झिनो अकंले घट्यो शेयर बजारः हाइड्रो र निर्जीवनबाट भाग्दै लगानीकर्ता, किन बन्यो अनिश्चित मार्केट ?

काठमाडौँ । पछिल्ला केही महिनादेखि सुस्त गतिमा रहेको नेपाली शेयर बजारमा रसुवामा आएको विनाशकारी बाढीले थप दबाब सिर्जना गरेको छ । तिब्बततर्फबाट आएको अचानकको बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायत क्षेत्रमा ठूलो जनधन तथा भौतिक संरचनाको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक भएसँगै लगानीकर्ताको मनोविज्ञान कमजोर बनेको हो । विशेषगरी रसुवा र आसपासका क्षेत्रमा रहेका जलविद्युत् आयोजनामा क्षति पुगेको समाचारले लगानीकर्तामा आयोजना सञ्चालन, उत्पादन र आम्दानी प्रभावित हुने त्रास बढाएको छ । यसको प्रत्यक्ष प्रभाव शेयर बजारमा देखिँदा बिहीबारको कारोबारमा बजार परिसूचक राताम्य बनेको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार बाढीबाट सञ्चालनमा रहेका १० वटा जलविद्युत् आयोजना र निर्माणाधीन पाँच वटा आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण आएको छ । आयोजनाका संरचना, पहुँचमार्ग, प्रसारण तथा अन्य पूर्वाधारमा क्षति पुगेपछि विद्युत् उत्पादन र निर्माण कार्य प्रभावित हुन सक्ने देखिएको छ । संरचना मर्मत तथा पुनर्निर्माणमा अतिरिक्त खर्च लाग्ने, आयोजना सञ्चालनमा ढिलाइ हुने र उत्पादन प्रभावित हुँदा आम्दानीमा समेत असर पर्न सक्ने आकलनले जलविद्युत् कम्पनीका शेयरमा बिक्री चाप बढाएको हो । बाढीको वास्तविक क्षतिको पूर्ण विवरण आउन बाँकी रहेकाले लगानीकर्ता थप जोखिमको आकलन गर्दै सतर्क बनेका छन् ।
बाढीको प्रभाव जलविद्युत् क्षेत्रमा मात्र सीमित नरही निर्जीवन बीमा कम्पनीसम्म पुगेको छ । बाढीका कारण जलविद्युत् आयोजना, सवारीसाधन, घर तथा अन्य सम्पत्तिमा भएको क्षतिले आगामी दिनमा बीमा दाबीको संख्या र रकम बढ्न सक्ने अनुमान गरिएको छ । दाबी भुक्तानीमा वृद्धि हुँदा निर्जीवन बीमा कम्पनीको नाफा तथा वित्तीय सूचकमा दबाब पर्न सक्ने आशंकाले यस क्षेत्रका शेयरमा समेत बिक्री चाप देखिएको छ । यही कारण जलविद्युत् र निर्जीवन बीमा उपसूचकमा उल्लेख्य गिरावट आउँदा समग्र बजारमा पनि नकारात्मक मनोवैज्ञानिक प्रभाव परेको हो ।
यसैबीच, जलविद्युत् तथा बीमा कम्पनीमा लगानी गरेका म्युचुअल फण्डको शेयर मूल्यमा समेत भारी गिरावट देखिएको छ । ती कम्पनीको शेयर मूल्य घट्दा म्युचुअल फण्डको लगानीको बजार मूल्यमा असर पर्न सक्ने भएकाले फण्ड समूह पनि दबाबमा परेको हो । पछिल्लो समय बजारमा कारोबार तथा लगानीकर्ताको सक्रियता कमजोर रहेका बेला प्राकृतिक विपद्का कारण थपिएको अनिश्चितताले जोखिमप्रति लगानीकर्ताको संवेदनशीलता बढाएको देखिन्छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.०४ अकंले घटेर २५५७.३१ बिन्दुमा कायम भएको छ । आज ३४८ कम्पनीको १ करोड ६ लाख १९ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७८ करोड २१ लाख रुपैयाँको कारोबार भएको हो ।
आज म्युचुअल फण्ड समूहको ३.१२ प्रतिशत, निर्जीवन बीमा समूहको २.०४ प्रतिशत, अन्य समूहको १.०७ प्रतिशत, हाइड्रो समूहको ०.५५ प्रतिशतले शेयर मूल्य घटेको छ ।
यसदिन १४६ कम्पनीको शेयर मूल्य बढेको छ भने ११८ कम्पनीको घटेको छ। आज १५ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।










