाखा, नबिल बैंकका ४ वटा तथा एनआईसी एशिया बैंकका ३ वटा शाखा बन्द रहेको सम्बन्धित बैंकहरूले जानकारी दिएका छन् ।

बाढीबाट बैंकका कर्मचारीसमेत प्रभावित भएका छन् । माछापुच्छ्रे बैंकको टिमुरे शाखामा कार्यरत ५ जना कर्मचारी अझै सम्पर्कमा नरहेको जनाइएको छ । एनएमबी बैंकका टिमुरे शाखाका ४ जना कर्मचारी पनि सम्पर्कमा नआएको बैंकले जनाएको छ । त्यसैगरी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका स्याफ्रुवेशी र टिमुरे शाखा तथा मैलुङ एक्सटेन्सन काउन्टरमा कार्यरत ७ जना कर्मचारी अझै सम्पर्कविहीन रहेको बैंकले जनाएको छ ।

नेपाल बैंकर संघका अनुसार विभिन्न ७ वटा बैंकका कुल २७ जना कर्मचारी अझै सम्पर्कमा आएका छैनन् । प्रभावित क्षेत्रमा बैंकका शाखा तथा कर्मचारीको अवस्था चुनौतीपूर्ण रहे पनि बैंकहरूले उपलब्ध स्रोत, साधन र वैकल्पिक व्यवस्थाको अधिकतम प्रयोग गर्दै बैंकिङ सेवा निरन्तरता दिन तथा सेवाग्राहीलाई आवश्यक सहयोग पुर्‍याउन हरसम्भव प्रयास गरिरहेका छन् ।

संघले प्रभावित क्षेत्रमा सेवा प्रवाह सहज बनाउन नेपाल सरकार, नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहकार्य भइरहेको जनाएको छ । साथै, नेपाल बैंकर संघले सरकारका राहत, उद्धार तथा पुनःस्थापनाका प्रयासमा पूर्ण रूपमा साथ दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रभावित बैंक कर्मचारी, उनीहरूका परिवार तथा बाढीबाट प्रभावित आम नागरिकलाई आवश्यक सहयोग पुर्‍याउन बैंकिङ क्षेत्रले आफ्नो तर्फबाट सक्दो योगदान गर्ने संघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*